प्रधानमन्त्री ओलीका विरुद्ध सिन्धुलीमा माधव नेपाल र प्रचण्ड पक्षर युवाको प्रदर्शन


पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छोड्न दबाब दिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको समर्थनमा आज सिन्धुलीमा पूर्व माओवादी पक्षधर युवाहरुले प्रर्दशन गर्ने तयारी गरेका छन् । विहान ११ बजे उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागगर्दै मोटरसाइकल र्याली निकाल्ने तयारी गरिएको नेकपा सिन्धुलीका जिल्ला नेताले प्रदेशखबरलाई जानकारी दिए ।
उनका अनुसार हिजो बेलुकै बाट जिल्ला सदरमुकाममा मोटरसाइकल सहित भेला हुन एक निर्देशन दिइएको बताइएको छ । ति नेताका अनुसार र्यालीपछि युवाहरुले जिल्ला पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । जिल्ला इन्चार्ज विषमलाल अधिकारी, अध्यक्ष राजन दाहाल र सचिव प्रदीप कटुवाल जिल्ला बाहिर रहेकाले सो ज्ञापनपत्र कस्लाई बुझाउने भन्ने विषयमा अन्योल रहेको छ । युवाहरुले बुझाउने ज्ञापन पत्र माधव नेपाल पक्षधर भनेर चिनिएका सह इन्चार्ज कमलजंग राईलाई बुझाउने थाहा लागेको छ । पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएपछि पत्रकार सम्मेलनसमेत गरिने कार्यक्रमको तयारीमा लागेका ती नेताले बताए । विधी पद्धति , आचरण र व्यवहारका विरुद्ध सरकारलाई बल पूर्वक सञ्चालन गर्ने प्रवृत्ति अन्त्यका लागि दबाब सिर्जना गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम गर्नु भनेको पार्टी विभाजन वा विखण्डन गर्न नभएर एकताबद्ध बनाउन हो, ती नेताले भने । स्मरणीय छ, हिजो मात्रै ओली समर्थक युवाहरुले सिन्धुलीमा प्रदर्शन गरेका थिए । त्यसैको काउण्टरमा नेपाल र प्रचण्ड पक्षधरले आज प्रर्दशन गर्न लागेका हुन् । यो प्रकरणले नेकपाको केन्द्रमा देखिएको बिबाद जिल्ला जिल्लामा समेत आइपुगेको छ ।

Time to be realistic about federalism: Oli