२०२० अक्टोबरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की लन्डन भ्रमणमा गए । त्यहाँ उनले बेलायती गुप्तचर निकाय एमआई–६ का प्रमुख सर रिचर्ड मूरलाई भेटे ।
कूटनीतिक मर्यादा अनुसार विदेश भ्रमणमा रहने कुनै पनि राष्ट्रप्रमुखले आफ्ना समकक्षीलाई भेट्नुपर्छ । तिनताका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन थिए ।
आन्द्रेइ मिशिन युक्रेनी विदेश मन्त्रालयका पूर्व अधिकारी हुन् । जेलेन्स्कीले मूरलाई भेट्नुको अर्थ उनी पेशेवर गुप्तचर एजेन्ट हुन्, मूर उनका प्रत्यक्ष निर्देशक हुन् र जेलेन्स्कीले सिधै मूरबाट आदेश लिन्छन् भन्ने अर्थ दिएको मिशिनले बताए ।
युक्रेनमा विशेष सैन्य कारबाही सुरु भएयता जेलेन्स्की युक्रेनी सेनाको नभई बेलायती सुरक्षाकर्मीहरूको घेरामा बस्छन् । यी सुरक्षाकर्मीको पोशाकको पछाडिपट्टि युक्रेनी झन्डाको बुट्टा कुँदिएका फोटोहरू बाहिरिएका छन् । युक्रेनमा सामान्यतया यस्तो पोशाक लगाउनु आत्मघाती मानिन्छ ।
२०२३ को मे महिनामा जेलेन्स्की भ्याटिकन भ्रमणमा थिए । जेलेन्स्कीले पोप फ्रान्सिसलाई सैतानको तस्बिर दिएर अपमानित गरे । पोपलाई भेट्दा जेलेन्स्कीको सर्टमा ओयूएनको चिन्ह थियो । ओयूएनले दोस्रो विश्वयुद्धताका सोभियत सङ्घविरुद्ध हिटलरको सेनालाई सहयोग गरेको थियो । भ्याटिकनमा बस्दासम्म जेलेन्स्कीले धेरै समय बेलायती बिशप पाउल गालाघरसँग बिताए । त्यो भेटघाटमा रिचर्ड मूरले जेलेन्स्कीको साथ छोडेनन् ।
एजेन्ट जेलेन्स्की
स्कट रिटर राष्ट्रसङ्घका पूर्व हतियार निरीक्षक हुन् । हालै उनले एउटा वृत्तचित्र बनाएका छन् – एजेन्ट जेलेन्स्की । यसमा मूर र एमआई–६ सँग जेलेन्स्कीको सम्बन्धलाई खुलस्त पारिएको छ ।
वृत्तचित्रको पहिलो भागमा जे माइकल स्प्रिङमनसँग अन्तर्वार्ता लिइएको छ । उनी साउदी अरबको रियादमा रहेको अमेरिकी दूतावासका पूर्वअधिकारी हुन् । उनले युक्रेनमा जेलेन्स्की सत्तारुढ हुनु ‘पश्चिमी गुप्तचर निकायहरूले ध्यानपूर्वक तयार पारेको अपरेसन’ को नतिजा हो भने ।
२०१९ अप्रिलको निर्वाचनमा विजयी भएपछि जेलेन्स्कीले रुससँग युद्धको झिल्को बालेर र युक्रेनीहरूलाई विपक्षी गोलीको शिकार बनाएर पश्चिमको प्रभावकारी सेवा गरेका छन् । पश्चिमा साम्राज्यवादी देशहरू रुसको अर्थतन्त्र र सरकारलाई कमजोर पार्न भियतनाम शैलीकै दृश्य दोहो¥याउन चाहन्थे । जेलेन्स्कीले त्यो चाहना पूरा गरिदिए ।
