सिन्धुली: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। शुक्रबार सिन्धुली स्थित निर्माणाधीन जिल्ला समन्वय समितिको नयाँ भवनमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका गरी दुईवटा कार्यालय एकैसाथ सञ्चालनमा ल्याइएको हो।
सिन्धुली जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि दुई वटा निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचन क्षेत्र नम्बर १ का लागि निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन क्षेत्र नम्बर २ का लागि मुख्य निर्वाचन अधिकृतसहितको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिए।

सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को चुनावी कमाण्ड जिल्ला न्यायाधिवक्ता निमा घिमिरे र क्षेत्र नम्बर २ को कमाण्ड मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कमलराज विष्टले सम्हाल्ने छन्। कार्यालय सञ्चालनका क्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका जिल्ला स्थित नेता र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । आजनैं प्रमुख निर्वाचन अधिकृत विष्टले उमेदवारी दर्ता देखी त्यसपछिका सबै निर्वाचन प्रक्रियाको तालिका सार्वजनिक गरेका थिए ।












