गुणस्तर तथा तौलमा प्रश्न उठाउँदै राहत सामाग्री लिन अस्वीकार गरेका कमलामाई नगरपालिका वडा नं. ४ का अध्यक्ष महेन्द्रप्रसाद ढकालले अन्तत आफ्नो कमजोरी स्वीकार्दै बुधवार दिउँसोबाट राहत सामाग्रीहरु जिम्मा लिएका छन् ।
बुधवार दिउँसो नगरपालिकाका सुरक्षाकर्मीले वडा अध्यक्ष ढकालले पठाएका प्रतिनिधीलाई पुरानो जिल्ला प्रशासन कार्यालयमा रहेको गोदामबाट जिम्मा लगाएका हुन् । दिउँसो ४ नम्वर वडा कार्यालयमा भएको नयाँ आर्थिक वर्षका लागि योजना छनोट सम्बन्धी छलफल कार्याक्रममा सम्वोधन गर्ने क्रममा वडाअध्यक्ष ढकालले नगरपालिकाले बितरण गरेको राहत सामाग्रीमा गुणस्तर र तौलका विषयमा प्रश्न उठाउनु गलत भएको बताएका थिए । एक सहभागीका अनुसार ढकालले सम्वोधनका क्रममा उक्त विषयलाई गंभीरतापूर्वक नलिन र आफुले उठाएको कुरा जनप्रतिनिधी भन्दा पनि कर्मचारीहरु प्रति केन्द्रीत रहेको बताएका थिए ।
गुणस्तरहिन खाद्यान्न र कम तौल भएका सामाग्री बितरण गरेर अनियमितता गरेको आरोप लगाउँदै वडा अध्यक्ष ढकालकै दबाबमा नेपाली कांग्रेस, राजपा, राप्रपा, जनमोर्चालगायतका दलहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै छानवीन र कारबाहीको माग गरेका थिए ।
स्थानीय प्रशासनको अगुवाईमा गरिएको चेक जाँचमा तोकिएभन्दा सय र ५० ग्राम बढी चामल देखिएको र खाद्य तथा प्रविधी कार्यालयले खान योग्य छ भनि स्थानीय प्रशासनलाई पत्र पठाएपछि मंगलवार मात्रै नगरपालिकाले संवाददाता सम्मेलनको आयोजनागरी वडा अध्यक्ष ढकाललाई आरोप पुष्टि गर्न चुनौती दिएको थियो भने १९ गते तीन दिनभित्र तोकिएका साहत सामाग्री जनतालाई बितरण गर्न नलगे अन्य वडामा वितरण गर्ने चेतवानीसहित पत्र लेखेको थियो ।
नगरपालिकाले लेखेको पत्र सार्वजनिक भएपछि गलत कार्य गर्न अभिप्रेरित गरेको भन्दै अध्यक्ष ढकालसँग कांग्रेस सभापति उज्वल बरालसहितका नेताहरु आक्रोसित भएको थाहा लागेको छ । एक व्यक्तिले गरेर सिंगो पार्टीलाई बद्नाम गराउने काम भयो, एक नेताले टिप्पणी गरे ।
आफ्नो नाममा आएको राहत सामाग्री अन्यत्रै पठाउने भन्ने नगरपालिकाको पत्राचारको समाचार सार्वजनिक भएपछि स्थानीय वासिन्दाले अध्यक्ष ढकाललाई फोन मार्फत दबाब दिएको बुझिएको छ । सोही विषयलाई लिएर बुधवार बिहान उनका आफन्तजन तथा सहयोगीहरुको बैठक पनि बसेको थियो । उपस्थित सबैले गलत मुद्धा बोकेर आफु र पार्टीलाईनैं बद्नाम गराएको र राहत ल्याएर बितरण नगरे त्यसबाट पार्टीलाई हुने क्षतिको जिम्मेवारी लिनुपर्ने बताएपछि ढकालले दिउँसोबाट खाद्यान्न उठाएर लगेको बुझिएको छ ।
अझ रमाइलो कुरा त के छ भने नगरपालिकाले गुणस्तरहिन र कम तौलका खाद्य सामाग्री खरिदगरी बितरण गरेको भनिएका रानी सप्लायर्स (रातमाटा प्लानिंग, सुजित किराना) बाटै ढकालले वडा कार्यालयको लेटरप्याडमा चिठ्ठी लेखेर चालम मागगर्दै लगेको देखिएको छ । एकातिर त्यही सप्लायर्सले गलत काम गर्यो भन्ने र अर्कातिर यसैबाट आफैंले चामल लैजानुलाई भने अर्थपूर्ण रुपमा लिइएको छ ।