सिन्धुली: मध्यपहाडी राजमार्ग (पुष्पलाल) अन्र्तगत पर्ने बैतडीको राकमबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानलाई सफल बनाउन सिन्धुली एमालेको प्रचार विभाग र प्रेस चौतारीले प्रचारात्मक कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।
एमाले प्रचार बिभाग र प्रेस चौतारी सिन्धुलीका नेताहरुको आइतवार सिन्धुलीमा भएको संयुक्त बैठकले आउँदो मंसिर २६ सिन्धुलीको खुर्कोटमा बिहान ८ बजे मध्यपहाडी संकल्प यात्राको टोलीलाई स्वागत गर्न तथा अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रमलाई सफल बनाउने निर्णय गरेको हो ।
बैठकमा एमाले प्रचार विभाग प्रमुख सञ्जय दाहाल, सचिव नबिनवावु अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज प्रेम दाहाल, जिल्ला अध्यक्ष बिनय दाहाललगायतका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो । बैठकमा पत्रकार महासंघ सिन्धुलीका सभापति कृष्णहरी घिमिरेकोसमेत उपस्थिति रहेको थियो ।
नेकपा एमाले नेतृत्वको सरकारको पालामा सिन्धुलीमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सन क्षेत्रमा भएको निर्माण कार्यको प्रगतिवारे अध्यक्ष ओलीले आयोजना प्रमुखबाट जानकारी लिने कार्यक्रम पनि तय भएको छ । अध्यक्ष ओलीले सोही दिन बरिष्ठ पत्रकार शेषराज दाहालद्धारा लिखित ‘चुच्चे नक्सा’ नामक कविता संग्रहको बिमोचन गर्नु हुनेछ भने मध्यपहाडी क्षेत्रका नागरिकले भोगेका समस्या र अहिलेको अबस्थावारे जानकारी लिनुहुने कार्यक्रम तय भएको एमाले प्रचार विभाग सिन्धुलीका प्रमुख सञ्जय दाहालले जानकारी दिए ।












