नेनाममा नेकपा एमालेबाट बिजयी बनेका जनप्रतिनिधी र सरकारी निकायमा नियुक्ति पाएका पदाधिकारीको नैतिकता र आचरणमाथि गम्भीर प्रश्न उठाइएको छ ।
एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा जनप्रतिनिधी र सरकारी नियुक्तिमा गएका ब्यक्तिहरुको बिषयमा गम्भीर छलफलसहित यस्तो प्रश्न उठाइएको हो । बैठकमा पेशागत महासंघका अध्यक्ष पूण्य ढकालले यस्तो प्रश्न उठाउनु भएको हो । बैठकमा सहभागी सदस्यहरुका अनुसार अध्यक्ष ढकालले पार्टीबाट जनप्रतिनिधी बनेका र सरकारी निकायमा नियुक्त गरेर पठाइएका पदाधिकारीहरु आर्थिकदेखि अन्य सवै बिषयमा अराजक बनेको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
‘पार्टीको नाममा नियुक्ति खाएका अध्यक्ष र जिएमदेखि सवै ब्यक्तिहरु अराजक बने, आफ्नो स्वार्थभन्दा बाहिर केही नहेर्ने प्रबृत्ति हावी भयो, यस बिषयमा गम्भीर छलफल गरी कार्वाहीको भागिदार बनाउनु पर्छ,’ बैठकमा ढकालको भनाई उधृत गर्दै ती सदस्यले प्रदेशखबरसँग भने, ‘संगठनलाई बेवास्ता गर्दै आफुखुसी गर्नेहरुको रेकर्ड राखेर अव कँही कतै अवसर नदिने निर्णय गर्नुपर्छ ।’
सदस्यहरुका अनुसार ढकालले नामावली नै आफूहरुले संकलन गरेर राखेको भन्दै अव कार्वाहीतर्फ जानुपर्ने बताउनु भएको छ । ‘पार्टीबाट सरकारी निकायमा नियुक्ति खाने तर संगठनलाई अपमान गर्ने शैली स्वीकार गर्न सकिन्न, यस्तामाथि कार्वाही हुनुपर्छ,’ ढकालको भनाई थियो । उहाँले यस बिषयमा एजेण्डा नै बनाएर छलफल गरी निर्णय लिन पार्टी नेतृत्वलाई समेत सुझाउनु भएको छ ।











