प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड, प्राथमिकतामा भौतिक पूर्वाधार विकास

प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट प्रदेश सभामा पेश गर्दै चालूतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ रहेको बताए । उनका अनुसार वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट छ।

सरकारले ल्याएको बजेटले कोरोना भाइरसका कारण उत्पन्न महामारीबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्ने प्रयास गरेको छ।स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार थप गर्दै अस्पतालहरु स्तरोन्नति गर्ने, बेरोजगार बनेका युवालाई रोजगार दिने, उत्पादनमुखी कार्यक्रमका साथै कृषिलाई व्यवसायिक बनाउनेतर्फ जोड दिने जस्ता कार्यक्रम र योजना बजेटमा छन्।

सरकारले ल्याएको बजेटमा सबैभन्दा धेरै रकम भौतिक पूर्वाधार विकासमा रहेको छ। जसमा १५ अर्ब २ करोड रुपैयाँ बजेट छ । सरकारले चालु आर्थिक वर्षमा सञ्चालन गरेका मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमजस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ। मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सबै स्थानीय तहमा विस्तार गर्दै विशेष अनुदानतर्फ १ अर्ब रुपैयाँ रकम छ।

प्रदेशमा विश्वविद्यालय स्थापना गर्ने, सरुवारोग अस्पताल स्थापना गर्ने, विज्ञान विषय केन्द्रित पठनपाठनलाई बढावा दिनेजस्ता कार्यक्रम पनि समेटेको छ ।
कोभिड–१९ का कारण बेरोजगार बनेका युवालाई रोजगार दिने एवं हुन सक्ने खाद्य संकट व्यवस्थापनका लागि उत्पादनमुखि कार्यक्रम विस्तार गर्न भूमि व्यवस्था कृषि तथा सहकारीतर्फ ४ अर्ब ८६ करोड ३५ लाख बजेट छ।

प्रदेशस्तरका अस्पताललाई सुविधासम्पन्न बनाउने, जिल्लास्तरका अस्पतालको स्तरोन्नति गर्ने योजना बजेटमा छन्। सरकारले १६ वटा सडक निर्माणको कामलाई निरन्तरता दिदै सडक पुल निर्माणतर्फ १ अर्ब ४३ करोड, एक घर-एक धारा निर्माणका लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।