भारतले नेपाली भूमि समेटेको नक्सा संसद भवनमा राखेको बिषयमा अध्यक्ष माधवकुमार नेपाल मौन बसेपछि नेकपा एसमा भारतको बिषयलाई लिएर बिवाद भएको छ । राष्ट्रियता जस्तो संवेदनशील बिषयमा अध्यक्षबाटै धारणा आउनुपर्ने अडानमा रहनुभएका खनाल माधव केही नबोल्ने भनेपछि आज बिदेश बिभागको प्रमुखको हैसियतले आफै बिज्ञप्ती निकालेर बिरोध जनाउनु भएको छ ।
आफ्नै पार्टी सहभागी सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणका लागि दिल्ली पुगेलगत्तै खनालले बिज्ञीप्ती जारी गरी नक्साको बिषयमा कडा आपत्ति जनाउनु भएको छ । खनालले भारतको नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद भवनमा अखण्ड भारतको नक्सामा नेपालको भूभाग लुम्बिनी र कपिलवस्तु पनि समेट्नु आपत्तिजनक रहेको बताउनु भएको हो ।
विश्वको साझा संस्था संयुक्त राष्ट्रसंघको अभिलेखमा कुनै अखण्ड भारत नामको देश वा परिचित भूभाग नभएको पनि खनालले उल्लेख गर्नुभएको छ । ‘यतिबेला भारत सरकारले आफ्नो नयाँ संसद भवनमा कथित अखण्ड भारतको जुन नक्सा अंकित गरेको छ । त्यसमा हाम्रो देशको लुम्बिनी, कपिलवस्तु लगायतका क्षेत्रलाई पनि जबरजस्त उक्त नक्सा भित्र पारिएको छ। यो भारतीय सरकारको अनाधिकृत कार्य हो,’ खनालले भन्नुभएको छ ।
भारतको यो कदमले नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानमा गम्भीर चोट पुर्याएको उल्लेख गर्दै भारतीय सरकारबाट घोर अपमान महसुस गरेका खनालको ठहर छ । ‘भारतको यो कदमले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुले पालना गर्नुपर्ने न्युनतम मर्तलाई समेत उल्लंघन गरेको र कुटनीतिक अपमान भएको महसुस हामि नेपालिहरुले गरेका छौं । त्यसकारण हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी भारत सरकारसंग आग्रह गर्दछ कि उक्त नक्सालाई अविलम्ब सच्चाईयोस,’ खनालले बिज्ञप्तीमा भन्नुभएको छ ।
उहाँले लुम्बिनी र कपिलवस्तु मात्र नभै सुगौली सन्धिले कायम गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता, लगायतका सम्पूर्ण नेपाली भू–भागमाथिको कुनै पनि हस्तक्षेप वा दाबी बन्द गरी नेपालको राष्ट्रियता, राष्ट्रिय अस्मिता र अस्तित्व स्वीकार गर्न समेत सचेत गराउनु भएको छ ।
बिज्ञप्तिको पूर्णपाठ
प्रेस विज्ञप्ति !
