जनस्तरमा कम्युनिष्ट पार्टी र नेताहरु अलोकप्रिय बनिरहेकाछन्: अध्यक्ष बज्रध्वज वाइवा

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले पालिकाको विकास र समृद्धिका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

मंगलवार साँझ सन्देश जनप्रियसँगको लामो कुराकानीका क्रममा अध्यक्ष वाइवाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारको क्षेत्रमा गाउँपालिकामा उल्लेख्य कामहरु गर्न बाँकी रहेको बताउँदै पालिकाको विकास र समृद्धिको बहुआयामिक योजनाहरु आफुले सञ्चालन गर्न चाहेको र त्यसका लागि मुलुकमा देखिएको आर्थिक मन्दीले असर गरिरहेको बताएका हुन् ।
गाउँपालिकाको अध्यक्ष बनेपछि जनताको जीवनस्तर माथि उकास्नका लागि विभिन्न योजनाहरु सञ्चालन गर्ने सपना देखेको थिएँ, ती कुराहरु मैंले निर्वाचनका बेला जनताको दैलोमा गएर पनि बताएँ, अहिले म त्यसलाई कार्यान्वयन गराउने चरणमा छु, सबैको साथ र सहयोग पाएँ भने म ती सबैकुराहरु पुरा गराउने छु, उनले मुस्कुराउँदै भने ।
मुलुकमा जारी आर्थिक मन्दीका कारणले मेरो योजनामा ठेस पु¥याउने हो कि भन्ने चिन्ता लागिरहेको छ, त्यसैले ती विकासका सपनाहरु पुरा गराउन संघ र प्रदेश मन्त्रालयमा जाने र घचघच्याउने काम भइरहेको उनको भनाई छ । शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारका कामहरु अगाडि बढिरहेको र चालु आर्थिक वर्षमा राखिएका योजनाहरु मध्ये ८० प्रतिशत काम सम्पन्न भइसकेको अबस्थामा सानातिना कामहरुमा आफ्नो समय नखर्चिने उनको भनाई थियो ।
मैंले विकास खायो, योजनामा कमिशन माग्यो भनेर अन्यत्र जस्तो कहिल्यै सुन्न पाउनु हुने छैन, अध्यक्ष वाइवाले निर्धक्कसँग भने । सञ्चालित योजनाहरुलाई इमान्दारिताका साथ कार्यान्वयनमा लैजाने हो भने धेरै राम्रो काम हुने बताउँदै उनले अहिलेको सत्ता राजनीतिले विकासमा समेत नराम्रो प्रभाव परिरहेको टिप्पणी गरे ।
बिकृत सत्ता राजनीतिले जनतामा आक्रोस बढीरहेको निश्कर्षमा पुगेका उनले अहिलेको मौजुदा राजनैतिक दलबाट जनअपेक्षा अनुसार काम हुन नसक्ने ठोकुवासमेत गरे । यो पाँच वर्ष त किचलोमानैं बित्नेभयो, त्यो किचलोले विकास निर्माणमा कामहरु समेत प्रभावित बन्ने बताउँदै अध्यक्ष वाइवाले सबैको सामूहिक प्रयासबाट मात्रै विकास र समृद्धि सम्भव हुने बताए ।
‘म कम्युनिष्ट पार्टीमा लाग्दा र बुझ्दा निकै राम्रो लाग्थ्यो, नेताहरु प्रति श्रद्धा जाग्थ्यो, तर अहिलेको कम्युनिष्ट पार्टीहरु देख्दा पिडा हुन्छ ।’ अध्यक्ष वाइवाले आफ्नो अनुभूति यसरी सुनाए । त्यस बेलाका कम्युनिष्ट नेता र कार्यकर्तामा आकाश धर्तीको फरक छ, त्यही कारणले पनि जनस्तरमा कम्युनिष्ट पार्टी र नेताहरु अलोकप्रिय बनिरहेकाछन् ।
कम्युनिष्टहरु आशावादी हुन्छन् त भनिन्छ तर अहिलेको देश र कम्युनिष्ट पार्टी र नेताहरुको गतिविधी हेर्दा त आशावादी होइन, चरम निराशा मात्रै बढाउने गरिरहेको छ । यसो भन्दैमा हामीले आलोचना होइन, सकारात्म कामहरु अगाडि बढाउनु पर्छ र जनतामा चुलिएको निराशालाई कम गराउने प्रयत्न गर्नुपर्छ उनले देशको राजनैतिक अबस्थालाई यसरी टिप्पणी गरेका थिए ।
उनले अगाडि भनेः विकास एकै पटक आउने कुरा होइन, क्रमश आउने गर्छ, तर त्यसका लागि राजनैतिक पूर्वाग्रह बिना सबैको हातेमालो भयो भने हामीले पछाडि परेको गाउँपालिकालाई सिन्धुलीकै नमुना पालिका बनाउन सक्छौं ।