कमलाखोंचमा नेकपा(माले )को इतिहास: राजनैतिक बिरासत बिर्सेर बर्तमानमा रमाउनेहरू !

सिन्धुली कम्युनिष्ट आन्दोलन र सहिदहरुको बलिदानले रक्तरन्जित पवित्र र उर्वरभूमिपनि हो। २००८ सालमै कम्युनिस्ट पार्टीको जिल्ला कमिटी बनेको इतिहास पढ्न पाईन्छ ।
तत्कालीन सामन्ती शासक वर्ग विरुद्धको संघर्षमा क.ऋषि देवकोटा आजाद, दुर्गा सुवेदी र दल बहादुर रजन हुँदै शिव हमाल, पुष्ना कुमर दनुवार,सम्झना दाहाल लगायत जनयुद्धको क्रममा क.शेरमान कुवर,क.मोहन चन्द्र गौतम लगायतका सयौं योद्धाहरुको रगतले सिंचित पवित्र भूमि पनि हो। सिन्धुली जिल्लाको दक्षिण पूर्वी सिमानको अवस्थित कमलाखोचमा
पञ्चायती ब्यवस्थाको कालरात्रिका ती दिनहरूमा हाम्रा गाउँका किसान दिनभरी हलो जोत्थे आफ्‌नो घरायसी कामहरु गर्थे। जब रात पर्थ्यो सारा मान्छेहरु खाना खाएर मस्त सुतिसकेका हुन्थे तब मधुर टुकी बालेर उज्यालो संसार खोज्न फेदी गाउँ जाग्ने गर्थ्यो । किसान संघका सदस्यहरू बैठकमा सहभागी हुन्थे। अन्याय र अत्याचारका विरुद्ध हामी जुट्यौं भने उज्यालो संसार बन्छ भन्ने सपना देख्दै त्यसबेलाका किसानका नेता काजीमान खड्का,मानबहादुर बस्नेत, बर्जबहादुर थापा, टेकबहादुर कटवाल, गोविन्द बस्नेत, नैनबहादुर कार्की, भोजबहादुर खड्का लगायतका कमरेडहरू पञ्चायती शासनबाट कसरी छुटकारा पाउने भनेर छलफलमा जुट्थे।
दिनभरिको कामको थकान अनि संगठनलाई कसरी बलियो बनाउने ?योजना अनुसार को कता जादाँ संगठन बलियो बन्छ भनेर जिम्मेवारी समेत तोकिन्थ्यो । कहिलेकाँही त छर्लङ्ग उज्यालो पनि हुन्थ्यो ,स्थानीय साथीहरु आ–आफ्‌नो काममा गए पनि उज्यालोभए पछि हामी भने बाहिर जान पाउदैनथ्यांै । दिनभरि त्यहि नैं गुप्तबास बस्नु पर्थ्यो।
जनतामाँझ जाने,जनता संग सिक्ने र जनतालाई सिकाउने सहि राजनीति लाईन संगै शासकहरुको कठोर दमनबाट पार्टी र क्रान्तिलाई बचाउन कडा भूमिगत शैली र अनुशासन नै नेकपा(माले) को तिव्र विस्तारको प्रमुख कारण थियो।सायद २०३४/३५ साल देखि गोठडाडाका क.तेज बहादुर राउतले ऋषि देवकोटा’ आजाद , कमरेडलाई फेदीका क.काजीमान खड्का संग सम्पर्क जोडि दिनु भएको रहेछ। कम्युनिष्ट पार्टीको पहिलो सम्पर्क यसरी बढेको देखिन्छ।त्यसपछि क.उत्तम महत र नविन्द्रराज पोखरेल पनि संगठनको लागिआउनु भएको रहेछ तर संगठन बन्न सकेन भन्नू हुन्थ्यो । २०३६ सालको बिध्यार्थी आन्दोलन पछि मात्रै अनेरास्ववियु(एकताको पाचौं) को माध्यमबाट नेकपा (माले)को राजनीतिक प्रभाव बिस्तार भएको देखिन्छ । त्यसबेला जनकपु क्याम्पसमा पढ्ने क.