सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ४ खाङसाङ निवासी ६२ वर्षिय किसानलाई अहिले भ्याइनभ्याई छ । मध्यपहाडी राजमार्ग छेउमा रहेको ५ रोपनी जग्गामा व्यवसायिक ड्रागन खेती सुरु गरेका इन्द्रप्रसाद पहाडी सरकारले तोकेको कामकाजी उमेरले हिसावले रिटायर्ड हुन् तर उनी बिहान आँगनमा घामको झिल्को आएसँगै त्यसको रेखदेखमा निस्कछन् र घाम अस्ताएसँगै घरमा आराम गर्न आइपुग्छन् ।
झण्डै डेढ सय मिटरको दुरीमा मध्यपहाडी लोकमार्ग र सुनकोशी नदी पर्छ । त्यही नदीबाट मोटरको प्रयोग गरेर सिंचाई गर्ने र त्यसमा सहायक बाली पनि उत्पादन गरिरहेका छन् ।
देशमा रोजगारी पाइएन भन्दै राजनैतिक दलका नेता र सरकारलाई धारे हात लगाउँदै दैनिक रुपमा फिक्कल गाउँपालिकमा ५ देखी ७ जना युवाहरु विदेशको खाडीमा पसिना चुहाइरहेका छन् । एयरपोर्टमा दैनिक २ हजारको हाराहारीमा नेपाली युवाहरु विदेशी श्रम बजारमा पुग्छन् तर सरकारले काम नगरी खाएर बस भनेका मानिसहरु भने आफ्नै गाउँमा व्यवसायिक उत्पादन तर्फ लागेर रमाइरहेका छन् ।
पहाडीको आर्थिक अबस्था भने कमजोर छैन, उनलाई काम नगरेर पनि उत्पादन भएको आधा अन्नपातले खान पुग्छ । केही बिक्री पनि गर्छन् । अहिले उनले ड्रागन खेतीको मुनी सहायक तरकारी वाली लगाएका छन् । केही दिन अघि उनले ७ किलोसम्मको एउटै काउली फलाए । ‘खाङसाङमा पनि यति ठूलो काउली फल्छ भन्ने लागेकै थिएन, छोराले रोपी हेरौंन भन्यो त्यसपछि विरुवा लगायौं, नभन्दै ठूल्ठूलो फल्यो’ पहाडीले हिजो (मङ्गलवार) सन्देश जनप्रियसँग भने ।
सिन्धुलीको जुनार क्षेत्रमा सहायक नगदे वाली अन्र्तगत तरकारी उत्पादन गरेको थाहा पाएका पहाडीले अहिले झण्डै ३५ हजार रुपैयाँ बरावरको काउली उत्पादन गरेर बजारमा पठाएका छन् । प्रति किलो ७० रुपैयाँको दरले सिन्धुलीको बजारमा पठाउँदा राम्रै आम्दानी हुने रहेछ, उनले आफ्नो अनुभव यसरी सुनाए ।
उनी भन्छन्ः मेहनत गरेर तरकारी फलाउन सके त राम्रै मूल्य पाइने रहेछ ।
प्रत्येक साँझ परेपछि सुनकोशी सुशाएको आवाजले उनलाई स्वर्गीय आनन्द प्रदान गर्दछ । तर त्यही सुसाइरहेको सुनकोशी छेवैका पाखाहरु भने उजाड छन् । हरियाली छैन र सेतै पहिरो खसेको दृश्यले भने प्रत्येक झुल्के घाममा उनलाई निराश बनाउने गर्छ । तर हातमा कुटो बोकर उनी अगाडिको बारिमा निस्कन्छन् त्यसपछि भने उनेले निराशालाई भुल्ने गर्छन् ।
माओवादी जनयुद्धमा लागेकाहरुलाई आर्थिक तथा भौतिक सहयोग गरेका पहाडीले मास्टरी जागिर छोडे । पटक पटकको सरकारी सास्तीले जागिरनैं छोडेर समाज परिवर्तनका लागि हिंडेका उनीजस्ता सैयौं शिक्षकले जनयुद्धको समाप्तीसँगै छोडेको मास्टरी जागिर पनि जोडियो तर उनले आफ्नो जागिर जोड्न कुनै नेताकोमा गएर ज्यूहजुरी गरेनन् । त्यही भएर पनि उनी अहिले कृषि कर्ममा जम्न थालेका छन् ।
तत्कालिन माओवादीले पहाडीलाई जनसरकार प्रमुख बनाएको थियो ।
समाज परिवर्तनको सपना बाँडेर जनतालाई बन्दुक बोकाउनेहरु अहिले बिग्रएका र उनीहरुले गरिव तथा असहायहरुलाई कहिल्यै भलो गर्न नसक्ने पहाडीको बुझाई छ । जनयुद्धको २८ औं वर्षगाँठ मनाइरहेको माओवादी नेतृत्वप्रति कटाक्षगर्दै पहाडीले भनेः ‘जनयुद्धका नाममा सर्वसाधारणलाई सत्ता प्राप्तीको माध्यम मात्रै बनाएका रहेछन्, त्यस्ता नेताहरुबाट अब नेपाली सर्वहारा जनताको मुक्ति संभव छैन ।’
यो समाचार सन्देश जनप्रिय साप्ताहिकले गतांंकमा मुख्य समाचार बनाएर प्रकाशन गरेको थियो ।