नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा रहँदा भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न पत्राचार गरेपनि सरकारबाट हटेसँगै सवै कुरा रोकिएको बताउनु भएको छ । धादिङको सल्यानटारमा आज आयोजित कृषि मेलामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले आफू सरकारबाट हटेसँगै नेपाली भूमि फिर्ता ल्याउने बिषयलाई नै ओझेलमा पारेको बताउनु भयो ।
ओली नेतृत्वको सरकारको बेला भारतले लामो समयदेखि मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको पूर्ण नक्सा जारी गरी संसदबाट सर्वसम्मत अनुमोदन गरिएको थियो । नक्सा जारी भएको केही समयमै आफूले भारतलाई पत्राचार गरेर नेपाली भूमि फिर्ता गर्न भनेको तर आफू सरकारबाट हटेपछि सत्ता गठबन्धनले नेपाली भूमि फिर्ता ल्याउने बिषयमा बोल्नै नसकेको ओलीले बताउनु भयो ।
‘नेपालको जमिन नेपालको नक्सामा सामेल गरिएको छ । नेपालको जमिन अर्काले भोगचलन गरिरहेको छ । त्यो हाम्रो जनिम हामीलाई फिर्ता चाहिन्छ भनेर भारतलाई पत्राचार गरेको छु मैले,’ ओलील्े भन्नुभयो, ‘तर अहिलेका सरकारमा बस्नेहरु यसबारे एक शब्द बोल्न पनि सक्दैनन । कस्ता हुतिहाराहरु रहेछन । आफ्नो देशको बारेमा बोल्न सक्दैनन, आफ्नो जमिनको बारेमा बोल्न सक्दैनन ।’
अध्यक्ष ओलीले एमालेले छिमेकीप्रति मित्रवत सम्बन्ध कायम राख्न चाहेको भन्दै घुँडो टेक्ने कामचाँहि मित्रता नहुने बताउनु भयो । ‘हामीले हाम्रा छिमेकीहरुसँग सत्रुता गर्ने होइन, मित्रता गर्न चाहन्छौं तर मित्रता भनेको घुँडो टेक्नु होइन । हामीले हाम्रो भूमि फिर्ता लिनुपर्छ । यो कुनै नाजायज कुरा हो र ? यो भनेको हामीले दुश्मनी गर्न खोजेको हो र ?’ आफ्नो सम्बोधनको क्रममा अध्यक्ष ओलीले आफ्नो पालामा अघि बढेको बिकाश आयोजनाहरु अहिले योजनावद्ध रुपमा रोकेर बिकाश बिरोधी काम भइरहेको भन्दै आपत्ति जनाउनु भयो ।
‘बिरालो सेतो बिरालो भए पनि, कालो भए पनि मुसा मार्नुपर्छ । यो सल्यानटारको बिकाश गर्न बुढीगण्डकी जलबिद्युत आयोजना जस्ले बनाए पनि स्वागत गर्नुपर्छ । म प्रधानमन्त्री हुँदा बुढीगण्डकी अघि बढाउने निर्णय गरिसकेको थिएँ, म हटेपछि काम अघि नै बढने,’ ओलीले भन्नुभयो, ‘बुढीगण्डकी अघि बढाउन र बनाउन सायद म नै सरकारमा आउनु पर्ने होला,’ ओलीले भन्नुभयो, ‘मप्रधानमन्त्री बनिन भने सायद बुढीगण्डकी पनि बन्दैन होला । म नबने पनि नेकपा एमालेको सरकार नबनेसम्म यो बन्दैन भन्ने देखियो ।’