नेपालमा एक साताअघि सरकारी स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसबाट ५,००० मानिस सङ्क्रमित हुन सक्ने आकलन गरेका थिए। सङ्क्रमण पुष्टि हुने क्रम बढेपछि उनीहरूले पुन: समीक्षा गरेर उक्त सङ्ख्या पाँचगुना बढी हुन सक्ने बताएका छन्।
सङ्क्रमण वृद्धि हुने गति यसरी नै चलिरह्यो २५,००० भन्दा बढी मानिसलाई कोभिड-१९ हुन सक्ने देखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए।
“पाँच हजार सङ्क्रमित हुने अनुमानमा स्वास्थ्य सामग्री खरिद गर्न खोजिएकोमा अब त्यो परिवर्तन भइसकेको छ,” उनले भने, “एक महिनाभित्रै ५,००० नाघ्ने देखेर मन्त्रालयमा नयाँ रणनीति बनिरहेको छ।”
सरकारले कोभिड-१९ सँग सङ्घर्ष गर्न यसअघि ल्याएको एउटा विपद् व्यवस्थापन योजनामा सङ्क्रमितको सङ्ख्या २,००० नाघ्दा सङ्क्रमणको अवस्था ‘दोस्रो तह’मा पुग्ने र ‘जनस्वास्थ्य सङ्कटकाल’ घोषणा गर्न सकिने उल्लेख छ।
नेपालमा पहिलो सङ्क्रमित फेला परेको दुई महिनापछि दोस्रो व्यक्तिमा कोभिड-१९ पुष्टि भएको थियो।
तर जेठ १५ देखि जेठ २० सम्ममा १,००० सङ्क्रमित फेला परेपछि पाँच दिनमाा कुल सङ्ख्या दोबर भयो।
सरकारले अहिले सम्भावित वृद्धिको गणितीय आकलन गरिरहेको जनाउँदै विभागका महानिर्देशक श्रेष्ठले त्यसपछि अधिकतम सङ्ख्या स्पष्ट रूपमा प्रक्षेपण गर्न सकिने बताए।
सरुवा रोग तथा जनस्वास्थ्यविज्ञहरू सक्रिय अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्याका आधारमा सङ्क्रमितको अधिकतम सङ्ख्या प्रक्षेपण गर्न सकिने बताउँछन्।
विभिन्न देशमा गरिएका अध्ययनहरूले एउटा ङ्क्रमित व्यक्तिले अन्य पाँच जनासम्मलाई कोरोनाभाइरस सार्न सक्ने सङ्केत गरेका छन्।
विगत केही सातादेखि पुष्टि भएका अधिकांश सङ्क्रमितहरू क्वारन्टीनमा भएका व्यक्ति भएको सरकारको भनाइ छ।
- कोरोनाभाइरसको सङ्क्रमण फैलिनबाट रोक्न नेपालमा ‘कहाँ गल्ती’ भयो
- नेपालमा झन्डै ५,००० जनालाई कोरोनाभाइरस सङ्क्रमण हुने नयाँ प्रक्षेपण
“अहिलेसम्म क्वारन्टीनमा रहेका मानिसहरूलाई नमुना जाँचमा प्राथमिकता दिएकाले बाहिरको चित्र हामीलाई थाहा छैन। पाँच हजारजति सङ्क्रमण त अहिलेकै सक्रिय घटनाले सारेको हुनसक्छ,” त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय सूक्ष्मजीव विज्ञान विभागका प्रमुख डा. मेघराज बन्जाराले बीबीसीलाई भने।
“क्वारन्टीनको गुणस्तर कमजोर भएको अवस्थामा त्यहीँभित्र नै भाइरस नराम्ररी फैलिएको पनि हुनसक्छ। तर त्यहाँ समयमै कदम चालेको अवस्थामा मात्र समुदायमा धेरै सङ्क्रमण फैलिने अवस्था रोक्न सकिने हो।”