भारतबाट आउनेहरुमा देखिन थाल्यो कोरोना संक्रमण

भारतबाट लुकिछिपी आएका कपिलवस्तुका थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो १० दिनभित्रै भारतको महाराष्ट्रबाट लुकिछिपी आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा यशोधरा गाउँपालिका ५ का ८ जना र बुद्धभूमि गाउँपालिका ७ का २ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकाहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुष रहेका छन्।

बुद्धभूमिको महेन्द्र मावि गोरुसिंगे र यशोधराको अनिरुद्ध मावि बैदौलीमा रहेका क्वारेन्टाइनमा बसेकासहित २ सय ९० जनाको स्वाब संकलन गरिएकोमा ९९ जनाको रिर्पोट आएकोमा १० जनाको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।

‘क्वारेन्टाइनमा रहेकाहरुको स्वाब लिने क्रम जारी छ, क्वारेन्टाइनमा आउनेहरुको स्वाब काठमाडौँ पठाइएकोमा अहिले १० जनाको रिपोर्ट पोजेटिभ र ८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ’,उनले भने–क्वारेन्टाइनमा रहेका अरुको रिपोर्ट आउने क्रममा छ।’

संक्रमित १० जनालाई बुटवलस्थित कोरोना अस्पतालमा पठाउने उनले बताए । ‘उनीहरुलाई बुटवल पठाएपछि उनीहरुको सम्पर्कमा आउनेहरुको विवरण खोजिने छ र परीक्षणलाई थप विस्तार गरिनेछ’, उनले भने।

कपिलवस्तुका क्वारेन्टाइनमा आइतबारसम्म १ हजार २ सय ४४ जना रहेका छन् । तर, भारतबाट लुकिछिपी आउनेहरु नरोकिएकाले यो संख्या बढ्दै गएको सहायक प्रमुख जिल्ला अधिकारी नेपालीले बताए।