कोभिड रोकथाम, कृषि, शिक्षा र पूर्वाधार विकास, तीनपाटन गाउँपालिकाको पहिलो प्राथमिकता

सिन्धुलीको तीनपाटन गाउँपालिकाले जनसंख्या, भुगोल र मानव विकास सुचकाङ्कलाई आधार बनाएर आफ्ना ११ वटै वडाहरुमा रकम बिनियोजन गरेको छ ।
जस अनुसार गाउँपालिकाले आज प्रत्येक वडामा ८० देखी ८५ लाख रुपैयाँ छुट्याउनुका साथै वडाको बजेटमा प्राथमिकिकरण गर्न पनि सुझाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सुवेदीका अनुसार कोरोना संक्रमणको विषम परिस्थतिलाई ध्यान दिंदै स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा जोड दिन वडा अध्यक्षहरुलाई निर्देशन दिएको हो ।
तोकिएको बजेटलाई आधार मानेर प्रत्येक वडाले स्थानीय वासिन्दाको सहभागितामा आफ्नो विकासको योजनाहरु छनोट गर्ने र त्यसलाई गाउँपालिकाले गाउँसभाले पारित गर्ने बताइन्छ ।
यस वर्ष तीनपाटन गाउँपालिकाले ६२ करोड ६८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । सातौं गाउँपरिषदमा सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा कोरोना संक्रमण रोकथाम र नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखिएको थियो । सिन्धुली जिल्लामा संभवत स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्ने तीनपाटन गाउँपालिका पहिलो देखिएको छ ।
त्यसैगरी बजेटले कृषि क्षेत्रलाई दोस्रो ठूलो स्थानमा राखेको छ । त्यसैगरी तेस्रो स्थानमा शिक्षा क्षेत्रमा रकम बनियोजन गरिएको छ भने पूर्वाधार विकासलाई चौथो नम्वरमा राखिएको छ ।
अन्न तथा फलफुल उत्पादनका हिसावले राम्रो मानिएको तीनपाटन गाउँपालिकालाई पुग्ने खाद्यान्न सोही क्षेत्रमा उत्पादन हुने भएकाले पनि गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेकोमा स्थानीय बासिन्दाहरु हर्षित भएका छन् । अघिल्ला वर्षहरुमा कम प्राथमिकतामा पर्ने कृषि क्षेत्रलाई यस वर्ष निकै महत्व दिइनु सुखद पक्ष हो, बेलघारीका स्थानीय वासिन्दा रमेश अधिकारीले भने ।
बजेटबारे आफ्नो प्रतिक्रियादिंदै भिमस्थानका शिक्षक दिपक बराल भन्छन्ः विगत वर्षहरुमा भन्दा यसवर्षको नीति तथा कार्यक्रम बैज्ञानिक र व्यहारिक छ । उनका अनुसार कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नु नागरिकलाई स्थानीय सरकारको अनुभुति दिलाउनु हो ।
यस वर्ष हामीले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अभ्यासगर्दै सातौं गाउँपरिषद सम्पन्न गरिरहँदा सबै क्षेत्रबाट सकारात्मक कुराहरु पनि आए, जसले हामीलाई काम गर्न सजिलो बनाइरहेको छ, प्रमुख प्रशासकिय अधिकृत सुवेदीले भने ।
तीनपाटन गाउँपालिकाको वारे बाहिर जसरी प्रचार गरिएको थियो, मैंले अहिलेसम्मको काम गराईका क्रममा त्यस्तो कुनै पनि अप्ठेरो महशुश गरेको छैन । विधी र पद्धतिमा बसेर सबैले इमान्दारिताका साथ काम गर्ने हो भने कुनै पनि कुरामा बिबाद र झै झगडा गर्न आवयकनैं नगर्ने रहेछ, सुवेदीले अगाडि भने । प्राथमिकता निर्धारण गरेर बजेट बिनियोजना गर्दा कहँ कतैपनि विरोध सुनिएन, बरु सबैले अपनत्व महशुश गरेको सुवेदीको निश्कर्ष छ ।

तीनपाटन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सुवेदी । फोटोः प्रदेशखबर