सिन्धुली: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन गर्नुभएको छ ।
एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सिन्धुली आउनुभएका अध्यक्ष ओलीले रामेछापका मन्थली नगरपालिका–६ सेलघाट स्थित डाइभर्सन उद्गम बिन्दुमा भइरहेको निर्माण कार्यको अवलोकन गर्नुभएको हो । सो क्रममा ओलीले आयोजनाको प्रगति बारे जानकारी लिनुभएको थियो ।
तत्कालिन नेकपा सरकारको नेतृत्व गर्नुभएका ओलीले सिन्धुलीको कुसुमटारमा तामझाका साथ २०७७ सालमा शिलान्यास गर्नुभएको थियो । एमाले शिलान्यास पछि प्रधानमन्त्री ओलीले सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गर्नुभएको थियो ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम उद्गम बिन्दु सुनकोशी नदी तर्फबाट धमाधम भइरहेको छ । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये ९ दशमलव ७ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख मित्र बरालले अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो ।
आयोजना अन्तर्गत सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ कम्पनीले लक्ष्यभन्दा बढी निर्माणको कार्य गरिरहेको र यो आयोजना मात्रै तोकिएको समयावधी अगाबै सम्पन्न हुने अनुमान गर्न थालिएको छ ।
रामेछाप र सिन्धुलीको संगम स्थल सुनकोशी नधीमा बाँध निर्माणको कार्य पटेल रमण जेभीले अघि बढाए पनि कछुवा गतिको कामले भने आयोजना प्रमुख मित्र बरालको तोकिए भन्दा छिटो निर्माण सम्पन्न गर्ने लक्ष्यमा भने ठेस लाग्न सक्ने अनुमान गरिएको छ । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले कुल रकम ४६ अरब रुपैयाँ विनियोजन गरेको मध्य चालु आर्थिक वर्षसम्म करिब ११ अरब खर्च भएको बरालले जानकारी दिनुभयो ।
सुरुङ निर्माण सँगसँगै आयोजनाको सुनकोशी नदीमा बाँध निर्माणको कार्य सुरु भएको छ । ३१ मेगावाट विद्युत् उत्पादनका निम्ति आवश्यक पूर्वाधार निर्माणको काम पनि सुरु भएको र थप मेगावाट विद्युत उत्पादनका लागि डिपिआर तयार गरिएको अध्यक्ष ओलीलाई ब्रिफिङ गरिएको थियो । उक्त विद्युत सर्लाहीको नवलपुर मुख्य प्रसारण लाइनमा जोडिने छ ।
सुनकोशी नदीको पानी ६७ हजार लिटर प्रतिसेकेन्डका दरले मरिनमा झारिने छ । मरिण् खोलामा खसालिएको पानि वाग्मती नदी हुँदै वाग्मती सिँचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट लगिने छ ।
सुनकोशी नदीमा १ सय ५८ मिटर लामो ब्यारेज, १ सय ५० मिटर लामो डिसेण्डिङ्ग बेसिन, टनेल इन्ट्री पोर्टल, ५ दशमलब ५ मिटर व्यास भएको १३ ३ किमी लामो सुरुङ, सर्ज पण्ड स्विच यार्ड, ३१ मेगावाट क्षमताको विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण गरिने छ ।
सुनकोशी मरिण डाइभर्सन आयोजना सुनकोशी नदीको पानी बाग्मती नदीको सहायक नदी मरिण खोलामा स्थानान्तरण गरी रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।
पछिल्लो समयमा अर्थ मन्त्रालयले रकम निकासा नगरेपछि आयोजना निर्माणको काममा समस्इा देखिएको बताउँदै आयोजना प्रमुख बरालले भन्नुभयोः बजेटको कमीले कामले उच्च गति लिन सकेन । आयोजनाको चालु आर्थिक वर्षको बजेट ४ अर्ब ३९ करोड ५४ लाख रहेको र यो वर्षको लागि ११ अर्ब २७ करोड ९० लाख बजेट आवश्यक भएको बताउनुभयो । उहाँले अब आयोजनाले टिविएम लाई समेत रकम तिर्न सक्ने अवस्था नरहेको र २ वटा फाइल अर्थ मन्त्रालयमा पुगेर अड्किएको बताउँदै अध्यक्ष ओलीलाई आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो । सुरुङ निर्माणको काम ७८ प्रतिशत सकिएको छ ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, रामवहादुर थापा वादल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरु, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ । -यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ प्रकाशन गरेको छ ।










