आफ्नै पार्टी भित्र सहकर्मीको एम्वुसमा परेका नेकपामा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शार्मा ओलीले अबको रणनीतिबारे पार्टी भित्र आफ्नो पक्षका नेता तथा केही मन्त्रीसँग छलफल थालेका छन् । तत्कालिन माओवादीमा आफ्नो गुट बलियो बनाउन र सँधै आफु शक्तिमा रहिरहनका लागि कहिले मोहन बैद्य, डा.बाबुराम भट्टराई त कहिले नारायणकाजी श्रेष्ठलाई नजिक पार्ने र भित्तामा पुर्याउने खेलमा सक्रिय रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै डिजाइनमा अहिले ओलीलाई विधी र पद्धतिमा ल्याउने र पार्टी कमाण्डभित्र रहेर बस्ने प्रयत्न थालिएपछि अहिले ओली राजनैतिक एम्बुसमा परेका हुन् । अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालको सहयोगमा अहिले प्रचण्डले धराप थापेको देखिएको छ ।
सरकार बिरुद्ध थापिएको धराप शक्तिशाली बन्दै गएपछि ओलीले केही मन्त्री र आफ्नो पक्षका नेताहरुसँग आज बिहानैदेखि छलफल थालेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आफ्नो समूहका र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुलाई बालुवाटार बोलाएका थिए । नेपाल निकट मन्त्रीहरु घनश्याम भुसाल र योगेश भट्टराई तथा पूर्व माओवादीको तर्फबाट रामबहादुर थापा बादल र लेखराज भट्ट छलफलमा सहभागी थिए ।
आफूहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली नागरिकले दिएको जिम्मेवारीलाई पूरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ गर्न र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गर्न सुझाव दिएको मन्त्री भट्टराईले बताए । प्रधानमन्त्रीले अरु नेताहरुसँग पनि छलफल गर्ने बताएको र विवाद छिटै मिल्ने उनको भनाई छ ।
हिजो बसेको स्थायी कमिटी बैठकमा धेरैले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन माग गरेपछि ओली परामर्शमा जुटेका हुन् ।
क्याबिनेट बैठक नभए पनि प्रधानमन्त्रीले मन्त्री तथा पार्टीका नेताहरुसँग छलफल गरिरहेको प्रधामन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रदेशखवरलाई जानकारी दिए ।
केही दिनअघि ओलीले आफूलाई हटाउन दिल्ली र नेपालको शक्ति लागेको अभिव्यक्ति सार्वजनिक रुपमा दिएका थिए । मंगलबारको बैठकमा प्रचण्डले राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए ।
त्यसको जवाफमा प्रधानमन्त्री ओलीले ‘खुलमटारमा बैठक बसी रणनीति बनाएर यहाँ आउनु हुन्छ तपाईँहरु, मेरोविरुद्ध मोर्चाबन्दी गर्नु भएको छ । भारतीय सञ्चारमाध्यममा सोही भाषामा खबर आइरहेका छन् । तपाईँहरु र भारतीय मिडियाको भाषा कसरी उस्तै हुन सक्छ । प्रचण्डले ओलीको राजीनामा मागेको भनेर त भारतीय सञ्चारमाध्यमले भनेकै छन् । मैले भारतका बारेमा बोल्दा तपाईँहरुलाई दुख्नुको कारण बुझ्न सकिनँ ।’











