कमलामाई नगरपालिका वडा नं. ६ निवासी ४५ वर्षीया फुलमायाँ तामाङलाई दुई दिन भित्र एक ट्याक्टर गिटी पु¥याउनु छ, उनले वर्देउटारका ट्याक्टर साउलाई ५ हजारमा एक ट्याक्टर गिटी दिने बचन दिएकी छिन् । त्यही भएरै हुनुपर्छ, उनी खोला किनारमा आउने जाने मानिसहरुको कुनै पनि पर्वाह नगरी एक टङ्कारमा घन हानीरहेकी छिन् । निलो कोट लगाएर हातमा कागजका पानाहरु बोकेर उनको अगाडि उभिएर बोलाउँदै गरेका समाजिक विकास शाखाका बबिन्द्र माझीलाई जवाफ दिने फुर्सदमै थिइनन् । उनले भने–ए दिदी ! म नगरपालिकाबाट आएको हुँ, तपाईहरुको स्वास्थ बिमा गर्न हामीहरु आएका छौं, भन्नासाथै नगरप्रमुख खड्गवहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम् सुवेदीको टोली टुप्लुक्क पुग्यो । त्यसपछि भने उनको काम रोकियो । उनले त्यसबेला सम्म स्वास्थ्य बिमा भन्ने कुरा बुझेकै थिइनन्, बरु उनको मनमा डर लागिरहेको थियो । सामाजिक शाखाका माझीले स्वास्थ्य बिमाको उदेश्य र महत्ववारे बुझाईरहँदा नगरप्रमुखसँगै रहेका सुरक्षा गार्डले उनको नाममा निवेदन तयार पारिदिए । नगरप्रहरीले तयार पारिदिएको निवेदनमा फुलमयाँले सही गरेपछि सुवेदीको छेउमैं रहेकी स्वास्थ्य बिमा वोर्डकी सहजकर्ता अमृता देवकोटाले उनको परिवारको विवरणहरु बिमा फारममा अभिलिखित गरेर फोटो पनि खिचिन् । त्यसपछि फुलमायाँका परिवारका सदस्यसहितको बिमा परिचयपत्र ग्वाङ खोला किनारमैं तयार भयो । देवकोटाले तयार गरेको फुलमायाँको स्वास्थ्य बिमाको परिचयपत्र तत्कालै नगरप्रमुख खड्गवहादुर खत्रीले हातमा थमाई दिए ।
जव उनले पाएको कार्डले एक लाख रुपैयाँको स्वास्थ्य उपचार निःशुल्क पाइन्छ, यसलाई तपाईले जतन गरेर राख्नुहोला, भनेर मेयर खत्रीले भन्नासाथ उनको आँखाका डिलहरु आँशुले भरिए । उनमा खुशीको सिमानैं रहेन । त्यहाँबाट नगरपालिकाको टोली पल्लो छेउमा रहेकी शान्ता घिसिङलाई बिमा गराउने भन्दै लाग्दै गर्दा यो पक्तिकारसँग फुलमायाँले भनिन्–मेरो लागि त उहाँहरु भगवान नैं हुनुभयो, मैंले जीवनमा यसरी यति ठूलो सहयोग पाउँछु भनेर सोचेकीनैं थिइँन । म जस्ती गरिवलाई आफ्नो संझेर सहयोग गर्नुभयो, मलाई ऋणिं बनाउनु भएको छ । आँखाभरी आँशुपार्दै उनले अगाडि भनिन्ः ‘हामीले चुनावमा थुप्रैलाई भोट दियौं, तर म जस्तो गरिवका लागि काम गर्ने कोही पनि भेटेका थिएनौं, तर यस पटक मैंले दिएको भोट खेर गएन, उहाँ, मेयर जस्ताको सबैतिर खाँचो छ ।
दुई सन्तानकी आमा रहेकी फुलमायाँका श्रीमान् वितेको झण्डै तीन वर्ष भइसकेको छ, त्यही कारणले पनि छोरा छोरीको लापन पालन र पाठनको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा रहेको छ । वर्षात होस् वा जाडो कुनै कुराले उनलाई काममा अबरोध सिर्जना गरेको छैन ।
फुलुकमारीसँगै आजै जानुका भुजेल, रंगकुमारी, शान्ता घिसिंग, फुलमायाँसहित १२ जनाको खोली किनारमैं निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । १२ जनासँगै परिवारमा आश्रित ५३ जना सदस्यको पनि एकैसाथ स्वास्थ्य बिमा भएको प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीको भनाई छ । उनका अनुसार कमलामाई नगरपालिकाका १४ वटै वडाका ३९४ घरपरिवारका १८४५ जनाको निःशुल्क स्वास्थ्य बिमा गरिसकिएको छ ।
चालु आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा उल्लेख भएको मजदुर किसानालाई निःशुल्क स्वास्थ्य बिमा गराउने उल्लेख भए अनुसार सो कार्यक्रम अगाडि बढाइएको सुवेदीको भनाई थियो । उनका अनुसार सबै भन्दा बढी वडा नं. १० मा ३३५ र सबैभन्दा कम वडा नं. १४ मा १६ जनाले स्वास्थ बिमा गरेका छन् ।
कमलामाई नगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रम अगाडि बढाएपछि त्यसलाई सिन्धुलीका केही स्थानीय तहले त्यसलाई अनुशरण गर्ने तयारी गरेका छन् । तीनपाटन गाउँपालिका वडा नं. ५ का अध्यक्ष दिनेश रमौली र २ नम्वर वडा अध्यक्ष हेमवहादुर श्रेष्ठ कमलामाई नगरपालिकाले थालेको मजदुर किसानको स्वास्थ्य बिमा कार्यक्रम अत्यन्त राम्रो रहेको र त्यसलाई सबैले अनुशरण गर्नुपर्ने उनीहरुको भनाई थियो ।
(साभारः कमलामाई फिचर सेवा)