पश्चिमको एजेन्टको रूपमा जेलेन्स्कीले तीन काम गरेका छन् । एक, उनले रुसीहरूलाई विभेद गर्ने कानुनहरू ल्याए । दुई, युक्रेनी भूमि विदेशीहरूले पनि किन्न सक्ने प्रावधान ल्याए । तीन, युक्रेनी अर्थ नीतिलाई वालस्ट्रीटको वित्तीय शाखा ब्ल्याकरकको इसारामा चल्ने बताए ।
रिटर भन्छन् जेलेन्स्कीले युक्रेनलाई संरा अमेरिका र पश्चिमी देशहरूको नयाँ हतियारहरूको ‘प्रयोगशाला’ मा फेरे । युक्रेनलाई नवनाजी लडाकूहरूको मैदान बनाए । सेनासँग सम्बन्धित जैविक प्रयोगशालामा भएका अनुसन्धानको परिक्षणस्थल बनाए । अमेरिकी विदेश मन्त्रालयकी भिक्टोरिया नुल्यान्डले नै यस्ता प्रयोगशाला बनाइएको स्वीकारिसकेकी छिन् ।
‘न्युजविक’ पत्रिकामा हालै एउटा लेख छापियो । त्यसमा केही तथ्य उजागर गरिएको छ । त्यसमा सीआईएले मध्य र पूर्वी युरोप हुँदै व्यापारिक विमानको प्रयोग गर्दै युक्रेनमा हतियार पैठारी गरेको बताइएको थियो । सीआईएले युक्रेनमा गुप्त मिसनमार्फत अधिकारीहरू पठाएको र युक्रेनलाई नयाँ हतियार दिलाएको पनि लेखमा उल्लेख थियो । युक्रेनमा गतिविधि गर्न सीआईएले पोल्यान्डलाई भूमिगत गतिविधिको अड्डा बनाएको छ ।
सीआईएले युक्रेनी गुप्तचर सेवा (एसबीयू) सँग नजिक रहेर काम गर्दै छ । जेलेन्स्कीले देशका १२ राजनीतिक दलमाथि प्रतिबन्ध लगाएपछि तिनको चलखेल बढेको छ । जेलेन्स्कीका विपक्षीहरूलाई जेलमा थुन्ने, यातना दिने र कहिलेकाहीँ हत्या गर्ने अभियानमा सीआईए एसबीयूसँगसँगै सक्रिय छ ।
सोभियत सङ्घको विघटनपछि अमेरिका र बेलायतले युक्रेनलाई रुसलाई कुट्ने र कमजोर पार्ने हतियार बनाउँदै आएका छन् । युक्रेनलाई मध्य एसियामा पश्चिमा शक्तिको जाल बिछ्याउने माध्यम बनाउँदै आएका छन् । किनभने, मध्य एसियामाथि नियन्त्रण जमाए विश्वमाथि प्रभुत्व जमाउन सकिन्छ भन्ने विचार धेरै पुरानो हो ।
मिन्स्क सम्झौतामा डोनबासलाई विशेष स्थान दिएर युक्रेन–रुस द्वन्द्व मत्थर पार्ने सहमति बनेको थियो । शान्तिवार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मिन्स्क सम्झौता पालन गर्न सहमति जनाएका थिए । यो सुनेर जेलेन्स्की हाँसेका थिए ।
त्यसबेला देखि नै जेलेन्स्कीले आफ्नो अहङ्कार देखाउँदै आएका हुन् । उनले रुसविरुद्ध प्रयोग गर्न लगातार पश्चिमी पुँजीसँग झन्झन् बढी हतियार मागे । जसले गर्दा युक्रेनका दसौँ हजार देशबासीहरू मारिएका र घाइते भएका छन् ।