२ मई २०२३ मा भारतको नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा राख्ने नाउँमा लुम्बिनी र कपिलवस्तु जस्ता नेपालका अभिन्न भु-भागहरुलाई समेत भारतीय नक्सामा समेटिएको घटनाले हामी सम्पुर्ण देशभक्त नेपालीहरुको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ ।
यतिवेला हाम्रो दक्षिण एसिया क्षेत्रमा नेपाल, भुटान, बंगलादेश, बर्मा, श्रीलङ्का, माल्दीभ्स, पाकिस्तान र भारत लगायतका ८ वटा स्वतन्त्र मुलुकहरु छन् । यी देशहरु संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरु पनि हुन । वर्तमान दक्षिण एसियाको यथार्थ यही हो । विश्वको साझा संस्था संयुक्त राष्ट्रसंघको अभिलेख तथा हामी सबैको दृश्यमा कुनै अखण्ड भारत नामको देश वा परिचित भूभाग देख्दैनौ । यस्तो नामको भु-अस्तित्व इतिहासको कुनै कालखण्डमा पनि रहेको अभिलेख छैन ।
दक्षिण एसियामा ४०० वर्ष भन्दा लामो समय ब्रिटिस साम्राज्यवादको औपनिवेशिक तथा दासतापूर्ण शासन रह्यो । त्यो कालखण्ड अघि आजको दक्षिण एसियामा सयौं स्वतन्त्र सामन्ती राज्यहरु थिए । दक्षिण एसियाका अधिकास राज्यहरू त्यसरी ब्रिटिस साम्रज्यवादको कब्जामा हुँदा पनि नेपालीहरुको मातृभूमि नेपाल एउटा स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुकका रुपमा थियो । अझ त्यस बेला नेपाल टिस्टादेखि सतजल नदिसम्म फैलिएको अभिलेख ग्रेटर नेपालको रुपमा इतिहासको अभिलेखमा छँदैछ ।
यो विशाल नेपाल माथि ब्रिटिस साम्राज्यवादले आक्रमण गर्दा हाम्रा वीर पुर्खाहरुले २ वर्ष सम्म कठोर सशस्त्र प्रतिरोध संघर्ष गरेर यो मुलुकको स्वतन्त्रतालाई रक्षा गरेको हो । सारा दक्षिण एसीयालाई कब्जा गर्ने साम्राज्यवादीहरु त्यसवेला नेपाल सँग सुगौली सन्धि गर्न बाध्य भए । त्यो सुगौली सन्धिले कायम गरिएको सिमा नै हाम्रो नेपालको सीमाना हो । यो सिमाना भित्र हुने कुनै पनि अतिक्रमण नेपाली मात्रलाई सहन हुन सक्दैन ।
यतिवेला भारत सरकारले आफ्नो नयाँ संसद भवनमा कथित अखण्ड भारतको जुन नक्सा अंकित गरेको छ । त्यसमा हाम्रो देशको लुम्बिनी, कपिलवस्तु लगायतका क्षेत्रलाई पनि जबरजस्त उक्त नक्सा भित्र पारिएको छ। यो भारतीय सरकारको अनाधिकृत कार्य हो । भारतको यो कदमले सम्पूर्ण नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानमा गम्भिर चोट पुयाएको छ र समस्त नेपालीले भारतीय सरकारवाट घोर अपमान महसुस गरेका छन् । भारतको यो कदमले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुले पालना गर्नुपर्ने न्युनतम मर्तलाई समेत उल्लंघन गरेको र कुटनीतिक अपमान भएको महसुस हामि नेपालिहरुले गरेका छौं । त्यसकारण हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी भारत सरकारसंग आग्रह गर्दछ कि उक्त नक्सालाई अविलम्ब सच्चाईयोस् ।
लुम्बिनी र कपिलवस्तु मात्र नभै सुगौली सन्धिले कायम गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता, लगायतका सम्पूर्ण नेपाली भू-भागमाथिको कुनै पनि हस्तक्षेप वा दाबी बन्द गरी नेपालको राष्ट्रियता, राष्ट्रिय अस्मिता र अस्तित्व स्वीकार गर्न सचेत गराउदछौं । नेपाल माथि नै रहेका सबै प्रकारका अतिक्रमणहरुलाई बन्द गर्न समेत आग्रह गर्दै दुई देशका जनता बीचमा सदियौं देखि रहेको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ धरातलमा उभ्याई बहुआयामिक सहयोगका प्रकृयालाई अझ गहिरो र व्यापक बनाउने वातावरण निर्माण गर्न आग्रह गर्दछौं।
साथै, उपरोक्त आपतिजनक नक्सा लगायतका विषयमा अविलम्ब भारत सरकारसँग उच्चस्तरीय राजनीतिक वार्ता गरियोस् र उक्त नक्सालाई सच्याउन तथा नेपालका राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमान र राष्ट्रियतालाई अक्षुण्ण राख्ने कर्तव्य पालनामा सचेत रहन हामी नेपाल सरकारलाई आग्रह गर्दछौं ।
मिति २०८० जेठ १७
झलनाथ खनाल