नेपाल थोकमा ५० मिटर सडक रोशीले बगायो

सिन्धुलीः सिन्धुलीको बिपी राजमार्ग र मध्यपहाडी राजमार्ग पहिरोका कारणले अबरुद्ध भएको छ ।
सुनकोशी गाउँपालिका वडा नं. १ गजुलीदह स्थित बिपी राजमार्ग सडक खण्डमा आएको पहिरोले सडक अबरुद्ध भएको छ । त्यस्तै सोही वडाको नेपाल थोकमा रोशी खोलाले ५० मिटर सडक बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
त्यसैगरी गोलन्जोर गाउँपालिका वडा नं. ६ स्थित अक्करेभिरमा पहिरो खसेर मध्यपहाडी राजमार्ग अबरुद्ध बनेको छ । सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले निरन्तर पानी परिरहेकाले प्रहरीटोलीले अबरुद्ध बाटो खुलाउन नसक्ने जानकारी दिए । अन्यत्र पहिरोले सडक अबरुद्ध भएको छैन । सिन्धुलीमा कुनै पनि अप्रिय घटना नभएको जानकारी गराउँदै एसपी सुवेदीले जिल्लाका नदीहरुमा आएको बाढीले क्षति नगरेको उल्लेख गरे ।

आज साँझ मात्रै नेकपा एमाले सिन्धुलीले अविरल वर्षाका कारण हुने जोखिमबाट सजग रहन सिन्धुलीवासीमा अपील गरेको छ । एमाले सिन्धुलीका प्रचार तथा प्रकाशन विभाग प्रमुख कर्ण घिसिङले गएको रातीदेखी परेको अबिरल वर्षाका कारण राजधानी जोड्ने बिपी राजमार्ग अबरुद्ध बनिसकेको र सुनकोशी, मरिण, चँदाहा नदीमा पानीको बहाब बढिरहेकोले जोखिम क्षेत्रमा बसोवास गर्ने सम्पूर्ण नागरिकलाई सचेतापूर्वक बस्न र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्न अपील गर्नुभएको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार राजमार्गका विभिन्न ९ स्थानमा रोशीले राजमार्ग बगाएको छ । उनका अनुसार रोशी र नमोबुद्धको सिमाना चौकीडाँडा, रोशी ७ को घुमाउने, रोशी ८ को चारसयबेशी मुनीको भाग, गिम्दीबेशी र स्याउलेबजार माथीको भाग, रोशी ९ को नार्के र बोक्सीकुना, रोशी ११ को डालाबेशी, पिप्ले र डालावेशीको विचको भाग बुलढुंगा, रोशी ११ पिप्ले, रोशी १२ माम्तीमा बीपी राजमार्ग कटान भएको छ ।
रोशी खोलामा बहाव बढिरहेको र अहिले सम्म ९ स्थान भन्दा बढी क्षेत्रमा राजमार्ग कटान भएको छ । पिप्ले र बोक्सीकुनामा पैदल हिड्ने बाटो समेत छैन, कार्कीले प्रदेशखबरसँग भने ।