बन्दाबन्दीकै बेला स्पेनको एक पार्टीमा सहभागी भएका बेल्जियमका राजकुमारले माफी मागेका छन् । उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राजकुमारले माफी माग्दै परिणाम भोग्नका लागि तयार रहेको बताएका छन् ।
बेल्जियमको राजदरबारका अनुसार २८ वर्षका राजकुमार योआखिमलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी मे २६ मा इन्टर्नसिपका लागि बेल्जियमबाट स्पेन गएको दरबारले जनाएको छ । त्यसको दुई दिनपछि उनी स्पेनको दक्षिणी शहर कोर्दोबामा भएको एक पार्टीमा सहभागी भएका थिए । त्यसबेलासम्म उनको परीक्षण भएको थिए ।
बेल्जियमका राजा फिलिपेका भतिज राजकुमार योआखिम सहभागी भएको पार्टीमा २७ जना रहेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् । कोर्दोबाको लकडाउन नियम अनुसार सो संख्यामा मानिस सहभागी भएर पार्टी गर्नु गैरकानूनी हो ।
सो क्षेत्रमा अहिले १५ जना भन्दा बढी एक ठाउँमा जम्मा हुन पाइँदैन । स्पेनिस प्रहरीले सो पार्टीका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । लकडाउन उल्लंघन गर्नेलाई १० हजार युरोसम्म जरिवाना तिराइने छ ।
पार्टीमा सहभागी भएका सबै अहिले क्वारेन्टिनमा छन् । सत्ताको लाइनमा १० औँ स्थानमा रहेका राजकुमार योआखिममा मध्यम तहको लक्षण देखिएको छ ।











