समाप्तप्राय: बैचारिक बहस र सिथिल बनेको भावनात्मक प्रश्न ?

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को विकास र रुपान्तरणसँग सम्बन्धित विशेष अभियान सिन्धुलीमा नयाँ परिस्थितिबाट गुज्रिरहेको छ । यसभित्रका कतिपय संकुचित गुटबाट निस्केर यो पार्टी समग्रतामै जनसमुदायमा प्रवेश गरिरहेको छ ।
अभियानको सुरुवात तथा प्रचारात्मक पक्ष एक हदसम्म सफल भएको छ र समस्याका धेरै पाटा पक्षको पहिचान पनि भएको छ ।
सिन्धुली जिल्लामा हामी अहिले रक्षात्मक अवस्थामा छौं । यहाँ हावी हुन हामीले गणतन्त्र, संघीयता, समावेशिता, धर्म निरपेक्षता जस्ता संवैधानिक एवम् लोकतान्त्रिक उपलब्धिलाई जगैदेखि लागू त गर्नुपर्छ नैं, साथसाथै आफ्नै चालचलन, आचरण र व्यबहारबाट समेत जनतासँग हामी राम्रो छौं भनेर प्रमाणित हुनुपर्छ ।
यद्यपि समावेशी लोकतन्त्रका कयौं राष्ट्रिय र वर्गीय पक्षलाई दोस्रो संविधानसभामा उपेक्षा गरियो । एक हदसम्म असफल रह्यो । उत्पीडित वर्ग, उत्पीडित समुदायको बलमा त्यो असफलतालाई फेरि उठाउनुपर्छ ।
समावेशी लोकतन्त्रलाई समुदायमा लागू गर्न ब्यापक राजनीतिक अभियान र सडकमा खुल्ला प्रदर्शनको माग बढेको छ । २२ मंसिरमा केन्द्रीय कार्यक्रम गर्नुपूर्व हामी हरेक पालिकामा जानुपर्छ । पालिकास्तरीय अभियानमातहत अबको संगठन र संघर्षलाई सुदृढ गरिनु पर्दछ ।
राज्य र स्वयं पार्टीभित्र समेत वर्गीय र समावेशी लोकतन्त्र लागू गर्न सक्दामात्र हामी जनताबीच उदाहरणीय र जनताका दुश्मनबीच आक्रामक हुन सक्छौं ।
सँगसँगै हामीले जनता र पार्टी कार्यकर्ताप्रति जवाफदेही हुने गरी नेतृत्व निर्माण गर्नुपर्छ । पार्टी नेता तथा कार्यकर्तालाई सामान्य आर्थिक समस्या परे आफन्तकोमा जानुपर्ने अवस्था छ । पार्टीभित्र भावनात्मक प्रश्न शिथिल भएको छ । वैचारिक बहस पनि समाप्तप्रायः भएको सिन्धुलीको अभियानले प्रष्ट्याएको छ ।
पार्टीभित्रैका एकथरि जमात अभिजात वर्गमा बदलिदैं गएका छन् । तिनको आर्थिक स्रोत र परिचालन चरम अपारदर्शी छ । पद र आर्थिक उत्प्रेरणालाई केन्द्र बनाउने अनि स्वार्थपरक गुटबन्दी गर्ने समस्याले आधार र इतिहास बलियो हुँदाहुँदै पनि माओवादी कार्यकर्ता सिन्धुलीमा अरुहरुबाट हेपिन परेको तथ्य धेरै छन् । माओवादीले थालेको यो विषेश रुपान्तरण अभियानले सिन्धुली मात्रै होइन सिंगो देशभरका अरू कम्युनिस्ट नेता तथा कार्यकर्ता र समर्थकको ध्यान समेत हामीतिर खिचेको छ ।
