प्रधानमन्त्रीको पक्षमा सिन्धुलीका युवाहरुको प्रदर्शन, ओली पक्षीय नेताहरुको निर्देशन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वले आफ्नै पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका बेला सिन्धुलीका युवाहरुले पार्टी नेतृत्वलाई चुनौती दिंदै ओलीको पक्षमा मोटरसाइकल र्‍याली निकालेका छन् । उनीहरुले कोरोना महामारी र भारतीय अतिक्रमणले मुलुक आक्रान्त भएका बेला प्रधानमन्त्री ओलीको राजीनामा माग्नु अनुचित भएको भन्दै खवरदारी र्‍याली निकालेका हुन् ।

सिन्धुलीको धुराबजारबाट सुरु भएको मोटरसाइकल र्‍यालीले बजार परिक्रमा गरि जुनार स्तम्भमा आएर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा पुगेका युवाहरुले स्थिर सरकार र समृद्धिको पक्षमा एकतावद्ध हुन उनीहरुले आह्वान गरेका थिए । पूर्व एमाले र त्यसमा पनि ओली पक्षका भनिएका कार्यकर्ताहरुले ओलीलाई पार्टी अध्यक्षबाट हटाउने भए चाँडो महाधिवेशन गरी हटाएर देखाउन चेतावनी दिएका छन् । प्रधानमन्त्री ओली राष्ट्रवादी भएको बताएका युवाहरुले ‘आजलाई हैन भोलिलाई, पाँच बर्ष सम्म ओलिलाई’, ‘जनताको अभिमतको आपमान नगर’, ‘स्थायी सरकार कायम गर’, ‘बाह्र हस्तक्षेप बन्द गर’, ‘भारतिय मिडिया बन्द गर’ ‘पार्टी एकता कायम गर’ जस्ता प्लेकार्ड सहित मोटरसाइकल र्‍याली निकालेका थिए ।
ओलीको सर्मथन, पार्टी एकता र स्थायी सरकारको पक्षमा पुगेका युवाहरुले यो शक्ति प्रदर्शन नभई सांकेतिक दवाव भएको प्रतिक्रिया दिएका छन् । सडकमा सयौं, हजारौ संख्या उतारे मात्र प्रभावकारी समर्थन रहेको भन्ने मानसिकता गलत भएको भन्दै एक युवाले भन्नुभयो ‘यो सांकेतिक र्‍याली हो, कोरोनाको महामारी हटी नसकेको अवस्थामा पार्टी एकता र स्थायी सरकारका लागि स्वत स्फुर्त दवाव र्‍याली निकालेका हौ ।’

देश कोरोना महामारीविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने युवाहरुको भनाइ छ । ‘लिपुलेक लिम्पियाधुरा हाम्रो हो’, ‘मान्छेको सान बोलिले, नेपालको सान ओलीले’, ‘सरकार फेर्न खोज्ने भारतीय मतियार विरुद्ध जनता जाग्दैछन्’ जस्ता प्लेकाड सहित र्‍याली निकोका थिए ।
गत साता पनि युवा विद्यार्थीले ओली सरकारको समर्थनमा प्रदर्शनको तयारीगर्दै भेला भएको सुचना जिल्ला पार्टी नेतृत्वले थाहा पाएपछि रोकेको थियो । तर यसपटक भने युवाहरुले पार्टी नेतृत्वलाई थाहै नदिई प्रदर्शन गरेको बताएपनि जिल्ला स्थित ओली समर्थक नेताहरुकै निर्देशनमा आज कार्यक्रम गरिएको थाहा लागेको छ । यद्यपी युवाहरुको प्रदर्शन वारे सिन्धुली जिल्ला पार्टी नेतृत्वको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।