नेकपाका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आज एक प्रेस विज्ञप्तीजारी गर्दे कमरेड पुष्पलालको मार्ग निर्देशनबाट नेपालमा आफुहरुले जनवादी क्रान्ति सम्पन्न गरेको बताएका छन् ।
विज्ञप्तीको पूर्ण पाठ जस्ताको तस्तै:
आज २०७७ साउन ०७ गते, ४२ औं पुष्पलाल स्मृति दिवसको अवसरमा म नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल प्रति उच्च सम्मानका साथ स्मरण गर्न चाहन्छु । साथै कम्युनिष्ट आन्दोलनलाई यो उचाइमा ल्याईपुर्याउन जीवन आहुति गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । कुनै पनि समाज वा राष्ट्रले आफ्नो अस्तित्व र विकासको प्रक्रियामा नयाँ व्यक्तित्व र विभूतिहरुलाई जन्माउने गर्छ । उनीहरुको मार्गदर्शन र अगुवाईमा सिंगो समाज वा राष्ट्र प्रभावित हुने गर्छ र आफ्नो विकासक्रममा नयाँ दिशा, चरण र श्रृंखलाहरु प्राप्त गर्ने गर्छ । यही ऐतिहासिक प्राकृतिक विकास प्रक्रियाको रुपमा नेपाली कम्यूनिष्ट आन्दोलनका जन्मदाता, प्रणेता साथै संवाहक कमरेड पुष्पलाल हुनुहुन्छ । क. पुष्पलाल कै मार्गदर्शनबाट अघि बढेर आज हामीले नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेका छौं, देशको संविधान निर्माण गरेका छौं, नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठुला पार्टीहरुलाई एकिकृत गरेका छौं र नेपाल कम्युनिष्ट पार्टीलाई सबैभन्दा ठुलो पार्टीका रुपमा स्थापित गरेका छौं । यी सबै नेपाली कम्युनिष्ट आन्दोलनले ७१ बर्ष पार गर्ने क्रममा हामिले प्राप्त गरेका असाधारण उपलव्धीहरु हुन् । यी उपलब्धीहरु सगँसगै हाम्रा सामु ठुलठुला चुनौतिहरु पनि खडा भएका छन् । यी चुनौतिहरु सँग जुध्न हाम्रो पार्टीलाई हामीले सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प छैन । साथै पार्टीलाई थप एकताबद्ध गरि सुदृढ र थप मजबुत बनाउदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नुनै क. पुष्पलाल प्रतिको सच्चा सम्मान पनि हो । हामी अहिले प्राकृतिक बिपतको घडिमा छौं । एकातिर अविरल बर्षाबाट सिर्जित बाढीपहिरोको कारण जनधनको क्षति भएको छ भने अर्कातर्फ विश्वमाहामारीको रुपमा फैलिरहेको कोरोनाले मानविय क्षति गरिरहेको छ । यस बिपतको प्रकोपमा परि ज्यान गुमाउनु हुने सम्पूर्ण नागरिक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । मृतक परिबारमा समबेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यी सबै विपतको सामना गदै प्रभावित नागरिकहरुको जीवन रक्षा गर्न,उद्धार र राहतमा प्रभावकारी ढङ्गले जुट्न सम्पूर्ण सम्बन्धित निकायहरुलाई म आह्वान गर्दछु ।
०७ साउन, २०७७
झलनाथ खनाल
पूर्वप्रधानमन्त्रीवरिष्ठ नेता,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
