लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा उपचारत गुल्मीका एक जना पुरुषको मृत्यु भएको छ ।
गुल्मीको धुर्कोट गाँउपालिका वडा नं. ४ का ४२ वर्षे ती पुरुषलाई शनिबार बिहान गुल्मीबाट प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो ।
शुक्रबार अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि क्वारेन्टिनबाट जिल्ला अस्पताल तम्घास लगिएको र त्यहाँबाट बुटवल पठाइएको वडा नं ४ का वडाध्यक्ष मानवहादुर कुँवरले बताए ।
श्वासप्रश्वासको समस्यासँगै ज्वरो आएकाले कोरोना संक्रमण हुन सक्ने आशंकामा तम्घास अस्पतालले बुटवल पठाएको थियो।
शनिबार बिहान प्रादेशिक अस्पताल आएका ती व्यक्तिलाई श्वासप्रश्वास र ज्वरोको समस्या देखिएको अस्पतालका डा सुदर्शन थापाले बताए ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको थियो । आइतबार दिउँसो उनको मृत्यु भएको डा. थापाले बताए ।
उनको शनिबारै थ्रोट स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइए पनि आइतबार साँझसम्म रिपोर्ट आएको छैन ।











