समाचार प्रभावः बालक मंगलवहादुरको उपचारका लागि रिलिफ नेपालले गर्यो सहयोग, आजै काठमाडौ स्थित ट्रमा सेन्टरमा पठाइयो !

सिन्धुलीः रकम अभावमा भाँचिएको गोडाको अपरेशन गर्न नसकेका १३ वर्षिय मंगलवहादुर मगरको रकम संकलन हुन थालेको छ । प्रदेशखबर दैनिकले गएको शनिवार अस्पतालमा ‘आक्रमणका दिन सिन्धुली अस्पतालबाट डिस्चार्ज गरिएका १३ वर्षिय बालक मंगलवहादुरको रकम अभावमा भएन गोडाको अपरेशन’ शिर्षकमा प्रमुखताका साथ समाचार प्रकाशन गरेपछि वालवालिकाको क्षेत्रमा कार्यरत गैर सरकारी संस्था रिलिफ नेपालले आज उनको अभिभावकलाई भेटेर २० हजार नगद हस्तान्तरण गरेको हो ।
वालकको उपचारमा समस्या भएको बिबरणहरु सार्वजनिक भएपछि हामीले उनको जीवन रक्षाका लागि सहयोग गरेका हौं, रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले प्रदेशखबरसँग भने ।
माझीटार स्थित वालकलाई राखिएको आफन्तजनको घरमा पुगेर अध्यक्ष पौडेलसहितको टोलीले वालकका आमा गिता मगर (४०) लाई २० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । आजै वालक मंगलवहादुरलाई थप उपचारका लागि राजधानी काठमाण्डौ स्थित ट्रमा सेन्टरमा पठाइएको अध्यक्ष पौडेलले जानकारी दिए ।
आफ्नो छोराको उपचारका लागि ओछ्यानमैं आएर रकम सहयोग गरेकोमा गिताले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

No description available.
वालक मंगलवहादुरलाई थप उपचारका लागि आजै काठमाडौ स्थित ट्रमा सेन्टरमा पठाइयो । फोटोः प्रदेशखबर

मानवअधिकार एलायन्स सिन्धुलीका अध्यक्षसमेत रहेका पौडेलले वल्र्ड भिजन इन्टरनेशनलसँग समन्वय गरेर वालकलाई थप सहयोग गर्न सकिन्छ कि भन्ने विषयमा छलफल अगाडि बढाएको उनले बताए ।
त्यसैगरी तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापा मगरले वालक मंगलवहादुरको उपचारमा आफुले १५ हजार रुपैयाँ सहयोग गर्ने बताएका छन् । उनले वालकको जीवन रक्षाका लागि आफुले सहयोग गर्न लागेको बताए ।
यता सिन्धुली अस्पताल प्रशासनलेभने वालकको अपरेशन गर्न असक्षम रहेको बताएको छ । अपरेशनमा प्रयोग गर्ने इन्जेक्सन लगाउने डाक्टर छैनन् र त्यसमा पनि अस्पताल तोडफोड भएपनि अपरेशन कक्षानैं बनाउन सकिएको छैन, सिन्धुली अस्पतालका ती अधिकारीले भने ।

No description available.


यता सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले भने डिस्चार्ज गरिएका वालकको उपचार सिन्धुली अस्पतालकै डाक्टरहरुले गर्न दबाब दिन थालेका छन् । सन्देश जनप्रिय साप्ताहिकको अनलाईन संस्करण प्रदेशखबरले मंगलवहादुरका विषयमा समाचार प्रकाशन गरेपछि त्यसले सामाजिक सञ्जालमा चर्चा पाएको थियो ।
गएको जेठ ४ गते बायाँ गोडा भाँचिएपछि उपचारका लागि भर्ना भएका तीनपाटन गाउँपालिका वडा नं. ८ महभीर निवासी मंगलवहादुर अहिले कमलामाई ६ माझीटारमा बसेर डाक्टरले अपरेशन गरिदिन्छन् भनेर पर्खिरहेका छन् । उनको गोडाको अपरेशनपछि स्टिल राख्नु पर्छ भनेर सिन्धुली अस्पतालका डाक्टर सविर खड्काले लेखेका छन् तर उनको अपरेशनको अहिलेसम्म कुनै अत्तो पत्तो छैन । कक्षाः ५ मा पढ्दै गरेका उनी माझीटारमा आफन्तजनको घरमा भेटिएका थिए ।