अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी सीमा विवादका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका छन् । उनले चीन र भारतबीच देखिएको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको दोहोर्याएका छन् ।
उनले भनेका छन्, ‘दुवै देशलाई केही मद्दत चाहिन्छ भने म त्यसका लागि तयार छु ।’
चीनसँगको सीमा विवादबारे भारतका प्रधानमनत्रीसँग आफूले कुरा गरेको ट्रम्ले बताए । ओभलमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनसँगको सीमा विवादको विषयलाई लिएर भारतका प्रधानमन्त्री मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका हुन् ।
ट्रम्पले भने, ‘यो विषयमा भारत खुशी छैन र शायद चीन पनि खुशी छैन ।’
एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले प्रधानमन्त्री मोदीसँग कुरा गरेको थिए । चीनसँग जे भइरहेको छ त्यसका लागि उहाँको मुड ठीक छैन ।’
गएको बुधबार ट्रम्पले ट्विटमार्फत चीन र भारतको सीमा विवाद समाधानका लागि आफू मध्यस्थता गर्न तयार रहेको बताएका थिए । यसबारे चीनले कुनै प्रतिक्रिया जनाएको छैन भने भारतले कुटनीतिक तवरबाट समाधान खोजिने बताएको छ ।