नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेशन आउँदो चैत २८ र २९ गते सिन्धुलीमाढीमा हुँदैछ । सो अधिवेशनबाट चुनिएर आएको नेतृत्वले सिन्धुली एमालको नविन कार्यभार उचाल्छ कि उचाल्दैन । नयाँ नेतृत्व कस्तो आउने र त्यसले समग्र सिन्धुलीको राजनितिक, आर्थिक, समाजिक र साँस्कृतिक नेतृत्व बहन गर्न बन्न सक्छ कि सक्दैन भन्ने आम कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरुलेसमेत चासोको रुपमा हेरेका छन् ।
अब आउने एमाले नेतृत्वले नेता कार्यकर्तामा मात्र हैन आम जनमानसमा आशाको सञ्चार प्रवाह गर्छ कि गर्दैन ? पुरानो होइन, नयाँ एमाले बनाउने अध्यक्ष केपी शर्मा ओलीको योजना, विचार, सङ्गठन र नेतृत्वको प्रश्न निरुपण गर्नु नैं अधिवेशनको प्रमुख जिम्मेवारी हुनेछ । एमालेका कार्यकर्ताहरुले नयाँ जोश जाँगर र संकल्पसहित नयाँ नेतृत्व चयन गर्नुपर्ने छ । विगतको अनुभवबाट सिकेका पाठलाई आधार बनाएर पार्टीलाई कसरी सवल, सुदृढ, एकताबद्ध मात्रै होइन सबै कम्युनिष्टहरुको अकर्षणको केन्द्र बनाउने विश्वासिलो योजना बनाउन जरुरी छ ।
सिन्धुली एमालकोे अधिवेशनबाट पार्टीको आन्तरिक जिवनलाई लोकतान्त्रीकरण वनाउन तल्लित हुनुपर्ने नेताहरु एक आपसमा सिगौंरी खेल्दा कार्यकर्ताहरु भने निराशा पैदा गराइरहेको छ । मिसन ग्रासरुट र मध्उपहाडी अभियान सञ्चालन गरेको सिन्धुली एमाले आज कहाँ छ ? अबको दिनमा पार्टी र संगठन कस्तो बनाउने, अन्तरपार्टीबाट आएकाहरुलाई कसरी व्यवस्थापन गर्ने र पार्टी र संगठनलाई कहाँसम्म लैजाने भन्ने तर्फ नेताहरुको ध्यान पुग्नु पर्नेमा नेतृत्व कसरी हत्याउने र आफू अनुकुल वनाउने भन्ने ध्याउन्नमा छन् ।
सदस्य संख्या र मतदाताको हिसाव गर्दा समग्रमा आज पनि एमाले सिन्धुली जिल्लाकै सबै भन्दा ठूलो दल हो । गत स्थानीय तह र संसदिय निर्वाचनमा बलियो विपक्षी गठवन्धन (कांग्रेस र माओवादी) सँग एक्लै भिडेको एमालेले आफ्नो मतलाई जोगाएको थियो । एमाले भित्रको आन्तरिक समस्या समयमै समाधान हुन नसक्दा केही स्थानमा पराजित हुन पुगेको तितो यथार्थ छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र फिक्कल गाउँपालिकामा प्रमुख उप प्रमुख दुवै पद, तीपाटन गाउँपालिकामा उपाध्यक्ष जितेको एमाले २०७९ मा आईपुग्दा फिक्कल गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष,गोलन्जोर गाउँपालिकामा अध्यक्ष र कमलामाई नगरपालिकामा उपप्रमुख मात्रै जित्न सफल भएको छ । यसै गरी अघिल्लो संसदीय निर्वाचनमा जिल्लाको १ संघीय निर्वाचन क्षेत्र र दुई वटा प्रदेश सभामा एमालेका उम्मेदवार