सिन्धुली/कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पद कांग्रेसले लिने र जितेर देखाउने ठोकुवा गरेका छन् । सहिद सम्मान तथा प्रशिक्षण कार्यक्रममा कोइरालाले राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्ने पक्षमा आफू नरहेको बताए ।
राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्ने होइन । चुनावमा गएर लिने र जितेर देखाउने हो, उनले भनेः नेपाली कांग्रेसको उम्मेदवार हुन्छ र जित्छ । यसमा म ढुक्क छु । नेपाली कांग्रेसले पाउने हैन, लिने हो ।
नेता कोइरालाले गाउँ र जिल्ला तहमा भएको गुटगत राजनीतिले कांग्रेस कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए । शेरबहादुरजी पार्टी सभापति हुनुहुन्छ । हामीमा केही कुरा चित्त नबुझे खुलस्त भन्छौं । हामीमा समस्या छैन । हामी मिलेकै छौं । तर तल्लो निकायमा यो यसको मान्छे, यो त्यसको मान्छे । यस्तो पनि कहिं हुन्छ ? के म कांग्रेस होइन् ? उनले नेपाली कांग्रेस क्षेत्रीय समितिद्धारा आयोजित कार्यक्रममा भने ।
पार्टी सभापति शेरवहादुर देउवा तर्फ लक्षितगर्दे उनले आफ्नै पार्टीका साथीहरुसँग खुलस्त कुरा पार्टीभित्र राख्न छाडेर फरक दलहरुसँग सहकार्य गर्दै हिंड्नु घातक हुने बताए । कोही एमालेसँग नजिक हुने, कोही माओवादीसँग, मधेसमा गयो उतैको दलसँग तर आफ्नै साथीसँग पानी बाराबारको अवस्था हुँदै आएको बताउँदै यसले कांग्रेसलाई घाटा पुर्याएको खुलासा गरे । पार्टीमा नेताले गल्ती गर्दा समेत नेता कार्यकर्ताहरु खबरदारी गर्नुको साटो मौन बस्नु थप घातक हुने कोइरालाको भनाइ थियो ।
कार्यक्रममा योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले आगामी पुस्तालाई स्वाभिमानी नेपाली भएर बाँच्नसक्ने बनाउन राजनीतिबाट हरेक नागरिकले अपेक्षा राखेको बताए । अर्थशास्त्री डा. स्वणर्िम वाग्लेले लोकतन्त्रको सुद्धिकरण नैं नयाँ कांग्रेस र नयाँ नेपालको प्रस्थानविन्दु रहेको बताए ।










