नेपाली सेनाका पृतनापतिसँगै चिकित्सकमा कोरोना संक्रमण देखिएपछि ब्यारेक सील

3D illustration of Coronavirus, virus which causes SARS and MERS, Middle East Respiratory Syndrome

महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको नेपाली सेनाका मध्यपृतनाका पृतनापतिमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सील गरिएको छ । सेनाका पृतनापतिमा संक्रमण देखिएका कारण बर्दिबासको किसान नगरमा लगभग २ हजार सेना भएको व्यारेकलाई सील गरिएको हो ।

पृतनापतिसँगै सोही ब्यारेकका एक चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो । महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

ब्यारेकमा गण, गुल्म, सिग्नल गण, मेडिकल गण, विद्यालय गण लगायत पृतना लगाएर दुई हजारको संख्यामा सेनाहरु रहेका छन् । त्यहाँ सेनाहरुमा संक्रमण बढ्न नदिनका लागि सेनाहरुलाई आवत जावतमा रोक लगाइनुका साथै सामाजिक दूरी कायम राख्नका लागि भनिएको छ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले संक्रमित दुवैजनालाई उपचारका लागि काठमाडौँ पठाई सकिएको बताएका छन्। संक्रमित दुवैलाई उचारका लागि सेनाकै गाडीमा शनिबार काठमाडौँस्थित सशस्त्र प्रहरीको आइसोलेशनमा पठाइएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए ।

संक्रमित दुवै जना प्रदेश दुईको विभिन्न स्थानमा गएर स्वाब संकलन गर्दै आएका थिए । अहिले कन्ट्याक्ट ट्रेसिंगको काम भईरहेको छ ।