विजयी भएकोमा यस पटक प्रत्यक्ष तर्फ जिल्लानै शुन्य हुन पुग्यो । नेता कार्यकर्तामा हिजोको आदर्श र बलिदानी भावनामा स्खलन आएको छ । नेताहरुमा आएको आर्थिक अपारदर्शिता, कार्यकर्तामा बढेको स्वार्थ र ‘एसम्यान’हरु जम्मा गर्ने होडबाजी बढेको छ । पार्टीभित्र अवसरवाद, कृपावाद र अराजकता जस्ता विकृतिहरु मौलाएका छन् । हो, यही धरातलीय यथार्थतामा उभिएर पार्टी भित्रको समस्या समाधान गर्न, पार्टीमा हराउँदै गएको आलोचना र आत्मालोचना एवम् दण्ड र पुरस्कारको बिधीलाई पुर्नजिवितगर्दै अबको एमाले कस्तो बनाउने भन्ने प्रश्नको उत्तर खोज्ने जिम्मेवारी जिल्ला अधिबेशन सहभागी हुने प्रतिनिधीहरुको हुनेछ ।
स्थायी गुटहरुको विघटनः
विशेषगरी एमाले सिन्धुलीमा आफूलाई संस्थापन समुह भएको दाबी गर्ने, एकता प्रक्रिया मार्फत आएको माओवादी र पार्टी विभाजनका क्रममा फरक कार्यदिशामा केही समय (माधव नेपाल)को पक्षमा उभिएको समुहसहित तीन गुट देखापरेका छन् । एमाले सिन्धुलीको अबको नेतृत्वले गुटबन्दीलाई संस्थागत गर्न होइन सदाका लागि रोक्न सार्वजनिक प्रतिज्ञा गर्नु पर्नेछ । नेताहरुले बाटो बिराउँदा कार्यकर्ताले सास्ती भोग्ने अबस्थाको अन्त्य हुनुपर्दछ । नेताहरुको अभिव्यक्ति, हाउभाउ, चालचलन अनुशासित, मर्यादित र शालिनतापूर्ण हुनुपर्दछ । आम कार्यकर्ताको अपेक्षा यहि नैं हो । कुनै पनि नेतामा अतिवाद र दम्भपूर्ण प्रस्तुति देखिनु राम्रो संकेत होइन । एमालेको अबको नेतृत्वले पार्टी भित्र सबैलाई समेट्न सक्ने, फराकिलो हृदय देखाउन सक्ने हिक्मत बनाउनु पर्दछ । गुटवन्दी र आन्तरिक कलहले पार्टी सही गतिमा अघि बढ्न सक्दैन भन्ने तथ्यलाई नेतृत्वले बेलैमा बुझ्नु जरुरी छ । एमालेमा सच्चिनु पर्नेमा नेताहरु मात्रै होइन कार्यकर्ता पनि छन् । गुटको पछि लागेर एउटा नेतालाई देवत्वकरण गर्ने र अर्कालाई राक्षसी र पत्रु सावित गराउँदै चिया चौतारोमा मानमर्दन गर्ने काम कार्यकर्ताले पनि छाड्नुपर्दछ । सिमित व्यक्तिमा रमाउँदा सिंगो पार्टी सक्किन सक्छ भन्ने कुराको हेक्का अबको नेतृत्वले राख्नुपर्दछ । यथार्थमा कुनै पनि पार्टीको लागि प्राणघातक रोग भनेको गुटबन्दी र स्वार्थ समूहनैं हो । यसले गर्दा नेता कार्यकर्ता दुई पक्षमा विभाजित मात्रै भएका छैनन् उनीहरुका मन पनि फाटेका छन् । एमालेले जिल्ला अधिवेशनबाट कार्यकर्ताको मन धुजाधुजा बनाउने होइन मिलाउन पर्नेछ, धाँजा फाटेको सम्याउनु पर्नेमा झन गहिरो खाड्ल खन्ने काम शुरु हुन थालेको देखिंदै छ । अध्यक्ष ओलीले भनेजस्तै एमालेलाई पुरानो होइन, नयाँ, जुझारु, बलियो र एकताबद्ध बनाउन सिन्धुलीका नेताहरुले व्यक्तिगत इबि त्यागेर फराकिलो छाती बनाउन जरुरी छ । अबको नेतृत्वका लागि यो निकै ठूलो चुनौती बन्ने छ ।
