नेकपा सचिवालय सदस्य एवं राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय पक्ष सीमा विवाद सुल्झान वार्ताबाट उम्कन खोजिरहेको बताएका छन्।
संविधान संशोधन विधेयकमाथि दफावार छलफलामा भाग लिँदै श्रेष्ठले नेपाल वार्ताका लागि सधैं तयार भए पनि भारतीय पक्षले नचाहेको उल्लेख गरे।
प्रकाशले भने, ‘हामीले भनिरहेका छौँ, वार्ता र संवाद नै समाधानको बाटो हो। हामी त्यसका लागि तयार छौँ। तर भारतले चाहिरहेको छैन। भारतीय कूटनीतिज्ञले पनि भन्न थालेका छन् त्यहाँको सरकारले वार्ता चाहिरहेको छैन।’
उनले नेपाल र भारतको सम्बन्धलाई बिग्रन दिन नहुने उनले उल्लेख गरे। प्रकाशले अतिक्रमित भूमि फिर्ता ल्याउन नेपालमा एक ढिक्का भएकाले अब हिजो कसले कहाँ गल्ती गर्यो भन्ने विषयलाई महत्व दिन नुहने बताए।
उनले राष्ट्रियसभामा भने, ‘यो भूमिलाई फिर्ता ल्याउनै पर्छ। यस विषयमा हामी एक ढिक्का छौं। हिजो कसकसको कहाँ कमी कमजोरी भयो भन्ने मुख्य विषय बनाउन आवश्यक छैन। सन्र्दभ बस कुरा गर्नु ठीक भए पनि त्यसैलाई एजेण्डा बनाएर आरोप प्रत्यारोप गर्नु ठीक होइन।’
श्रेष्ठले जसजसले गल्ती गरेको हो उसले आत्म आलोचना गरे राम्रो बताए।
‘हामीले ऐतिहासिक तथ्य र प्रमाणका आधार मात्र हाम्रो भूमि फिर्ता हुनु्पर्छ भनिरहेका छौँ। सुगौली सन्धि नै बलियो प्रमाण हो, जसले काली पूर्व नेपालको भूमि हो, उनले संसदमा अगाडि भने, ‘नोभेम्बेर २ मा जारी भएको नक्सामा पनि लिम्पियाधुराबाट बगेको नदी नै वास्तविक काली नदी हुन्। नेपालले आवाज उठेपछि नदी कामयमै राखेर काली नाम मेटियो।’
१८१६ को सुगौली सन्धि र त्यसपछि भएका पुरक सन्धिले पनि कालीनदिलाई नै सिमा मानेको भएकाले भारतले विवाद गर्नुको अर्थ नहुने उल्लेख गरे।











