कृषिमन्त्री भुसालद्धारा सचेत, सर्तक रहन तथा नआत्तिई सलह किरा नियन्त्रणमा लाग्न किसानहरुलाई आग्रह

सिन्धुलीमा सलह किराको बथान प्रवेश, किसानहरु चिन्तित


कृषि तथा पशुपन्छी विकास मन्त्री धनश्याम भुसालले सिन्धुली जिल्लामा सलह किरा प्रवेश गरेको बताउँदै त्यसको रोकथाम र नियन्त्रणका लागि सचेत, सर्तक रहन र नआत्तिन आग्रह गर्नुभएको छ । प्रेस संगठन नेपाल सिन्धुलीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भुसालले वारा, पर्सा र रौतहट, सर्लाही र कपिलवस्तु जिल्लामा हिजो देखिएको सलह किरा पहाडी जिल्ला सिन्धुली र काभ्रेबाट आज अगाडि बढिरहेको खुलासा गर्नुभएको हो । हिजो साँझ कृषि ज्ञानकेन्द्र सिन्धुलीले सलह किरा सिन्धुली जिल्लामा नआएको बताएको थियो ।

सिन्धुली गढीमा सलहको हुल !
मन्त्री भुसालले जुनार सुपरजोनमा सलह रोकथाम र नियन्त्रणका लागि कुरा गरिरहेका बेला खनियाँखर्कमा सलहको बथान उडिरहेको थियो । कार्यालय भित्र रहनुभएका मन्त्री भुसालको आँखा बाहिर उडिरहेको सलहमा परेपछि त्यसलाई हेर्न सबैजना बाहिर निस्किएको बताइन्छ । कुराकानीपछि सिन्धुली सदरमुकाम तर्फ आउँदै गर्नुभएका उहाँले सिन्धुलीगढी प्रवेशद्धार अगाडि अर्को हुल सलह उडिरहेको देख्नुभएपछि उहाँले कोरोनाबाट थलिएका किसानहरुलाई यसले थप पिडा दिने बताउनु भएको थियो । त्यस लगत्तै उहाँलाई पाल्पाबाट सलहको हुल आएको सुचना प्राप्त भएको थियो ।
उदयपुर जिल्लाको धान रोपाई कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने क्रममा सिन्धुलीको कमलामाई नगरपालिकामा रोकिनुभएका मन्त्री भुसालले सलह नियन्त्रणका लागि आज बिहानै मात्रै कृषि बैज्ञानिक तथा विज्ञहरुसँग छलफल गरेको र नेपालमा प्रवेश गरेको सलहको अकार भारत र पाकिस्तान भन्दा कम रहेको बताउनुभयो ।
पत्रकार भेटघाटमा बोल्दै मन्त्री भुसालले सलह भगाउने उपाय पनि सिकाउनु भएको थियो । उहाँले आफ्नो खेतबारीमा सलह किराको बथान आएमा स्प्रेगर्ने, धुवाँ लगाउने र ठूलो आवाजमा माइक बजाएर त्यसलाई भगाएको विश्वको उदाहरण प्रस्तुतगर्दै अहिलेनैं नेपालमा त्यसबाट हुने क्षतिको आँकलन गर्न नसकिने उल्लेख गर्नुभयो ।

७५३ वटै स्थानीय निकायलाई बलियो र सम्पन्न कृषि सेल निर्माणमा जोड

कृषि उत्पादन, भण्डारण र बजारीकरण कृषि मन्त्रालयको नभई सम्बन्धित नगरपालिका र गाउँपालिकाको भएकाले स्थानीय सरकारलाई बलियो बनाउन जरुरी भएको उहाँको भनाई थियो । विउ विजन, उत्पादन र भण्डारण स्थानीय निकायको अधिकार हो, त्यसैले हामीले ७५३ वटै स्थानीय निकायलाई बलियो र सम्पन्न कृषि सेल निर्माणमा जोड दिएकाछौं, त्यो कृषि मन्त्रालयको स्थानीयकरण पनि हो, मन्त्री भुसालको भनाई थियो । यस वर्ष ३ लाख मेट्रिक टन धान सरकारले खरिद गर्ने र त्यसको भण्डारण र बजारीकरण मुल्य श्रृंखलाका आधारमा गरिने बताउँदै उहाँले अहिले बजारीकरण मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो ।

एमसीसी वारे कार्यदलको निश्कर्षनैं अन्तिम निर्णय
मन्त्री भुसालले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनालाई यथास्थितिमा पारित नर्ग नहुने बताउनुभयो । जारी पार्टी सचिवालय बैठकले एमसिसी अनुमोदन गर्न लागेको हो ? भन्ने प्रदेशखबर अनलाईनको जिज्ञासामा मन्त्री भुसालले भन्नुभयोः पार्टी केन्द्रले गठन गरेको कार्यदलले गरेको निर्णयनैं अन्तिम निर्णय भएकाले पार्टी सचिवालयले त्यसैलाई मानेर जानुपर्छ, अर्को बिकल्प छैन ।

सो कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्री, प्रवक्ता कर्ण घिसिंग, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीलगायतको उपस्थिति रहेको थियो भने प्रेस संगठनका जिल्ला अध्यक्ष वुद्ध उच्छामीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।