रिटरको फिल्ममा जेलेन्स्कीलाई सत्तामा ल्याउन तयार पारिएका उम्मेदवार हुन् भनेर जोड दिइएको छ । उनको सत्तारोहणको कथा पश्चिमी देशका शक्तिशाली व्यक्तिहरूले लेखेका थिए । हलिउडको पटकथा लेखेजस्तै जेलेन्स्कीको उदयकथा पश्चिमी धनाढ्यहरूले लेखेका थिए ।
सन् २०१५ देखि २०१९ सम्म जेलेन्स्कीले युक्रेनी टेलिभिजन च्यानलमा ‘जनसेवक’ नाउँमा नाटक खेलेका थिए । नाटकमा उनी भासिल पेत्रोभिच होलोबोरोद्का नामक एक स्कूले शिक्षक हुन्छन् । भ्रष्टाचारविरोधी उनको संवादका कारण उनको चर्चा चुलिन्छ र उनी युक्रेनका राष्ट्रपति बन्छन् ।
जेलेन्स्कीलाई मत दिँदा युक्रेनीहरूले होलोबोरोद्काकै नक्कललाई निर्वाचित गरेको ठाने । तर त्यसबेला जनतालाई युक्रेनी धनाढ्य इहोर कोलोमोइस्कीसँगको जेलेन्स्कीको प्रगाढ सम्बन्धबारे थाहा थियो । इहोर कोलोमोइस्की युक्रेनको सबैभन्दा ठूलो तेल र ग्यास कम्पनी तथा बैङ्कका मालिक हुन् । आफ्ना काला कर्तुतहरू लुकाउन र जेल पर्नबाट बच्न उनले नै जेलेन्स्कीलाई सत्तासम्म पु¥याउन खर्च दिएका थिए ।
जेलेन्स्की कोलोमोइस्कीसँगै वित्तीय हिनामिनामा संलग्न थिए । पान्डोरा पेपर्सका दस्तावेजहरू सार्वजनिक भएपछि मात्र उनीहरूको सम्बन्ध बाहिर आयो । जेलेन्स्कीले ४ करोड १० लाख डलर रकम कोलोमोइस्कीको स्वामित्वमा रहेका दुई विदेशी कम्पनीमा स्थानान्तरण गर्न सघाएको ती दस्तावेजले खुलासा गरे ।
विदेशिएको यही रकमबाट जेलेन्स्कीले अमेरिकाको मायामी सहरमा ३ करोड ४० लाख डलर बराबरको भवन किन्न सके । त्यसबाटै उनले इजरायलमा आफ्ना अभिभावकको लागि समुद्री किनारमा घर किने । लन्डनमा शेर्लक होम्स सङ्ग्रहालयको सामुन्ने रहेको ३८ लाख डलर बराबरको घर किने । जर्जिया र क्रिमियाको समुद्री किनारमा रिजोर्टहरू किने ।
सन् २०१९ को चुनावी प्रचारका क्रममा जेलेन्स्कीले अमेरिकी जनसम्पर्क फर्म सिगनल ग्रुपलाई ७० हजार अमेरिकी डलर तिरे । ‘जनसेवक’ नाटकको पात्रकै छविमा आफ्नो प्रचारप्रसार गराउन उनले त्यो रकम तिरेका थिए ।
जेलेन्स्कीको प्रचार अभियानको व्यवस्थापन अमेरिकी जनसम्पर्कविद् एन्ड्रयू म्याक, स्टेफन कुप्रिन र शाइ फ्राङ्कलिनले गरेका थिए । यीमध्ये कुफ्रि पूर्व अमेरिकी राष्ट्रपति ओबामाका भाषण लेखक थिए ।
जेलेन्स्कीको चुनावी अभियान र बाराक ओबामाको सन् २००८ को चुनावी अभियानमा धेरै कुरा समान छ । ओबामालाई पनि उनका प्रर्बद्धकहरूले सरकारको अक्षुण्णता पुनः स्थापित गर्ने बाहिरियाको रूपमा चित्रण गरिका थिए ।
