कोरोना महामारीका बहानामा कामबाट निकालिएको, पेशागत सुरक्षाको ग्यारेन्टी नभएको र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नभएको भन्दै पत्रकार महासंघको अगुवाइमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ ।
काठमाडौंको बबरमहलमा पत्रकार महासंघको अगुवाईमा पत्रकारका बिभिन्न संगठन तथा स्वतन्त्र पत्रकारहरुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोबिन्द आचार्यले पेसागत सुरक्षाको ग्यारेण्टी नहुँदासम्म आन्दोलन जारी रहने बताए । श्रमजीवीहरुको मुद्दामा अन्तिम समयसम्म लड्ने प्रतिबद्धता जनाउँदै उनले कुनै पनि ढङ्गले मिडिया मालिकहरुसँग सम्झौता नगर्ने बताए । अबको आन्दोलन श्रमजीवी पत्रकार ऐन लागू नभएका मिडिया हाउसमा केन्द्रित हुने उनको भनाई छ ।
पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रतामा योगदान गरेका नाममा मिडिया सञ्चालकले श्रमिकलाई शोषण गर्न नपाउने बताए । ‘यदि सञ्चारलाई व्यवसाय वा उद्यम मान्ने हो भने नाफा हुँदा नाफा लिने र घाटा हुँदा ब्यहोर्न सक्ने सामर्थ्य राख्नुपर्छ’ उनले भने ‘प्रेस स्वतन्त्रतामा योगदान गरेका नाममा श्रमिकलाई शोषण गर्न पाइदैन ।’
प्रेस संगठनका केन्द्रीय संयोजक महेश्वर दाहालले पत्रकारहरुले बिगतमा प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि आन्दोलन गरेको स्मरण गर्दै यस पटकको आन्दोलन भने पृथक रहेको बताए । उनले संचारगृहका मालिकहरुले कोरोनाको बहानामा बर्षौदेखि कमाएको मुनाफाबाट भएपनि श्रमजीवी पत्रकारलाई पारिश्रमीक दिनुपर्ने तर्क गरे । संयोजक दाहालले पत्रकारहरुलाई श्रमको उचित मूल्य नदिने मालिकहरुको घरमै गएर भएपनि आन्दोलन गर्नुपर्ने बेला आएको बताए ।
कार्यक्रममा पत्रकारका बिभिन्न संघ संगठनका प्रतिनिधिहरुले श्रमजीवी ऐन कार्यान्वयन गर्न, पत्रकारहरुलाई सेवाबाट नहटाउन, बेतलवी बिदामा बस्न बाध्न नपार्न चेतावनी दिएका थिए ।