मनोज खड्का,क.लक्ष्मण कार्की ,क. राज कुमार श्रेष्ठले त्यसबेला मूलत संगठन गरेको ईतिहास छ।तर विध्यार्थी आन्दोलन र त्यसले बनाएको मावि लदाभिरको स्वबियुमा अखिल पाँचौको प्यानलले नै जिते पनि पंचायतले अघोषित प्रतिबन्ध लगाएकोले काम गर्न सकेन । तथापी २०३६ सालको बिध्यार्थी आन्दोलनले नेकपा (माले) को संगठनको जग राखेको हो । त्यसबेलाको निर्दलीय पंचायती निरंकुश शासनमा गाउँका ठूलाबडाहरूको मनपरि र अत्याचारको विरुद्धमा संघर्ष गर्ने प्रारम्भिक योजना बनाउन थाल्यौ ।
त्यसपछि २०३९ सालमा सगरमाथा कोसी क्षेत्रीय ब्यूरो नेकपा (माले) को तर्फबाट सिरहाका क.हिरा बहादुर सुनुवार र क.गिरीधारी मैनाली पार्टीको जिम्मेवारी लिएर सम्पर्कमा आउनुभयो । त्यसको लगभग एक बर्षको परिक्षण कालपछि मेरै नेतृत्वमा गणेश दाहाल र खड्ग बम्जन रहेको एरिया पार्टी सकृय दल नेकपा (माले) को गठन भयो । यो नैं सिन्धुलीमा बनेको नेकपा (माले) को पहिलो औपचारिक पार्टी कमिटी हो । यो कमिटीले लामो समय काम गर्न सकेन म बाहेकका कमरेडहरु बिदा लिएर क्यापस पढ्न थाल्नु भयो । उतै बिध्यार्थी संगठनमा सक्रिय हुनुभयो । तर स्थानीय पार्टी कमिटीमा फेरि जोडिनु भएन । क.लक्ष्मण कार्की शिक्षण पेशामा हुनुहुन्थ्यो । उहाँ पार्टीको सम्पर्कमा पहिले देखि नैं जोडिनु भएको रहेछ । क.ईश्वर पोखरेल, यम वराल लगायतका केन्द्रीय नेताहरुको आवतजावत र सम्पर्कमा हुनुहुँदो रहेछ । स्थानीय पार्टीको सम्पर्क जोडिएर हामीलाई सल्लाह सुझाव र कतिपय बाह्य काममा सकृय हुनुभयो । पछिल्लो चरणमा गंगा नेपाल सर पनि सहभागी हुनुभयो । यसै क्रममा २०४२ सालको शिक्षक आन्दोलनको समर्थनमा भएको नेपाल बन्दमा मावि लदाभिरका शिक्षकहरु, गंगा नेपाल, देवीलप्रसाद पराजुली, राम प्रताप पूर्वे, रास विहारी शाह, विद्यार्थी दिल ब.पौडेल, दुर्गा भट्टराई, केशव खड्का, गरासका नरमान तमाङ, दुर्गा ब.खपाङ्गीलाई गिरफ्‌तारी गरेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा थुनिए पछि लदाभिर र दुधौलीलाई नक्सलाईट एरिया भनेर रेडजोनमा राखियो ।