युवा पुस्तामा नेतृत्व हस्तान्तरणः
ल्याटिन अमेरिकी देश चिलीका ३५ बर्षे ठिटो गाब्रियल बोरिक राष्ट्रपती बनेकोमा गौर्वबोध गर्छौ । तर बिडम्बना हिजो हजुरबुवाहरुले पनि यिनै नेतृत्वलाई नेता मानेर भोट हाल्नुभएको थियो र आज नातिहरुले पनि त्यही नेतृत्वलाई आफ्नो नेता मानिरहेका छन् । पिण्ड नखाउन्जेल राजनीतिको नेतृत्वमानै रहिरहने संस्कार परिवर्तन गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न ढिला भइसकेको छ । समाजमा छातीको टाँक खोल्ने, पाखुरा सुर्कनेहरु र आफ्नो कुरा वा विचारमा सहमत नहुने प्रति जाइलाग्नेहरुको मनोवल र हिम्मत कसले भरिदिएको हो ? समाजमा यस किसिमको प्रवृत्ति हावी हुनु र उनीहरुको आत्मविश्वास उकास्ने काम आजको नेतृत्वले गर्दैछ । उल्लेखित प्रवृत्ति इतरका कार्यकर्तालाई सिमान्त तिर धकेल्न र उनिहरुलाई निराश बनाई समाजलाई अराजकता तिर धकेल्न जुन प्रयासहरु भइरहेका छन् यसको लागि समेत राजनीतिक दलका नेतृत्ववर्ग जिम्मेवार हुनुपर्दछ । यस किसिमका प्रवृत्तिले युवा पुस्ता प्रति आम नेपालीहरुको विश्वास पनि गुम्ने खतरा छ । तसर्थ राजनीतिक नेतृत्वले यस किसिमका क्रियाकलापबाट तत्काल सजग र सचेत भई युवा पुस्तालाई बिचार, सिद्धान्तबाट लैस गराउँदै नैतिकवान र जिम्मेवारीसहित नेतृत्व हस्तान्तरणका लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।
नेपालको अबको पुस्ता भनेको विश्वविद्यालय वा कलेजबाट उच्च शिक्षा हासिल गरेको पुस्ता हो । हाम्रो बुवा वा हजुरबुवाले विश्वविद्यालय वा कलेजबाट उच्च शिक्षा हासील गर्नुभएको थिएन तसर्थ नेपालको राजनीति अब हिजोको जस्तो हुनुहुदैन र यदि भयो भने पनि त्यो नेपाली समाजले स्विकार्दैन । नेतृत्व लिनका लागि युवा पुस्ताहरुले पनि आफुलाई सुधार गर्दे लैजानुपर्ने देखिन्छ । युवा पुस्तामा अहिले जुन अहम, असहिष्णुता देखिन्छ त्यस्तो सोच र शैलीले पार्टीमा युवाको प्रवेश बन्द गराउने छ ।
समावेशी र युवाहरुलाई प्रोत्साहनः
करिब १२ हजार पार्टी कार्यकर्ताको मर्म र भावनालाई प्रतिविम्बित गर्दै एकतिहाई महिलाको उपस्थिति सुनिश्चित गर्दै, दलित, मधेशी, मुश्लिम, आदिवासी जनजातीहरुको उपस्थिति कमिटीमा गराउदै करिव १८ प्रतिशत युवाहरुको (४० वर्ष मुनिका) प्रतिनिधित्व समेत सुनिश्चित गरि समावेशी र युवा मैत्री पार्टी निर्माण भएको सन्देश प्रवाह गरेको छ । अनुभवी र सक्षम नेतृत्व तथा सुदृढ संगठनःनेतृत्व तह योग्य, सक्षम, अनुभवी र निर्भिक हुँदा मात्र संस्था आफ्नो उद्देश्य प्राप्तिमा धेरै हदसम्म सफल हुन सक्दछ ।
