प्रमुख विपक्षी नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेसन (एमसीसी) सम्झौताबारे संसदीय समितिमा छलफल चलाउन माग गरेको छ ।
बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा कांग्रेस सांसदहरुले एमसीसी सम्झौताबारे सार्वजनिक रुपमा बहस भइरहेको भन्दै संसदीय समितिमा छलफल चलाउन माग गरेका हुन् ।
कांग्रेसले एमसीसी सम्झौता संसदबाट पारित गर्नुपर्ने बताउँदै आएको छ भने सत्तारुढ नेकपाभित्र विवाद छ ।
‘एमसीसीका विषयमा बाहिर छलफल छ । यसबारे यो समिति (अन्तर्राष्ट्रिय सम्बन्ध समिति)मा छलफल गरियोस्’ नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले भनिन् ।
कांग्रेस सांसद उमा रेग्मीले पनि एमसीसीबारे समितिमा छलफल चलाउन माग गरिन् । ‘सभापतिलाई एउटा अनुरोध– एमसीसीलाई नेपालको कानुन नलाग्ने भन्ने हुँदैन । यसबारेका भ्रम र यथार्थ के हुन समितिमा छलफल गराउन माग गर्दछु ।’
कांग्रेका अर्का सांसद दिव्यमणि राजभण्डारीले एमसीसीबारे परराष्ट्रमन्त्रीको धारणा माग गरे । ‘असार १६ गतेसम्म एमसीसी अनुमोदन भइसक्नुपर्ने भन्ने छ । म्याद थपका कुरा पनि आएका छन् । यसमा परराष्ट्रमन्त्रीको धारणा के छ, समितिमा बोलाएर सोध्नुपर्यो ।’
जवाफमा समिति सभापति पवित्रा निरौला खरेलले यसबारे छलफल गर्न सकिने बताइन् ।