म, क.गोपाल देवान, क. घनस्याम राउत, क.बुद्धिमान अधिकारी लगायत दर्जनौलाई शान्ति सुरक्षा ऐन अन्तर्गत वारेन्ट जारी गरियो । त्यसबेला पार्टीमाथि प्रतिबन्ध लागेकोले अहिलेको जस्तो खुल्ला गतिविधिहरु गर्न पाइँदैन थियो । २०४५ सालको दशैमा हाम्रो पार्टीको स्थानीय सास्कृतिक टोलीले खोरभन्ज्याङमा देखाउन लागेको मोदनाथ प्रश्रितद्वारा लिखित ५० रुपियाको तमसुक नाटकलाई पंचायतका हुल्याहाहरुले प्रहरी हस्तक्षेप गरेर हुन नदिए पछि त्यसबेलाका चर्चित बिद्यार्थी नेता गोपाल देवान पनि धरान तिरै पढ्न जानुभयो । कठोर दमनको बिचमा कडा अनुशासन सहित भूमिगत काम गर्नु पर्ने भएकोले त्यसबेलाको संगठनको बारेमा जिम्मेवार नेतृत्व बाहेक कसैलाई जानकारी दिईदैनथ्यो ।
त्यसबेला जो कोही पार्टीमा टिक्न सक्ने अवस्था नै थिएन । अहिलेको पुस्ताले खुल्ला राजनीति मात्रै थाहा पाएकोले विगतका ती डरलाग्दा दिनहरूमा पालन गरिएका अनुशासन र गोपनीयता र संघर्षको बारेमा खासै जानकारी नंै छैन भन्दा फरक पर्दैन । हिजो पार्टीमा लाग्दा घर, परिवार र खेतीपाती समेत छोडेर देश र जनताको मुक्तिको लागि होमिएका ती बहादुर मान्छेहरू मध्ये कति त दिवंगत भइसक्नुभएको छ । जीवित भएकाहरू अहिले पनि गुमनाम ढंगले बाँचिई रहनुभएको छ ।
इतिहासको विरासतमा प्राप्त भएको राजनीतिक अवसरलाई विगतका ती वीर पुर्खाहरू जसले भोक तिर्खा निन्द्रा र थकाई नभनी परिवर्तनका लागि जोखिममा पनि काम गर्ने तिनै मान्छेहरु अपहेलित र विस्मृत भएको देख्दा इतिहासको विरासतबाट प्राप्त भएको राजनीतिक अवसरमा रम्नेहरुको अहिलेको व्यवहार देख्दा अचम्म लाग्छ । जसले हिजोको एकदलीय सामन्ती व्यवस्थाको कहाली लाग्दो निरंकुशतालाई पराजित गरेर खुल्ला राजनीतिमा आममान्छे हिंड्ने सजिलो बाटो बनायो, आज तिनै मान्छे र उनिहरुका वस्तीलाई कसरी बिर्सन सकिन्छ ? अहँ सकिदैन । आज ती कहाली लाग्दा दिनहरुमा न्यानो मायाँ गर्ने विकट गाउँबस्तीका कामरेडहरुलाई सम्झिदा गर्व लाग्छ । मैले भावावेशमा यो कुरा लेखेको होइन ।
हामीले इतिहासको सम्मान गर्नुपर्छ, हाम्रा अग्रजहरूको त्याग बलिदान र वीरताको इतिहासको आलोकमा उज्यालो भविष्य तर्फको यात्रा सफल बनाउन हाम्रो पार्टीका असल परम्परा र संस्कारलाई सदैव सुरक्षित गर्नु पर्छ । लखिमाका राजन कार्की, भक्त कार्की र शन्त परियार, रातमाटेका रत्न कार्की घायलखोराका क.देवप्रसाद अधिकारी, क.सत्यनारायण अधिकारी, सुगारेका क.बुद्धिमान अधिकारी, कटहरेका क.नानीराम दाहाल, माईला बाजे, क.खड्ग थापा, पदम थापा, कोग्टीका क.ब्रम्हदेव अधिकारी, सिमल डाँडाका क. ईन्द्र सुनुवार, क.कान्तु सापकोटा, क.