लकडाउनका कारण लामो समयदेखि बन्द रहेको पर्साका पसल–व्यावसायहरु जोर–विजोर प्रणालीमा खुल्ने भएको छ । जेठ २३ गते शुक्रबारदेखि पर्साका पसल व्यावसायहरु जोर–विजोर गते आलोपालो खुल्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
शुक्रबारदेखि जोर गतेका दिन रेडिमेट कपडा, कस्टेमेटिक, ईलेक्टिकलस , ईलेक्ट्रोनिक्स पसलहरु बिहान ११ बजेदेखि ४ बजेसम्म खोल्न दिने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।
यस्तै विजोर गतेका दिन हाडवेयर, साईकल, मोटर तथा मोटर पार्टस, अटोवर्कस, भाँडावर्तन, सुनचाँदी, फर्निचर लगायतका पसलहरु खोल्न दिने निर्णय गरिएको बस्नेतले बताए ।
जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले लामो समयदेखिको बन्दाबन्दीले अर्थतन्त्रमा परेको असर र अत्यावश्यक बस्तुहरुको सहज आपूर्ति तथा जिल्लाका व्यावसायीहरुले संक्रमण नफैलिने गरी व्यवसाय सञ्चालनको व्यवस्था मिलाई दिन गरेको अनुरोधलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।
बैठकले अत्यावश्यक बस्तु बिक्री गर्ने पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म हरेक दिन खोल्न अनुमति दिएको छ । तर हाटबजार, खुल्ला स्थानमा भने बिक्री गर्न नदिने निर्णय गरेको छ ।
माछा–मासु, कुखुराको दाना, पशु आहार, खाद्य किराना, कृषि उत्पादन मल, बिउ लगायत मालबस्तुको ढुवानी हरेका दिन साँझ ७ बजेपछि गर्न दिने समितिले निर्णय गरेको छ । पसल सञ्चालन गर्दा सामाजिक दूरी भने कायम गरिनु पर्ने छ ।