कमलामाई नगरपालिकाले कोरोना महामारीका बीच आफ्नो सातौं नगरपरिषदको तयारी तिब्र बनाउन थालेको छ ।
कोरोना संक्रमणका बीच नगरप्रमुख खड्गवहादुर खत्रीले नगरपालिकाका १४ वटै वडामा पुगेर सर्वदलीय बैठक राख्दै योजना संकलन गरेका थिए । वडास्तरबाट आएका योजनाहरु छनोट सकिएपछि विभिन्न लक्षित समूह, राजनैतिक दल र सरोकारवालाहरुसँगको छलफललाई पनि तिब्रता दिएका छन् ।
हिजो मात्रै सत्तारुढ नेकपाका नेताहरुलाई बोलाएर समाजवादी विकासको मोडेल र योजनाहरु बारे सुझाव लिएको बुझिएको छ । नेकपामा केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी, जिल्ला सचिव एवम् प्रदेशसभा सदस्य प्रदीप कटुवाल, सभासद विनोद खड्का, सह इन्चार्जहरु उमा कोइराला, कमलजंग राई, बागमती प्रदेश समितिका सदस्यहरु शान्तिमान कार्की, गणेश बुढाथोकी, डम्बर कार्की, धुर्व देवकोटा, केशव देवकोटा, नेकपा सिन्धुलीका संगठन विभाग प्रमुख सूर्य पाख्रिन, नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठलगायतका नेताहरु संलग्न छलफलले पार्टीको चुनावी घोषणापत्र र समाजवाद उन्मुख दिर्घकालिन योजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर विकासका योजनाहरु छनोट गर्न सुझाएका छन् ।
स्थानीय तहको निर्वाचनका बेला तत्कालिन माओवादी र नेकपा एमालेले जारी गरेको घोषणापत्र र उम्मेदवार स्वयमंले जनताको दैलोमा गरेका प्रतिवद्धतापत्रलाई ध्यानदिंंदै आधारभूत तहमा समाजवादको अनुभूत हुनेगरी विकासका योजनाहरु ल्याउन नेकपाका जिल्ला इन्चार्ज अधिकारीले सुझाव दिएका छन् । कमलामाई नगरपालिकाले पार्टी कमिटी र नेतृत्व तहलाई डाकेर सुझाव लिएको प्रति प्रशंशागर्दै नेता अधिकारीले
उनले अगाडि भनेका छन्– गाँस, बास र कपास, शिक्षा, स्वास्थ्य र रोजगार समाजवादी यात्राको मार्गचित्र हो । त्यसलाई पहिलो प्राथमिकतामा राखेर आगामी वर्षको नीति तथा कार्यक्रम तय गर्नुपर्छ, तब मात्रै हामीले संविधानमा उल्लेख भएको समाजवादी यात्रा तय गर्न सक्छौं ।
छलफलमा सहभागी नेकपाका अर्का नेता गणेश बुढाथोकी र केशव देवकोटाले दिर्घकालिन रुपमा प्रभाव पार्ने कृषि, शिक्षा, स्वास्थ्य र बृहत रोजगारी सिर्जनाका योजनाहरुलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका थिए । संक्रमणका अबस्थामा पनि नगरप्रमुख खत्रीले देखाएको सक्रियतालाई भने छलफलमा सहभागी नेताहरुले खुलेरै प्रशंशा गरेका थिए ।
नगरपालिकाले किसान, महिला, उद्योगी व्यवसायीसँग छलफल गर्ने कार्यलाई जारी राखेको छ । यस क्रममा नगरप्रमुख खत्रीले प्रतिपक्षी दल नेपाली कांग्रेसका जिल्ला नेतृत्वलाई पनि सुझावका लागि बोलाएको बुझिएको छ । (प्रिती तामाङ, कमलामाई फिचर सेवा)