फिल्मी शैलीमा बन्धक बनाएर गरिएको महिलामाथिको कुटपिट घटना रहस्यमय बन्दै, शरिर बन्धक र र्दुव्यवहारमा जाहेरी दर्ता !

सिन्धुली: आफ्नै घरको खाँबा र बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट गरेको फोटो तथा समाचारहरु सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको छ ।
कमलामाई नगरपालिका वडा नम्बर ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले पालै पालो कुटपिटपछि बेहोस् अबस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिएका छन् ।
उनका अनुसार ढकाल गाउँकी थापामाथि श्रीमानले लिएको लेनदेनको विषयलाई लिएर बन्धक बनाउँदै कुटपीट भएको हो । उनलाई बिजुलीको पोलमा बाँधेर कुटपिट भइरहेको भन्ने जानकारीका आधारमा प्रहरीले उनलाई उद्धार गरेको बताएको छ ।
उक्त खबर पाएपछि जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सिलवालकै नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । घटना स्थलमा पुगेको प्रहरीले फिल्म छायांकन जस्तै घटना देखेर एक छिन हेरिरहेको एक प्रहरी जवानले सन्देश जनप्रियलाई बताए ।
उनी घटनास्थलमा पुग्दा पनि ढकाल गाउँस्थित थापाकै घर अगाडिको बिजुली पोलमा शारदालाई बाँधिएको थियो । गाउँका अन्य स्थानीयहरू पनि भेला भएर पालै पालो कुटिएको दृश्य हेरेर बसिरहेका थिए ।
प्रहरी भ्यानसहित पुगेपछि आगो तापेर बसेका मानिसहरु भाग्न थालेको एसपी सिलवालले बताए ।
आइतबार अपराह्न साढे ४ बजे प्रहरी घटनास्थलमा पुगेर शारदाको उद्धार गरेको हो । उद्धार गरेपछि प्रहरीले उनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुलीमा भर्ना गरेको थियो । थापालाई प्रहरीले बेहोस अबस्थामा उद्धार गरेको हो । अचेत अवस्थामै फेला उद्धार गरिएकी उनलाई अस्पताल ल्याइएको एसपी सिलवालले बताए ।
‘हामी पुग्दा मानिसहरू भेला भइरहेका थिए । केही स्थानीयहरू भाग्न थाले । शारदा भुइँमा लडेर बेहोस थिइन् । बिजुलीको पोलसँग बाँधिएका डोरीहरू पनि थिए,’ एसपी सिलवालले भने, ‘तीन दिनसम्म बाँधेर लाठी, हात, खुट्टाले हिर्काएको भन्ने बयान दिएकी छन् । बोल्न नसक्ने अवस्थामा भएकाले हामीले धेरै कुराकानी गरेका छैनौं । आज अलि ठीक भएको छ ।’ सिलवालले पत्रकारसँग भने ।
कुटपिटबाट शारदाको शरीरका बिभिन्न भागमा निलडामहरू भएको उनले बताए । अहिले स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको पनि एसपी सिलवालले बताए ।
यस घटनापछि प्रहरीले संलग्न ७ जनालाई पक्राउ गरेको छ । शारदाका श्रीमान् सन्तोष थापासहित अन्य स्थानीयहरू पक्राउ परेका हुन् । उनीहरूलाई प्रहरीले आज म्याद थप गर्ने तयारी गरिरहेको छ ।
शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी थिइन् । सहमतिमैं श्रीमान् श्रीमती बीच डिभोर्स गर्ने प्रक्रिया अगाडि बढाएका उनीहरुले लिएको ऋण चक्रबर्ती व्याजभने फिर्ता गर्न सकिरहेका थिएनन् । त्यही डिभोर्सको प्रक्रिया अघि बढाउन उनी केही दिन अघि मात्रै सिन्धुली पुगेकी थिइन् । कुटपिट गर्नेहरूको रिसिइबी शारदासँग नभएपनि उनका श्रीमान सन्तोषसँगको लेनदेनको विवाद र डिभोर्सपछि आफ्नो रकम फिर्ता नआउने आशंकामा शारदामाथि कुटपिट भएको एसपी सिलवालले बताए ।
