डोटीको आदर्श गाउँपालिका – ७ मा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ। कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने गरेको भन्दै उनीहरुलाई रोक्न स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेको स्थानीले बताएका छन्।
आदर्श–७ नवाघरकी मानबहादुर बाघकी २६ वर्षीया श्रीमती तुल्सी धारामा नुहाउन गएकी थिइन्। सोही बेलामा करेन्ट लागेर उनको मृत्यु भएको स्थानीय गणेश बिष्टले जानकारी दिए। सार्वजनिक धारामा भारतबाट आएका कोरोना संक्रमित पनि पानी भर्न आउने गरेको भन्दै करेन्ट छाडेको किमाडीले स्वीकार गरेका छन्।
किमाडीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। शव अहिले जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरबाट बिजुली र ग्याबिन जालीको तार जोडेर लगाएपछि धारामा करेन्ट प्रवाह भएको थियो। मृतक महिला बाल विकासमा सहयोगी कार्यकर्ताको रुपमा समेत क्रियाशील थिइन्।