बाबुराम मास्टरको जागिर खाएर पनि पार्टीका क्रान्तिलाई अघि बढाउनुपर्छ भन्ने कुलमणि आचार्य , गंगा नेपाल, कर्ण बहादुर कार्की राजन, भक्तबहादुर कार्की, गंगा कार्की, मिना कार्की सिर्थौलीकी मन्जु कार्की , सिर्थौली पञ्चायतका उपप्रधानपञ्च भएर पनि गाउँ संगठन कमिटीमा बसेर पार्टीको काममा निस्वार्थ रुपमा समर्पित हुनहुने क. केदार आचार्य, धनी किसान परिवारका सदस्य भएर पनि पार्टी र क्रान्तिलाई निस्वार्थ समर्थन गर्ने प्रात स्मरणीय दाजु नेत्रबहादुर कार्की, खुट्टेपानीका गुरुलाल धामी, लगायतको निस्वार्थ सकृयता र त्यागको विरासतमा निर्माण भएको हो ।
पार्टी निर्माणमा २०४६ साल पछि क.डम्बर कार्की, शिक्षण पेशामा रहेका क. कुमार ब.कार्की, क.प्रदिप कटुवालको ठुलो योगदान छ । भूमिगतकालमा बेलघारीकी गंगा बराल, नर्वदा दिदी (पदम कुमारी) घिमिरेले गरेको दुख, सिम्लेका क.छत्र बहादुर थापा, क.तिर्थ बहादुर थापा, क. बाबुराम थापा, क.लिला ब.थापा र गोपालपुरकी दिदी, आधामार र मुलडाँडाका कमरेडहरुको असिम मायाँ ममता र त्यागको ऋण हामीले चुक्ता गर्न सक्दैनौं । खोलागाउँका क. टेक बहादुर रजन, महादेवडाडाका क. खड्ग बसु, क.महेन्द्र बसु, क.पदम बसु, क.बिष्णु सुनुवार बिक्रमहरुले नेकपा (माले) प्रचार प्रसार र संगठन निर्माणमा अतुलनीय योगदान गर्नुभएको छ । मैले नाम नलिएका वा छुटेका अरु धेरै अग्रज र सहकर्मीहरु कमरेडहरु हुनुहुन्छ । सबैको बारेमा पछि सबिस्तार लेख्नेछु ।
अहिलेको लोकप्रिय प्रचार र प्रभावको माध्यम बनेको सामाजिक संजालमा झमझमाएर हालिने स्टाटस जसरी सजिलै सँगै हाम्रो पार्टी बनेको होइन भन्ने कुरा हेक्का राख्न जरुरी छ । नेपालको इतिहासमा पहिलो पटक नख्खु जेलब्रेक काण्डका लडाकु नेता मकवानपुरका क.वीर बहादुर लामा, सर्लाहीका क.मदन ढुंगेल ,र क.केशब लामिछाने, पाल्पा मदन पोखरामा जन्मिएर कृषिमा स्नातक गरेर मास्टर भए वापतको सम्पूर्ण तलव पार्टीलाई बुझाउने र जीवन पर्यन्त एमालेमै रहनु भएका क. बिपि श्रेष्ठ, रन्जना माझी, हामी भन्दा अझ अग्रज पुस्ताका क.शंकरनाथ शर्मा, क.बिष्णु कुमार श्रेष्ठ, सिन्धुलीका बौद्धिक ब्यक्तित्वहरु गोविन्द गजुरेल, फाल्गुणी शर्मा, कृष्ण प्र.ढकाल, शम्भु बस्नेत, गोकर्ण थापा, केदार कोईराला, पंकज बर्मा लगायतका कमरेडहरुको सकृयतामा नेकपा माले हुँदै अहिलेको नेकपा एमालेको जिल्लाब्यापी संगठनको विकास भएको हो ।