‘यसमा पक्राउ परेकाहरूको इबी सन्तोषसँग देखिन्छ,’ उनले भने, ‘त्यसैले हामीले श्रीमानलाई पनि नियन्त्रणमा लिएका हौं ।’
उनका अनुसार शुक्रबार श्रीमती शारदा आफ्ना श्रीमान सन्तोषको अपहरण भएको भन्दै प्रहरीकहाँ पुगेकी थिइन् । अदालतमा डिभोर्सको प्रक्रिया पु¥याउन गएका श्रीमान् सन्तोष त्यहाँबाट हराएपछि शारदा प्रहरीकहाँ पुगेकी थिइन् । सन्तोषलाई कुटपीटमा संलग्न युवाले नियन्त्रणमा लिएको र उजुरीपछि छोडिदिएका थिए ।
अपहरणमा परेको भन्ने खबरपछि प्रहरीले सन्तोषको खोजी थालेको थियो । तर सन्तोष सकुशल नैं भेटिए । त्यस बेला पनि हामीलाई शंका लागेको थियो । त्यतिबेला शारदाले चार जना स्थानीय पुरूष समेतको नाम लिएकी थिइन् ।
‘श्रीमान सकुशल नै भेटिएपछि हामीले उहाँलाई किन के भएको हो भनेर सोध्दा उहाँले श्रीमतीले किन यसरी उजुरी दिइन् थाहा भएन भन्नुभयो । त्यसपछि हामीले शारदालाई फोन गर्यौं,’ एसपी सिलवालले भने, ‘भेरिफाइ गर्न खोज्दा मोबाइल अफ भएपछि यो कुनै झुटो मुद्दा होला भन्ने उजुरी दिएर भाग्यो भन्ने भयो, तर पछि तथ्य अर्कै बनेर आयो ।’
त्यसरी मोबाइल अफ भएपछि ती महिलालाई स्थानीय युवाहरूले नियन्त्रणमा लिएर मोवाइल खोसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
शारदालाई युवाहरूले नियन्त्रणमा लिएर उनीहरूको घरमा पु¥याए पछि घरमा पुगेका सन्तोषलाई पनि उनीहरूले नियन्त्रणमा लिएका थिए । सोही घरमा भाले काटेर खाइ बसेका उनीहरुले दुबैलाई नियन्त्रणमा लिएर एक रात घरको खम्बामा बाँधेर राखेको देखिन्छ । त्यसका तस्बिरहरू पनि प्रहरीलाई लगातार प्राप्त भएको थियो ।
भोलिपल्ट भने श्रीमान सन्तोषलाई उनीहरूले छाडेका थिए । जसले गर्दा उनकै (श्रीमान) मिलेमतोमा आफ्नो अपहरण गरी बन्धक बनाएको शारदाले बताएकी छन् । अदालतमा जग्गा रोक्काका लागि दिएको जाहेरी फिर्ता गराउने सर्तमा उनलाई भ्यानमा राखेर ल्याइएको र न्यायाधिस नभएका कारणले सो काम नभएको र महिलाले आफु असुरक्षित भएको भन्दै अदालत परिसरमा रोइकराई गर्न थालेपछि बेलुका उनलाई सेतो भ्यानमा राखेर फेरी उनकै घरमा लगिएको प्रारंभिक अनुसन्धानमा खुलेको छ ।
ती स्थानीयहरूले सन्तोषलाई एक करोड बढी रकम दिएको प्रहरीसमक्ष बताएका छन् । डिभोर्स गर्दा सन्तोषको सम्पत्ति लगेपछि आफूहरूले दिएको रकम फिर्ता नहुने भएपछि उनीहरूले शारदालाई डिभोर्स नगराउन कुटपिट थालेको बयान प्रहरीसमक्ष दिएका छन् ।
‘आज बुधवार जाहेरी आएपछि थप अनुसन्धान पनि होला । बयान सबैको लिन्छौं । पक्राउ परेकाहरूले श्रीमानसँग पैसा लिनुपर्ने भएकाले कुटपिट गरेको भनेका छन्,’ उनले भने, ‘श्रीमतीको नाममा भएको केही सम्पत्ति भए पनि आफूहरूले पाउनुपर्छ भनेका हुन् । पक्राउ परेकाहरूले आफूहरूको लेनदेन पहिले मिलाउनुपर्छ अनि मात्रै डिभोर्स गर्नुपर्छ भन्ने हिसाबले कुटपिट गरेको देखियो ।’ एसपी सिलवालले भने । आक्रमणकारी बिरुद्ध शरिर बन्धक र र्दुव्यवहारको जाहेरी दर्ता गर्ने तयारी सिन्धुली प्रहरीलाई घटनास्थलबाट पक्राउ गरिएका व्यक्तिहरुलाई छुटाउन माथिल्लो निकायबाट दबाब दिइएको थाहा लागेको छ । यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।

No description available.