सुन तस्करी प्रमाणित भए म पदमा बस्दिनँ : अर्थमन्त्री महत

 नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता रहेको अलिकति मात्रै पनि पुष्टी भए आफू तत्कालै पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । उनले आफूमाथि व्यक्तिगत प्रहार गर्ने गरी लान्छना लगाउने काम भएको बताए । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी पार्टीको संसदीय दलको बैठकमा बोल्दै अर्थमन्त्री महतले पार्टी, संसद् र सडकबाट आफूमाथि अनावश्यक प्रश्न उठाएर लान्छना लगाउने काम भएको बताए ।

उनले राजस्व प्रशासनमा आफूले सकेसम्म कुनै पनि कमी कमजोरी नहुने गरी व्यवस्थापन गरिरहेको बताए ।

‘म केटाकेटीदेखि नै एउटा संस्कारमा हुर्किएर आएको मान्छे हुँ । ममाथि व्यर्थको लान्छना लगाउने काम भयो । यो ममाथि भएको व्यक्तिगत प्रहार हो । ममाथि अनावश्यक शंका गर्ने र त्यही विषयलाई लिएर प्रचार गर्ने काम भयो,’ महतले भने, ‘तपाइँहरू नै भन्नुस्, अलिकति पनि तपाइँहरूलाई लाग्छ कि यो पदमा बसेर मैले गलत गरेँ भन्ने हो र प्रमाण दिनुहुन्छ भने म अहिले देखि नै यो ठाउँमा बस्दिनँ ।’

उनले पार्टीभित्र हरेकलाई अनुशासनको दायरा लागू हुने र कसैलाई आफू मन नपरेकै कारण आफूमाथि व्यक्तिगत लान्छना लगाउने र होच्याउने गरी काम नगर्न आग्रह गरे ।