नेपाल सरकारले कोरोनाभाइरसको महामारी नियन्त्रण र रोकथामको निम्ति विभिन्न जिम्मेवारी दिँदै नेपाली सेना परिचालन गरेको छ।
कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले तयार गरेको ‘कोभिड-१९ को रोकथाम, प्रतिकार्य र नियन्त्रणको राष्ट्रिय अभियानको योजना २०७७’ मा दिएको जिम्मेवारी निर्वाह नेपाली सेनाले गर्नेछ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार सरकारको आदेशपछि नेपाली सेना खटिइसकेको छ।

पाण्डेले भने, “सीसीएमसी अन्तर्गतको सुरक्षा क्षेत्रको काम कार्यान्वनय गराउन नेपाली सेना परिचालन भएको छ। अहिले नेपाली सेना तोकिएको स्थानमा रेकी गर्न गइसकेको छ।”
हवाईमार्ग हुँदै काठमाण्डूमा र स्थलमार्ग हुँदै भारतीय नाकाबाट भित्रिने करिब नौ लाख नेपालीलाई ‘होल्डिङ सेन्टर’मा लगेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने कार्यमा सेनाले सघाउने छ।