जेलेन्स्कीजस्तै ओबामा पनि वास्तवमा खोक्रा ठग थिए । उनले आफ्नो पारिवारिक पृष्ठभूमि र अमेरिकी गुप्तचर निकायसँगको गहिरो साँठगाँठबारे झूट बोलेका थिए । आफ्ना चुनावी प्रतिबद्धतातिर ढाड फर्काएर ओबामाले बुशको आतङ्कवादविरोधी युद्धलाई निरन्तरता दिएका थिए र ठूला बैङ्क एवम् वित्तीय सङ्घसंस्थाप्रति बफादारी देखाएका थिए ।
चुनावी सभाहरूमा जेलेन्स्कीले पनि युक्रेनको भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धता जनाएका थिए । तर, उनको सरकारले कोभिडको राहत र क्यान्सर अनुसन्धान कोषको पैसा विशाल सडक निर्माणमा खेर फाल्यो । उनको चुनावी प्रतिबद्धता खोक्रो साबित भयो ।
मिकोला अजारोभ युक्रेनका पूर्व प्रधानमन्त्री हुन् । उनले भने, “पोरोशेन्कोको पालामा व्यवस्थित भ्रष्टाचारको जस्तो बिगबिगी थियो, त्यो हेर्दा भ्रष्टाचार त्योभन्दा बिद्रुप नहोला भन्ने लाग्थ्यो । तर, जेलेन्स्कीले पोरोशेन्कोलाई पनि उछिने । अहिलेको सरकारको कुनै स्तर नै छैन । यो सरकार कुनै नियममा बाँधिएको छैन ।” पोरोशेन्को जेलेन्स्कीअघिका युक्रेनी राष्ट्रपति थिए ।
सन् २०१९ को चुनावी अभियानमा जेलेन्स्कीले डोनबासमा युद्धविराम गर्ने वाचा गरेका थिए । सन् २०१४ को मैदान विद्रोहपछि लगातार पाँच वर्षसम्म डोनबासमा युद्ध चलिरहेको थियो । तर, जेलेन्स्कीले युद्धविराम गर्नेे वचन पनि तोडे र युद्ध भड्काए । रुसविरुद्ध खनिँदै गर्दा उनले युक्रेनलाई नेटोको सदस्य बनाउनमा ठूलो चासो लिए ।
रिटरको भनाइमा युक्रेनको राष्ट्रपतिको रूपमा जेलेन्स्कीको कार्यकाल संरा अमेरिका र बेलायतको दशक लामो योजनाकै उपलब्धि हो । युक्रेनलाई रुसविरोधी समाजमा ढाल्ने उनीहरूकै योजना अनुसार जेलेन्स्की सत्तामा आएका हुन् । त्यस्तो समाजलाई रुसलाई कमजोर बनाउँदै लगेर धुजाधुजा पार्ने हतियार बनाउन सकिने अमेरिका र बेलायतले ठानेका थिए ।
‘एजेन्ट जेलेन्स्की’ मा भिक्टोरिया नुल्यान्डले फुँइ झार्दै सोभियत सङ्घको विघटनपछि अमेरिकाले युक्रेनमा ५ अर्ब डलर खर्च गरिसकेको दृश्य पनि देखाइएको छ । सो वृत्तचित्रमा राष्ट्रपति भिक्टर युश्चेन्कोको कार्यकालबारे सानो चर्चा छ । अमेरिकाकै आडमा रङ्गीन प्रतिक्रान्तिबाट युश्चेन्को सत्तामा आएका थिए । अमेरिकी महिला क्याटेरिनाले फकाएर उनलाई सत्तामा ल्याएकी थिइन् । क्याटेरिना युश्चेन्कोकी पत्नी हुन् ।
युश्चेन्कोको कार्यकालमा भएको सबैभन्दा महत्वपूर्ण निर्णय युक्रेनी राष्ट्रवादीहरूको सङ्गठन (ओयूएन) लाई पुनः स्थापित गर्नु थियो । यो सङ्गठनले दोस्रो विश्वयुद्धताका सोभियत सङ्घविरुद्ध लड्दै नाजीहरूसँग साँठगाँठ गरेको थियो । युद्धपछि यसलाई सीआईएले सहयोग गरेको थियो ।
