फिक्कल गाउँपालिकाले पालिकाका सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । विहिबार गाउँपालिकाले ६ वटै वडामा सार्वजनिक सुनुवाई गर्दै जनताको गुनासोहरुलाई सम्बोधन गर्ने तयारी गरेको हो । सिन्धुलीमा जनताको गुनासो सुन्ने उदेश्यले सार्वजनिक सुनुवाई गर्ने फिक्कल गाउँपालिका पहिलो मानिएको छ ।
चालु आर्थिक वर्षको प्रथम चौमासिकमा गाउँपालिका र वडा कार्यालयले गरेका कामहरु तथा गाउँपालिका र वडाबाट गरिदैं आएको सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई गरिएको गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले सन्देश जनप्रियलाई बताईन् ।
सार्वजनिक सुनुवाईमा नागरिकहरुले शिक्षा, स्वास्थ्य, कृषि, पशु, भौतिक पूर्वाधार लगायतका विषयमा वडा कार्यालयबाट भएका राम्रो कामको प्रशंसा र गलत अभ्यासको खुलेरै विरोध गरेका थिए । उनीहरुले जनसरोकारको विषयमा सवाल जवाफमा उत्साहनक सहभागिता जनाएका थिए । .
यस्तै सामुदायिक विद्यालयको पठन पाठन सुधार गर्न र विद्यालयका शिक्षकहरुले आफ्ना छोरा छोरीलाई निजी विद्यालयमा पठाएको विषयमा जनसमुदायले कडा आलोचनागर्दै विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्षलाई सामुदायिक विद्यालयलाई विद्यार्थीको आकर्षणको केन्द्र बनाउन सुझाए ।
व्यवसयिक कृषि उत्पादन, पशुपालन लगायतका क्षेत्रमा नागरिकहरुले सेवा सुविधाहरु बढाउनुपर्ने, वडा कार्यालयबाट कृषि, पशु लगायतका विषयमा किसान मैत्री वातावरण सिर्जना गर्न माग गरेका उनीहरुले वढा कार्यालयबाट प्रवाह हुने सेवाहरु सकारात्मक र छिटो छरितो भएकोमा प्रशंसासमेत गरेका थिए । सेवा प्रवाह गर्नुपर्ने लगाएतका सवाल राखेका थिए भने वडाका वडा अध्यक्षहरु, वडा सचिवहरु, गाउँपालिकाका प्रतिनिधिहरुले समुदायले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।
कार्यक्रममा सहभागि हुनुभएका जनप्रतिनिधी र शाखा प्रमुखहरुले नागरिकका गुनासोलाई सम्बोधन गरिरहेको र अझ छिटो छरितो बनाउन लागि पर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।
कार्यक्रमको पहिलो सत्रमा प्रमुख अतिथिका रुपमा बोल्दै तत्कालिन जिल्ला पञ्चायत सभापतिसमेत रहनुभएका फणिन्द्रवहादुर कार्कीले फिक्कल गाउँपालिकाले विकासमा काँचुली फेरको बताए । केही दिन अघि आफ्नो गाउँमा आउनु भएका कार्कीले आफु जिल्ला पञ्चायत सभापति हँुदा गर्न नसकेको विकास निर्माणका कामहरु फिक्कलका जनप्रतिनिधीले गरेर देखाएको भन्दै उहाँहरुको खुलेर प्रशंसासमेत गर्नुभयो । उहाँले अगाडि भन्नुभयो: ‘त्यस बेला समग्र सिन्धुली जिल्लाका लागि ५० हजार वजेट हुन्थ्यो, त्यति थोरै रकम हुँदा पनि सबैतिर समानुपातिक वितरण गरिन्थ्यो, विकासमा जनसहभागिता हुन्थ्यो, त्यस बेला घोडा हिड्ने बाटो बनाइन्थ्यो तर अहिले त मोटरबाटोनैं बनेछ, घर घरमा विजुली बलेछ, डाँडामा पनि पानी पुगेछ ।’
तत्कालिन राष्ट्रिय पञ्चायत सदस्यसमेत रहनुभएका कार्कीले आफ्नो गाउँको विकासमा पालिका अध्यक्ष र यसै क्षेत्रका प्रदीप कटुवालले खेलेको भूमिका निकै सराहनीय भएको टिप्पणी गरेका थिए ।











