सिन्धुलीमा मोटर साइकल चोरीमा संलग्नलाई सेटिङमा छुटाउने प्रयास, यस्तो छ गोप्य तयारी !

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मोटरसाइकल चोरीमा संलग्न भएकाहरुलाई बिहिवार सिन्धुली जिल्ला अदालतमा बुझाउने भएको छ । सन्देश जनप्रियलाई प्राप्त विवरण अनुसार आइतवार प्रहरीले अदालतमा फाइल बुझाएसँगै मोटर साइकल चोरीमा संलग्न पाँचै जनालाई छुटाउनेगरी जिल्ला न्यायाधिवक्ता र वकिलहरुका बीचमा मंगलवार र बुधवार कुराकानी भएको स्रोतले बताएको छ । बुधवार जिल्ला न्यायाधिवक्ता र ती वकिल बीच तीन जनालाई साधारण तारेखमा छोड्ने र बाँकी २ जनालाई धरौटीमा छोड्नेगरी मंगलवारसाँझ सिन्धुलीको एक होटलमा आन्तरिक तयारी गर्नेसम्मको छलफल भएको थाहा लागेको छ ।
पछिल्लो समय सिन्धुलीमा न्याय किनबेच हुन थालेको आरोप लागिरहेका बेला बिहिवार अदालतमा पठाइन लागिएको मोटरसाइकल चोरीमा संलग्न भएका भनिएकाहरुलाई उन्मुक्ति दिने प्रयास हुन लागेको छ ।
दुई साता अघि सिन्धुली प्रहरीले चोरीमा संलग्न भएकाहरुलाई मोटरसाइकलसहित सार्वजनिक गरेको थियो । प्रहरीले सार्वजनिक गरेका व्यक्तिहरुमा तिनपाटन ६ का निवासी समीर काफ्ले, मानबहादुर खपांगी, तिनपाटन ४ का घनश्याम भुजेल, सन्तोष बाराकोटी, जीवन रमौली रहेको सिन्धुली प्रहरीले सार्वजनिक गरेको बिबरणमा उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार समीर काफ्लेको घरबाट प्रदेश ३–०२–००४ प ६५०३ नम्बर भएको १५० सिसी पल्सर, मोटरसाइकल, घनश्याम भुजेलको घरमाबाट प्रदेश २–०२–००३ प ३१५२ नम्बर भएको अपाचे मोटरसाइकल, मानबहादुर खपांगीको घरबाट बा ५६ प ०५८४ नम्बर भएको २२० सिसी पल्सर मोटरसाइकल, सन्तोष बाराकोटीको घरबाट बा ९१ प ५७४६ नम्बर भएको १५० सिसी पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले सार्वजनिक गरेको थियो । स्मरणीय छ, प्रहरीले हदैसम्मको कानूनी कारबाहीको माग दावीसहित अदालतमा बुझाएका सरकारवादी मुद्धाहरु सेटिंगमा कमजोर बनाउने काम विगतमा पनि भएको आरोप लाग्दै आएको छ ।