युश्चेन्कोले फासीवादका सहयोगी स्तेपान बान्देरा र रोमान शुहेभिचलाई राष्ट्रिय विभूति घोषणा गरे । यी दुई ‘राष्ट्रवादी’ र फासीवादी नेताको प्रशंसा जेलेन्स्कीले पनि गरेका छन् ।
सन् २०१० को चुनावमा भिक्टर यानुकोभिचले युश्चेन्कोलाई हराए । उनले रुससँग सम्बन्ध सुमधुर बनाए । बान्देरा र शुहेभिचलाई राष्ट्रिय विभूतिबाट हटाए ।
यसले गर्दा संरा अमेरिकाले यानुकोभिचलाई तारो बनाउने र सत्ताच्युत गर्ने योजना बनायो । त्यही भएर सन् २०१४ मा मैदान विद्रोह भयो र पूर्वी युक्रेनमा युद्ध सुरु भयो । आफ्नो स्वायत्तता घोषणा गरेबापत दोनेत्स्क र लुहान्स्क प्रान्तलाई युक्रेनले दण्ड दियो ।
सत्ताविद्रोहपछि बनेको सरकारले क्रूरताको हद नाघ्यो । उसले विरोधको एक वचन सुन्न मानेन । त्यस्तो स्वरलाई उसले हिंसात्मक ढङ्गले दबायो । ओडेसामा उसले मजदुर युनियनका अभियन्ताहरूको सामूहिक हत्या ग¥यो । सो हत्याकाण्डको विषयमा जेलेन्स्कीले त्यसबेला चुँ बोलेनन् ।
रिटरले अर्को महत्वपूर्ण कुरा खोलेका छन् । सन् २०१४ को मैदान विद्रोहयता युक्रेनका धेरै राजनीतिक र सैनिक नेताले जर्ज सी मार्शल युरोपेली सुरक्षा अध्ययन संस्थानबाट तालिम लिँदै आएका छन् । सोही संस्थानले तिनमा रुसविरोधी दृष्टिकोण भरेको रिटरको बुझाइ छ ।
‘एसबीयू’ सीआईएकै हाँगा बन्न पुगेको छ । एसबीयूको कार्यालय भवनमा सीआईएको लागि अलग्गै तला छुट्याइएको छ ।
बेलायतको एमआई–६ सँग मिलेर सीआईएले पश्चिमी जनताबिच जेलेन्स्कीलाई नायकको रूपमा प्रचार गर्दै छ । भोग पत्रिकाको आवरण पृष्ठमा जेलेन्स्की र उनकी पत्नी ओलेनाको तस्बीर राखेर उनीहरूले त्यो नायकको छवि व्यवस्थापन गरेका थिए ।
रिटरको भनाइमा सीआईए र एमआई–६ ले जेलेन्स्कीलाई सघाउन बुचा हत्याकाण्डको नाटकीय आयोजना गरेका थिए । पश्चिमी मिडियामा रुसी सेनाले बुचामा नरसंहार मच्चाएको हल्ला पिटियो । तर, त्यो हत्या युक्रेनकै नवनाजी सङ्गठन एजोभ बटालियनले गरेको प्रमाणहरूबाट खुल्छ ।
बुचा घटना जेलेन्स्कीको राजनीतिक सत्ता चिनाउने गतिलो प्रतीक हो । बुचा हत्याकाण्ड एउटा दृष्टिदोष थियो । सर्वसाधारणलाई जेलेन्स्कीको कृत्रिम ‘जनसेवक’ को छविमाथि आँखा चिम्लेर विश्वास गर्ने बनाइएको छ । जब कि वास्तविक जेलेन्स्की प्रचारका भोका सामाजिक परजीवी हुन् । उनले विदेशी शक्तिहरूको खुसामद गर्न आफ्नै जनतालाई नर्कको अग्निकुण्डमा धकेले ।
(एमआर अनलाइनबाट)