सदनमा पुग्ने सिन्धुलीका भाग्यमानी महिलाहरू !

सिन्धुली जिल्लाबाट राजनैतिक दलहरुको तर्फबाट समानुपातिक उमेदवार बनेकाहरु मध्ये को को प्रतिनिधीसभा सदस्य बनेर संसदमा प्रवेश गर्दैछन् भने अहिले सबैको चासो बढ्न थालेको छ । प्रत्यक्ष तर्फ सबैभन्दा बदी स्थानमा विजय हाँसिल गरेको नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा राप्रपाका तर्फबाट निर्वाचन आयोगको बन्द सुचीमा नाम समावेश गरिएका भाग्यमानीहरुलाई सन्देश जनप्रिय साप्ताहिकले सार्वजनिक गरेको छ ।
समानुपातिक तर्फ सबैभन्दा बढी मत प्राप्त गर्ने दल नेकपा एमालेका तर्फबाट केन्द्रीय अनुशासन आयोगकी सदस्य एवम् कमलामाई नगरपालिका १ निवासी रणकुमारी बलम्पाकी, अर्की केन्द्रीय सदस्य उमा कोइराला र जनजाती पुरुष तर्फको चौथो नम्बरमा रहेका केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवार सिन्धुली जिल्लामा एमालेको पराजयपछि समानुपातिक सदस्यमा पर्ने देखिन्छ ।
त्यसैगरी नेपाली कांग्रेसका तर्फबाट जनजाती महिलाको पाँचौं नम्बर समेटिएकी केन्द्रीय सदस्य शुशिला थिङ समानपातिक उमेदवार संसदमा पुग्ने निश्चित देखिएको छ । नेपाली कांग्रेसभित्र महिला प्रतिनिधीत्वको हिसावले महिलाको उपस्थिति अत्यन्त कमजोर भएकाले पनि यस पटक पुरुषहरुको तुलनामा महिलाहरुको संसदमा प्रवेश निकै बलियो देखिंदैछ । आयोगमा विगतमा बुझाइएको बन्द सुचीमा कुनै फेरवदल नगरिए एमाले बाहेकका दलहरुलाई समानुपातिक उमेदवारको टुंगो लगाउन फलामकै चिउरा सावित हुने देखिएको छ ।
त्यसैगरी सिन्धुलीबाट वागमती प्रदेशसभा सदस्यमा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्नेमा एमालेकी सुकुमायाँ तामाङ निश्चित देखिएको छ । यदी जिल्लाको प्रत्यक्ष तर्फ एमालेका उमेदवारहरु पराजय भएकाले पनि ठाउँ खाली नगर्ने भन्ने कुरा जोडतोडले उठ्यो भने अर्का केन्द्रीय सदस्य कमलजंग राई पनि पर्ने अबस्था छ । माओवादी केन्द्रबाट समानुपातिक सदस्यको सुुचीमा परेकी सुष्पा भुजेल महिलामाथि न्याय गरिए वागमती प्रदेशसभा सदस्यमा पस्न पाउनेछिन् । अघिल्लो निर्वाचनमा पनि माओवादीले उनलाई भोट माग्नका लागि मात्रै प्रयोग गरेको थियो । शहिदपत्नी भुजेललाई समानुपातिक सदस्यमा राख्ने काम उपमहासचिव हरिवोल गजुरेलले गरेका थिए, तर अहिले गजुरेल पार्टी भित्र अल्पमतनमा परेका बेला भुजेललाई फेरी माओवादीले अन्याय गर्ने हो कि ? भनेर चर्चा प्रारंभ भएको छ ।
मंगलवार रातिसम्म समानुपातिक तर्फ नेपाली कांग्रेसले २४ लाख ७९ हजार ०५१, नेकपा एमालेले २६ लाख २२ हजार १ सय ४७, माओवादी केन्द्रले ११ लाख २२ हजार ९सय ७४, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८२ हजार ७ सय ३९, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५६ हजार १ सय ३ र नेकपा एसले अहिलेसम्म २ लाख ७१ हजार ५ सय ३८ मत प्राप्त गरेको छ । विगतमा ठूला दलहरुले प्राप्त गरेको मत अहिले स्वतन्त्र र अन्य साना दलहरुले तानेको देखिएको छ । जसले गर्दा दलहरुले विगतमा प्राप्त गरेको समानुपातिक तर्फबाट लैजानै पर्ने नेताहरु यस पटक महिलालाई ३३ प्रतिशत कोटा पुर्‍याउनु पर्ने भएकैले पनि छुट्ने आँकलन गरिएको छ । त्यसैगरी प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १५९ को मतपरिणाम सार्वजनिक भइसकेको छ भने ६ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।