झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्रामा निस्किनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितको टोली मंगलबार बिहान (भोली) सिन्धुली आउँदैछ ।
समृद्धिका लागि संकल्प यात्रा अन्तरगत नेकपा एमालेका संस्थापक नेता ऋषिराज देबकोटा (आजाद)को भुमि खुर्कोटमा मंगलबार बिहान ८ बजे आइपुग्ने नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख संजय दाहालले जानकारी दिए ।
संकल्प यात्राको १३ औं दिन सिन्धुलीको खुर्कोटमा एमाले अध्यक्ष तथा पूर्व प्रधामन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाईभर्सनको स्थलगत अवलोकन र प्रगतिबारे जानकारी लिने कार्यक्रम तय भएको आयोजना कार्यालय प्रमुख मित्र बरालले प्रदेशखबरलाई बताएका छन् । पूर्व प्रधानमन्त्री ओलीले आयोजनाको शिलान्यास गर्नुभएकाले उहाँले सो आयोजनाको प्रगतिवारे चासो राख्नु भएपछि हामीले आयोजना स्थलमैं सो प्रबन्ध मिलाएका छौं, बरालले भने ।
अध्यक्ष ओलीले खुर्कोटमा बरिष्ठ पत्रकार शेषराज दाहालको कविता संग्रह चुच्चे नक्सा र सिन्धुली दर्पण नामक पुस्तकको विमोचन गर्नुहुने छ । मध्यपहाडी लोकमार्ग अन्तरगत सरकारले बनाउन लागेको नयाँ सहर विकास कार्यक्रम र सडक मार्ग आसपासका स्थनीय जनताले भोग्दै आएका समस्याहरुको बिषयमा जानकारी लिने दाहालको भनाई छ ।
राष्ट्रिय महत्वका साथ हेरिएको चियावारी–खुर्कोट सुरुङ्ग मार्ग र सिन्धुली महाभारत क्षेत्रकोकै प्रमुख नगदेबालीका रुपमा चिनिएको सिन्धुलीको जुनारमा देखिएका रोगकिरा नियन्त्रणमा जुनार सुपरजोन असफल भएको जस्ता विषयमा किसानहरुका समस्याहरुको बारेमा समेत जानकारी लिने कार्यक्रम तय भएको दाहालले जानकारी दिए ।
सोही क्रममा सिन्धुली कलाघरले केही समय नाच प्रस्तुत गर्ने र अपस्थित नेता कार्यकर्तालाई अध्यक्ष ओलीले संक्षिप्त सम्बोधन गर्नुहुने छ । गोलञ्जोर गाउँपालिकाको देउरालीटारमा पहिलो पटक २००८ सालमा कमरेड पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको गठन गरेको बारे जानकारी लिने र सहिद बाबुराम बरालको सालिकमा माल्यार्पण गर्ने तथा स्थानीय सँग सडक सम्बाद गर्ने कार्यक्रम रहको एमाले नेता दाहालले जानकारी दिए ।
‘सुलिभन्ज्याङ्गमा सहिद आजाद मार्गको स्थलगत अवलोकन र मागपत्र बुझ्ने तथा स्थानीयसंग छलफल र भेट्घाट, खाङ्गसाङमा मदन–आश्रीत प्रतिष्ठान फिक्कलको अबलोकन र स्थानीयसग भेटघाट गर्ने कार्यक्रम तय भएको छ,’ उनले भने ।
यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पदाधिकारी र नेताहरुको सहभागितामा घुर्मी÷हर्कपुरमा मंगलबारनंै विशाल आमसभाको आयोजना गरिएको छ । नेकपा स्थापना भएको यस वर्ष ७५ औं वर्ष पुगेको छ । उक्त अवसरमा पार्टीले आफ्ना संस्थापक नेताको स्मृतिमा निर्माण भएको पुष्पलाल मध्यपहाडी राजमार्गमा १९ दिने समृद्धि यात्रा सुरु गरेको हो ।
बैतडीको झुलाघाटबाट सुरु भएको लोकमार्ग पाँचथरको चिवाभञ्ज्याङमा टुंगिनेछ । यो अभियान विभिन्न जिल्लामा जनतासँग भेटघाट, आमसभा गर्दै पुस २ गते १९औं दिनमा समापन हुँदैछ । सो टोलीमा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेल, रामवहादुर थापा बादल, महासचिव शंकर पोखरेललगायतका नेताहरु सामेल छन् । पार्टी नेतृत्वसँग प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र महासचिव हिरामान लामाले पत्रकारहरुको नेतृत्व गरिरहेकाछन् ।










