राष्ट्रियसभाका सदस्यहरुले विदेशमा आपतकालीन अवस्थामा रहेका नेपाली नागरिकलाई तुरुन्त फिर्ता ल्याउन माग गरेका छन्।
बुधबार बसेको बैठकको शून्य र विशेष समयमा सांसदहरुले अतपत्र परेका नागरिकलाई तुरुन्तै फिर्ता ल्याएर क्वारेन्टाइनमा राख्न सुझाव दिएका हुन्। अहिले नेपालमा बनेका क्वारेन्टिन गुणस्तरहीन पाइएकाले होटलहरुलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्न आग्रह गरेका हुन्।
सांसद हरिराम चौधरीले कोरोनाका कारण देश भयाभह अवस्थामा पुग्न लागेको उल्लेख गर्दै भारतबाट आउने नागरिकहरुलाई व्यवस्थित गर्न सुझाव दिए। विशेष गरी सुदूरपश्चिम प्रदेशका नागरिकहरु भारतका विभिन्न ठाउँमा रहेको र उनीहरु घर फर्किने क्रम रहेकाले संक्रमणको संभावना पनि उत्तिकै रहेको बताउँदै सरकारलाई अस्पतालहरु व्यवस्थित बनाउन सुझाव दिए।
‘सुदूरपश्चिमका नागरिक भारत जान बाध्य भएका छन्। भारतमा कोभिड–१९ लागेपछि फर्किने क्रम जारी छ, त्यहाँ पनि अवस्था नाजुक बन्दै गएको अवस्थामा छ। त्यहाँ सुविधा सम्पन्न अस्पतालको आवश्यक भएको छ ।’, सांसद चौधरीले अगाडि भने, ‘३० लाख जनसंख्या महाकाली अस्पतालले नागरिकलाई सुविधान दिन सक्दैन। प्राइभेट अस्पतालको अवस्था पनि नाजुक छ। भेन्टिलेटरसहितको व्यवस्था गर्नुपर्ने अवस्था छ। भेन्टिलिएर उपलब्ध गराउन माग गर्दछ। भेन्टिलेटर सहितको अस्पतालको व्यवस्था गरौं।’
उनले कोभिड–१९ का कारण किसानहरु पनि मर्कामा परेको उल्लेख गर्दै आवश्यक मलखाद र बीउको व्यवस्था मिलाउन आग्रह गरे।
सांसद जितेन्द्रनारायण देवले नेपालमा कोरोना महामारी उत्कर्षतिर गइरहेकाले सरकारलाई गम्भीर बन्न ध्यानाकर्षण गराए। विपक्षी कांग्रेसले समेत रोग नियन्त्रणका लागि सरकारले चाहिँदो सहयोग गरिरहेको उल्लेख गर्दै देवले भारतमा रहेका नागरिकलाई तत्काल फिर्ता ल्याउन माग गरे।
उनले भने, ‘आठ लाख नागरिक अहिले घर आउन चाहिरहेका छन्। जो कामबिहीन भएका छन्, भोकमरीमा परेका छन्, उनीहरुलाई ल्याऔँ भनेर कांग्रेसले भनेको हो। सबैलाई ल्याउनुपर्छ भनेको होइन। देशमा रोजगारी नहुँदा नागरिक बाहिर जानु स्वभाविक हो। संकटका बेला राज्यले अभिभावकीय भूमिका खेल्न आवश्यक छ।’
उनले नेपालमा बनेका नेपालको क्वारेन्टिनहरु अव्यवस्थित हुँदा रोग सार्ने थलोका रुपमा परिणत हुने संभावना भएकाले गुणस्तर सुधार गर्न माग गरे।
सांसद शेखर नारायण सिंहले आवश्यक मात्र टिक पुर्याउन सुझाव दिए। दुई नम्बर प्रदेशमा अझै पनि किटको मात्रा कम भएको बताए।
त्यस्तै रामनारायण बिडारीले समाजका ठूला व्यक्तिकै संक्रमण फैलिएको आरोप लगाए।
उनले नेता, मन्त्री, सांसद, सिडिओका कारण बढी कोरोना फैलिएको दाबी गरे। विशेष समयमा उनले भने, ‘नेता, मन्त्री सांसद धेरै हिँड्नु भएन। उनीहरुका कारण पनि रोग फैलिएको छ। सिडिओले पनि तास खेल्ने र दारु खाँदाका साथीलाई पास दिँदा संक्रमण फैलिएको हो।’
सांसद नन्दा चपाईँले कोरोना लागेका र अन्य रोगीका बिरामीको उपचार अझै पनि एउर्ट अस्पतालमा भएको भन्दै आपत्ति जनाइन्।
‘कोरोना भाइरस र गर्भवती अस्पताललाई फरक फरक गरौँ, सबै प्रदेशमा सुत्केरी कोरोना र अरु रोगको उपचार गर्ने व्यवस्था होस्’, उनले भनिन्।
त्यस्तै सांसद प्रकाश पन्तले पनि विदेशमा आपतकालीन अवस्थामा रहेका नेपालीलाई छिटो ल्याउनुपर्ने उल्लेख गरे। उनले होटलहरुलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्ने विकल्प सरकारसँग रहेको उल्लेख गरे।