कम्युनिष्ट र कांग्रेस सहित सचेत नागरिक समाजको झण्डै ५० दिन लामो संयुक्त जनआन्दोलनद्वारा २०४६ साल चैत २७ गते १२बजे राती राजा वीरेन्द्रद्वारा ३० बर्ष देखि दल माथि लगाईएको प्रतिबन्ध हटाईएको घोषणा भयो।यसरी निर्दलीय निरंकुश पञ्चायती ढले पछि मात्रै राजनीतिक दलहरु प्रति सर्वसाधारण जनताको एकाएक आकर्षण बढ्दै गयो । हिजो २/४ जना नेता र केही दर्जन कार्यकर्ता मात्रै रहेको पार्टीमा छोटै समयमा हजारौंको संख्यामा समर्थक र शुभेच्छुकहरुको ताती लाग्यो । विगतका कष्टकर र अन्धकार दिनहरूमा जीवन र मृत्युको खतरासँग जुधेर पार्टी निर्माण गर्ने काममा लागेका ती राता र निस्वार्थ मान्छेहरु बिस्तारै ओझेल पर्दै गए ।
टाठाबाठाहरु अघि सर्दै र नेतृत्व हत्याउदै गए । बहुदल आएपछि पुलिसले नपक्रिने, पार्टीमा लागे बापत मुद्दा नलाग्ने, जेल जान नपर्ने, घरपरिवार छोड्न नपर्ने, खेतीपाती र धनसम्पत्ति बर्बाद पनि नहुने भए पछि दुःखका दिनमा काम गरेका निस्वार्थ मान्छेहरुलाई धकेल्दै पछि पार्दै अगाडि बढ्ने निम्न पँुजिवादी मान्छेहरुको जमात नै अहिले पार्टीमा हावी भएको देखिन्छ । कतिपय मान्छेहरु त पार्टीमा सहज जीवनयापनको लागि मात्रै पनि नेता भै टोपलेको देखिन्छ । तर जनताको पछौटे र कष्टकर जीवनको मुल कारण बनेको, जनताको शोषण र उत्पिडन गर्ने मुख्य दुश्मन सामन्तवाद र दलाल नोकरशाही पुजीवादलाई ढालेर जनवाद हुँदै समाजवादी स्थापनाको लागि हिम्मत गर्ने ती बहादुर मान्छेहरूहरूको सपना साकार पार्न हामीले वहाहरुको जीवन अनुभवबाट सिकेर पार्टीलाई अझै सशक्त र अनुशासित ढंगले सुदृढ र एकताबद्ध बनाउनु पर्छ । यसमा कोहीकोही असहमत पनि हुनुहोला तर विगतको त्यो कठिन दिनका योद्धाहरुको जीवन संघर्षको इतिहासलाई उचित ढंगले स्मरण र सम्मान गर्न हामी चुक्नु हुँदैन । पार्टीको विकासको सन्दर्भमा खासगरि युवा पुस्ताले मनगढन्ते र बनावटी कुराको पछि नलागी सत्यतथ्यलाई दृढताका साथ आत्मसात गर्न जरुरी छ । परिवर्तनको महान अविभारा अझै पुरा भएको छैन । सहिदहरुको सपना अझै साकार भएको छैन, खासगरी युवाहरुले हाम्रो समाजको समृद्धि र विकासको लागि आधारभूत श्रमजीवी वर्गले राज्यको लगानीको वास्तविक उपलब्धिहरु प्राप्त गर्ने वास्तविक धरातलको निर्माणको लागि परिवर्तनकारी अग्रदस्ताको भूमिका खेल्नु पर्छ ।
(यो संस्मरण २०४६ साल अघिको पार्टीको गतिविधिमा आधारित भएर खासगरी सिन्धुलीको पूर्वी भेगको हालको दुधौली नगरपालिका भूगोलमा नेकपा (माले)संगठनको विकास संग सम्बन्धित भएर लेखेको छु,अन्यथा नमानि दिनुहुन आग्रह गर्दछु ।) यो सामाग्री बुधवारको सन्देश जनप्रियमा प्रकाशित छ ।