नयाँले पार्टी वा दलले कुनै नवीन विकल्प दिएकाले होइन, पुरानाहरू जनताका समस्या र आशासँग नजोडिएकाले असन्तुष्टि र आक्रोस देखिएको छ । जनयुद्धको समाप्तीपछि माओवादीले पहिलो पटक तल्लोतहसम्म जुन तीन महिने ‘जनतासँग माओवादी’ अभियान चलाएको छ, यसले भने आमतहमै ठूलो हलचल पैदा गराएको छ । अति केन्द्रीकरण र आत्म केन्द्रीतका रूपमा माथिदेखि तलसम्मको पार्टी जे जसरी चलेको थियो, यस अभियानले त्यसलाई विकेन्द्रित गर्न सकेको छ ।
वैचारिक स्पष्टता, त्याग एवम् वलिदान संस्कृतिको पुर्नस्थापना र जनवादी केन्द्रीयताको प्रणाली भएन भने संगठन थप भद्रगोल हुन्छ । अराजकता बढ्छ भन्ने तथ्य यो अभियानका क्रममा प्रष्ट भएको छ ।
अभियानले संघ, प्रदेश र स्थानीय सरकारको कामलाई समेत जनतासँग जोडेर लैजानुपर्ने कुरालाई गम्भीरतापूर्वक मनन गरेको छ ।

हामीले गर्न सकेका, गर्न नसकेका, गर्ने क्रममा रहेका र गर्नुपर्ने कामबारे श्वेतपत्र नैं जारी गर्नुपर्छ । राष्ट्रिय स्वाधीनता, सुशासन, विकास, राष्ट्रिय उद्यम, स्वस्थ व्यवसाय र रोजगारीका लागि यो अभियानमार्फत दबाब बढाउनु पर्छ र हाम्रा काम कारबाही यसै दिशातर्फ केन्द्रीत बन्नै पर्छ ।
अभियानका क्रममा भुइँ तहका कार्यकर्ता र कम्युनिस्ट आन्दोलनका शुभचिन्तकका साथै जनताबाट प्राप्त भएको प्रतिक्रिया भनेको वामपन्थी एकता नैं हो । वाम शक्तिहरू फेरि पनि मिल्नुपर्छ भन्ने जनताको आवाज जनतासँग माओवादी अभियानका क्रममा हामीले सुन्यौं र अनभूत पनि गरेकाछौं ।
यसलाई वाम पार्टीहरूको नेतृत्वले कसरी लिन्छ ? यो महत्वपूर्ण विषय हो । आज जनतामा तिब्र निराशा छ, तर शहरिया अराजकतावाद भन्दा फरक छ गाउँको निराशा र असन्तुष्टि । यसलाई फेरि पनि सकारात्मक दिशा दिने र समाजवादको यात्रामा लैजान दायित्व भनेको माओवादीकै हो र वामपन्थी पार्टीहरूकै हो ।
कम्युनिष्ट पार्टी भन्नु एउटा सामूहिक योगदान र पद्धति हो । यो संस्थागत हुनुपर्छ । विधिमा चल्नुपर्छ । पार्टी अध्यक्षदेखि सेल सदस्यसम्मले एउटै विधि मान्न बाध्य हुनुपर्छ र हामी व्यक्ति होइन पार्टी र विधीलाई स्थापित गराउने दिशातर्फ अग्रसर हुनै पर्छ ।
नगर, पालिका वा स्थानीय तह गाउँ पार्टीको मातहत चल्नुपर्छ । यसबारे प्रदेश पार्टीले तत्काल सर्कुलर जारी गर्नुपर्छ । सरकारले पार्टी चलाउने कि पार्टीले सरकार ? यसको टुंगो तत्काल गरिनु पर्दछ । अब सबै तहको सरकार पार्टी माताहत चल्नुपर्ने नीति लागू गर्दै त्यसको अभ्यास बागमती प्रदेशबाट लागू गरौं । स्थानीय तहका जनप्रतिनिधिलाई जिल्लाका संयोजक वा सचिव नबनाओैं । (लेखकः माओवादी केन्द्र सिन्धुलीका जिल्ला इन्चार्ज हुन् ।)