फरक मतको सम्मान र नेकपाको निरन्तरताः
कुनै पनि चुनावमा विजय हुने पक्षको भन्दा पराजित हुने पक्षहरुसँग बढी जनमत रहेको हुन्छ, तसर्थ फरक विचार राख्ने पक्षहरुसँग सकारात्मक सहयोग र सल्लाह लिने र उक्त सल्लाह स्विकार गरी सबैको साथ र समर्थनमा अघि बढ्नुनै आजको आवश्यकता हो भन्ने तथ्य जरुरी छ । एमाले नेपाली कम्युनिष्टको केन्द्र हो भन्ने कुरा केही प्रष्ट छ । एमालेमा अहिले पनि बिभिन्न कम्युनिष्ट घटकबाट समाहित हुने वा प्रवेश गर्न चाहनेहरुको ठूलो हिस्सा सिन्धुलीमा छ । तर एमालेमा एउटा यस्तो हिस्सा छ, जसलाई पार्टी ठूलो बनाउन होइन, अर्को व्यक्ति आयो भने आफ्नो पदनैं खोसिन्छ भन्ने मनोबिज्ञानले उनीहरुलाई सँधै त्रसित बनाइरहेको छ । त्यही कारणले पनि एमालेमा आउनेहरुको निर्धक्कसँग आउन सकिरहेका छैनन् । किनकी पार्टीको एउटा तप्का अहिले भएकै नेता कार्यकर्ता वा समर्थक भए पुग्छ र मेरो राज चलिरहन्छ भन्ने मानसिकता बोकेर बसिरहेका छन् । अनि पार्टी प्रवेश गर्न चाहनेहरुलाई भड्काईरहेका छन् । यस्तो अबस्थाबाट गुज्रिएको सिन्धुलीको एमाले नेतृत्वले एकमना एकता सहितको नेकपाको निरन्तरताको रुपमा आएको नयाँ एमालेको भावलाई समातेर अगाडि बढ्न जरुरी छ ।
पार्टीमा जिम्मेवारी दिंदा हाम्रा मान्छे होइन राम्रा मान्छेलाई छानिनु पर्छ । कामकाजी, सक्षम, सक्रिय व्यक्तिलाई कार्यविभाजन दिएर सबैको भावना समेट्दै एकता, हार्दिकता र सहकार्यका साथ अघि बढ्नु पर्दछ । यसैमा नै एमालेको शक्ति, ऊर्जा र प्रेरणा हुनेछ ।
सिन्धुली एमालेको चुनौतीः
हरेक अधिवेशनको एउटा मुख्य मुद्दा भनेको नेतृत्व हस्तान्तरण हुने गर्दछ । आमरूपमा अधिबेशनले नयाँ व्यक्तिलाई नेतृत्वमा पुग्न मद्दत गर्नु पर्दछ ।अधिवेशनले पार्टीको प्रमुख नेतृत्वमा समेत कस्लाई पुर्यापउँछ सबैको चासोको बिषय बनेको छ । नेताहरुले कुनै दम्भ नदेखाएर सबैलाई सम्मान एवं सहयोग गर्ने वातावरण बनाई कसैलाई हिनताबोध नहुने गरी एकताबद्ध रूपमा अघि बढ्न सकेमा मात्रै एमालेलाई भोलि जिल्लाको पहिलो शक्ति बनाउन सम्भव छ । रुपान्तरण सहित दण्ड र पुरस्कारको संस्कार, आलोचना र आत्मालोचनासहित सुदृढ नेतृत्व आवश्यक छ जसले नेपाली कम्युनिष्ट आन्दोलनको केन्द्रका रुपमा एमालेलाई अगाडि बढाउन सकोस् । आजको आवश्यकता पनि यही नैं हो । (लेखकः प्रेस चौतारी नेपाल सिन्धुलीका कोषाध्यक्ष हुन्)
यो सामाग्री भोली बुधवारको सन्देश जनप्रिय साप्ताहिकमा प्रकाशन हुँदैछ ।