जननेता स्वर्गीय मदनकुमार भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलिय जनबादको मुल मर्म, भनेकै प्रजातान्त्रिक तरिका वा निर्वाचनका माध्यमबाट राज्य सत्ता प्राप्त गरि, समाजको क्रान्तिकारी रुपान्तरण (आर्थिक र सामाजिक बिकास) हो । यसका चौधवटा थप बिशेषता सहिको प्रणालीका आधारमा आज हाम्रो देश नेपाल अघि बढिरहेको छ । कम्युनिष्ट पार्टीहरुले अनेक सिद्धान्तका रुप दिएपनी, बहाना बनाएर अर्थोकै सिद्धान्तको जलप लगाएर नामाकरण गरेपनी सारमा बहुदलिय जनबादको प्रतिस्पर्धालाई स्पष्ट रुपमा स्विकार्दै जबजकै लाइनबाट अगाडि बढिसकेको स्पष्ट देखिन्छ ।
जनताद्वारा अनुमोदित भएर कम्युनिष्ट पार्टीकै रास्ट्रपति , उपरास्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र ६ वटा प्रदेशको मुख्यमन्त्रिलगायत सबै मन्त्रिमण्डल र धेरै स्थानीय तहसमेत कम्युनिष्ट पार्टीका कार्यकर्ताको हातमा जनताले सुम्पिएका थिए ।
यसले के प्रमाणित गर्छ भने जनताद्वारा अनुमोदित भएर पनि कम्युनिष्टले सत्ता प्राप्त गर्छ, भन्ने जनताको बहुदलिय जनबादको मुल मर्मलाई नेपाली जनताले प्रमाणित गरिदिए ।
तर बिडम्बना मौजुदा दल र त्यसका नेताहरुको ब्यबस्थापनको कारणले पटक पटक नेपालका कम्युनिष्ट पार्टीहरु बिभाजित बनेको कुरुप दृश्य हाम्रो अगाडि ताजै छ ।
राज्य सत्ता बिना नेपालका नेताहरु बस्नै नसक्ने, पद जसरी पनि चाहिने, अफु पद बिना बस्दै नबस्ने, नयाँलाई अबसर वा पालो नदिने वा अस्तित्व स्विकार गर्न नसकेकै कारणले नेपालको कम्युनिष्ट आन्दोलन कमजोर भएको तथ्य सबैका सामु ताजैछ । बहुसंख्यक नेपाली जनताहरु कम्युनिष्ट पार्टीमा आवद्ध भएकाछन् तर बिडम्बना नेताहरुमा जरा गाडेर बसेको सत्ता र शक्तिको मोहका कारणले राष्ट्रलाई ठूलो क्षति पुगेको बिबरणहरु ताजै छन् ।
नेपालमा राजनीतिक स्थायीत्व कहिल्यै भएन । गत मंसिर ४ गतेको निर्वाचन परिणामले अब नेपालमा स्थायी सरकार बन्छ भन्ने संभावनाको पनि अन्त्य गरिदिएको छ । यस्तो अबस्थामा देशले निकाश पाउँदैन, आफ्नो देशको बिकास आफैले गर्नु पर्छ भन्ने भावनाको बिकास हुने देखिएन । हाम्रो देशको विकास अरुले आएर गर्दैन । देशमा अस्थिरता हुँदा बिदेशीले चलखेल गर्ने बाताबरण अनुकुल हुँदै जाने कुरा दिनको घामझैं छर्लङ्ग छ ।
हाम्रो देशमा बिदेशीको चाहाना अनुसारको अस्थिर सरकार बनोस्, सरकार आफनो नियन्त्रणमा होस, भन्ने भाबना अनुकुल हामी नेताले आफैं आफैं बिचमा बिदेशीलाई पुजेर ढोगेर बनाई दिदै छौं, जुन कुरा देश र जनताका लागि धातक थिए । अहिले हामी यही घातक कुरालाई अँगालीरहेका छौं ।
यसले के प्रमाणित गर्दछ भने जनता, जनताको बहुदलिय जनबादप्रति प्रतिबद्ध छन् । नेपालका कम्युनिष्ट नेताहरुको सत्ताको लागि जो सँग पनि घाँटी जोड्ने व्यबहार सहि नभएको अनुभूति पछिल्लो निर्वाचन परिणामपछि जनताले गरेका छन् ।
दलले अँगालेको नीति र नेतृत्व सहि भएपनी सिद्धान्तको मुलभूत मान्यतालाई आत्मसाथ गर्ने नेताहरुको व्यबहार जनमुखी भएन । सिद्धान्त र व्यबहारको तालमेल नमिल्दा पार्टी प्रतिको जनबिश्वासमा कमी हुँदै जानेछ । यही वितृष्णाको कारणले नयाँ पार्टीको जन्म हुन्छ भन्ने कुरा सम्पन्न संघ तथा प्रदेशसभा सदस्य निर्वाचनले प्रष्ट देखाएको छ । अरुलाई गाली गरेर आफु राम्रो बन्ने होइन, मुख्य कुरा भनेको जनमुखी कामहरु अगाडि बढाउने हो । त्यसैले हामी सबैले एकै साथ मनन गरेर सच्चिन जरुरी छ ।