एमाले र माओवादी केन्द्रको गठबन्धन प्रति आयो चीनको यस्तो पहिलो प्रतिक्रिया

 सत्ता गठबन्धनमा भएको आकस्मिक फेरबदललाई लिएर छिमेकी मुलुक चीनले मंगलबार प्रतिक्रिया दिएको छ ।

बेइजिङमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले नेपालको नयाँ सत्ता समीकरण एकताबद्ध भएर राजनीतिक स्थायित्व तथा आर्थिक उन्नतीका लागि काम गर्ने आशा रहेको प्रतिक्रिया दिइन् ।

नेपालमा विकसित घटनाक्रमलाई जानकारीमा लिएको भन्दै उनले अगाडि भनेकी छन्, ‘हामीले गठबन्धनका सम्बन्धित दलहरू एकताबद्ध भएर नयाँ सरकार गठनसम्बन्धी कामलाई अगाडि बढाउने र राजनीतिक स्थायित्व, आर्थिक वृद्धि तथा जनताको जीविकोपार्जनमा सुधार ल्याउने छन् भन्ने आशा लिएका छौं ।’

उनले चीन छिमेकी मित्र राष्ट्र र सहयोगी साझेदारका रूपमा नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिँदै नयाँ गठबन्धन सरकारसँग शान्तिपूर्ण सहअस्तित्वका आधारमा सहकार्य गर्न तत्पर रहेको समेत बताएकी छन् ।

सोमबार नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग मिलेर सरकार पुनर्गठन गरेपछि प्रतिक्रिया जनाउने चीन पहिलो राष्ट्र हो ।

अन्य कुनै पनि मित्र राष्ट्रले नेपालको सत्ता समीकरण परिवर्तन भएपछि प्रतिक्रिया सार्वजनिक नगरेका बेला चीनबाट पहिलो प्रतिक्रिया आउनुलाई गठबन्धन परिवर्तनमा भूमिका खेलेको रूपमा समेत अर्थ्याइएको छ ।