सत्ता राजनीतिमा मडारिएको कालो वादल !

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता राजनीतिमा फेरी किचलो र तिकडमको अबस्था सिर्जना हुने भएको छ । दुई छिमेकीहरु चाइना र भारतको स्वार्थमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डमाथि आज गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा भएको फैसलाले अब सरकार ढल्ने त होइन भन्ने तहसम्म आशंका उब्जाएको छ ।
सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रका बीचमा राष्ट्रपति एमालेलाई दिने सहमति निकै उछालिएका बेला लामिछानेको गहृमन्त्री र सांसद पदनैं समाप्त भएपछि बर्तमान सत्ता समिकरणनैं संकटनमा पर्न लागेको त होइन भन्ने गंभीर प्रश्न पनि उठाएको छ । केही थिङ्क ट्याङकहरुले नेपाली सत्ता राजनीतिमा पश्चिमा प्रभाव कमजोर बनेको र भारतीयहरु हाबी भएको अर्थका रुपमा टिप्पणी गरेकाछन् । माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले भावी राष्ट्रपति डा. बाबुराम भट्टराईलाई बनाउने प्रस्ताव राखेको तथ्य खुलेका बेला शुक्रवारको लमिछाने विरुद्धको फैसला संयोग मात्रै मान्न नसकिने विश्लेषण गर्न थालिएको छ ।
भारतीय संस्थापन पक्षको ग्रिन सिग्नल पाएपछि एमाले अध्यक्ष ओलीको बुई चढेर प्रधानमन्त्री भएका प्रचण्डको साथमा भारत डा. बाबुरामलाई राष्ट्रपति बनाएर नेपाली सत्तामा आफ्नो बलियो पकड कायम राख्न चाहान्छ, आज अदालतबाट भएको फैसलालाई त्यसैको रिहल्र्सनका रुपमा विश्लेषण गरिएको हो । यद्यपी एमाले नेतृत्व अझैं पनि प्रचण्डले आफुसँग भएको सहमति कार्यान्वयन गर्छन् भन्नेमा विश्वस्त छ , तर पछिल्लो राजनैतिक घटनाक्रमले त्यसतर्फ संकेत गरिरहेको छैन, बरु नेपाली सत्ता राजनीतिमा गन्तव्यहिन कालो बादल मडारिईरहेको छ ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २९ गते सकिँदैछ । संवैधानिक राष्ट्रपति भएपनि विभिन्न राजनीतिक परिघटनामा भूमिका निर्णायक हुने र विगतमा राष्ट्रपतिकै कारण सरकार अफ्ठ्यारोमा पर्ने गरेकाले यो पदलाईएमालेले मात्रै होइन कांग्रेसले हत्याउन खोजेको हो तर उसले सहजै हत्याउन सक्ने अबस्था नरहेमा उसको विकल्प पनि बाबुरामनैं बन्ने देखिन्छ । किनकी अहिलेको एमाले माओवादी समिकरण भत्काएर काग्रेसको सत्तारोहणको यात्रा प्रारंभ गर्नुपर्ने दबाब देउवामा बढिरहेको छ ।
पुस ३० विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग भेटघाटको क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा सहमति भइनसकेको बताएका थिए । यसआधारमा एमाले–माओवादी केन्द्रसहितको सत्ता साझेदार दलमा ठोस सहमति नजुटेको र दलहरु आ–आफ्नो पक्षमा लबिङमै रहेको प्रष्ट हुन्छ ।
गत पुस २६ गते प्रचण्डले विश्वासको मत लिइसकेपछि काँग्रेसको पनि चुरीफुरी बढेको छ । विश्वासको मत दिएको बदलामा राष्ट्रपति पाउने विश्वासमा रहेको कांग्रेस प्रचण्डको सकारात्मक जवाफको प्रतिक्षामा देखिन्छ । विगतमा संविधानको रक्षाका नाममा केपी ओलीका विरुद्ध एकै ठाउँमा उभिएको कांग्र्रेस र माओवादी संविधानको रक्षाका लागि भन्दै राष्ट्रपति पदमा आफ्नो दाबी गरिरहनुलाई दुवै दलको कुरा मिलेको छ । त्यही बिन्दुमा दुवै दलको सहमति हुने हो कि भन्ने अपेक्षा काँग्रेसले गरिरहेको देखिन्छ ।
एमालेले संसद विघटनको कुरा पटक पटक उठाएको उल्लेख गर्दै डा. रामशरण महतले संविधानको रक्षाका लागि सो पदमा कस्तो व्यक्ति उपयुक्त हुन्छ भन्ने बारेमा विभिन्न दलसँग छलफल भइरहेको एमाले अध्यक्ष ओलीले पुस २६ गते संसद भवनमा कांग्रेसले ढोक्सा थापेको र त्यो कदापी पुरा नहुने बताएका थिए ।
राष्ट्रपति पदका लागि तानातान हुँदा माओवादी केन्द्र निर्णायक तहमा देखिएको छ । माओवादी केन्द्रले गडबड गरेर सत्ता साझेदारबाट फुत्किने गरी निर्णय लिएको खण्डमा कांग्रेसका लागि राहत मिल्नेछ । अन्यथा, कांग्रेसका लागि सो पद ओलीले भनेजस्तै ढोक्सा बन्ने निश्चित छ ।
यस बीचमा माओवादी केन्द्र र कांग्रेस शीर्ष नेताहरु बीचमा अनौपचारिक छलफल भएकाले पनि एमालेलाई झस्काएको छ । नेपाल समाजवादी पार्टी र नेकपा समाजवादीसँग पार्टी एकताका लागि प्रक्रिया अगाडि बढाएको माओवादीले केही दिनभित्रै भट्टराई नेतृत्वको नेसपा र माओवादी केन्द्र बीचमा पार्टी एकता गराउन सहमतछन् । नेकपा समाजवादी केन्द्र नाम राखेर पार्टी एकता गर्दा माधव नेपाल नेतृत्वको नेकपा एसपनि समेटिने भएकाले प्रचण्ड दुबै दललाई मिसाएर आफु बलियो बन्ने र त्यस्तै अबस्था आएमा एमालेसँगको सत्ता साझेदारी तोड्ने मार्गमा पनि जानसक्ने आँकलन गर्न सकिन्छ । किनकी सँधैभरी सत्ताको वरिरपरिमात्रै रहने प्रचण्डले आफ्नो ५ वर्षे सत्तायात्रालाई निरन्तरता दिने दर्बिलो प्रतिवद्धता नेपाली कांग्रेसबाट खोजिरहेको हुनुपर्छ । यदी त्यस्तो प्रतिवद्धता आएमा प्रचण्डले सहजै ओलीको साथ त्याग्न सक्छन् भन्ने उनको विगतका आचारणबाट प्रष्ट देखिन्छ तर उनलाई यतिबेला एउटै डर कायमछ त्यो भनेको पार्टीका दोस्रो बरियाका अधिकांश नेताहरु एमालेसँगको सहकार्य तोड्न नहुने र पार्टी एकताको प्रक्रियाबाट अगाडि बढ्नुपर्छ भन्ने कुरामा रहेकाले पनि प्रचण्ड यात्रा सहज भने देखिंदैन । किनकी प्रचण्डले र एमालेसँगको गठबन्धन तोडे एमाओवादी पार्टीनैं टुक्रिने डरपनि एकैसाथ आउने देखिन्छ । यो सामाग्री आजको प्रभात समाचार दैनिकले प्रकाशन गरेको छ ।