विराटनगरस्थित कोशी अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा कोरोनाभाइरस कोभिड १९ संक्रमितको उपचारमा खटिएका ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेका छन्।
विराटनगर १० स्थित केन्द्र गत चैत्र २१ गतेबाट सञ्चालनमा आएपनि बैशाख ५ गतेदेखि कोभिड १९ का संक्रमित व्यक्तिको भर्ना सुरु भएको हो।
त्यसयता हालसम्म केन्द्रमा ३१ जना संक्रमति रहेका छन्। उनीहरुको नियमित चेकजाँच तथा रेखदेखमा खटिएका चिकित्सक तथा नर्ससहित ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेको कोशी अस्पतालकी निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन्।
डा. मिश्राको अनुसार पहिलोपटक ५ गते मध्यरातमा उदयपुरबाट १२ जना संक्रमित ल्याउदाँदेखि स्वास्थ्यकर्मीको टोलि परिचालित रहेको छ।
सयता हालसम्म केन्द्रमा प्रत्येक ६ दिनको अन्तरालमा २५ जनाको ३ वटा टोली प्रत्यक्ष रुपमा संक्रमतिको उपचारमा संलग्न रहदै आएको छ।
उदयपुरबाट संक्रमित भर्नासँगै पहिलोसाता खटिएका चिकिस्तकहरुको सुरुवाती एकसाताको क्वारेन्टाइन समयको गणना नहुने भएकाले दोस्रोसाताबाट मात्र उनीहरुको क्वारेन्टाइन समय जोडिने डा. मिश्राको भनाइ छ।
यसबीच सो समय संक्रमितसँग प्रत्यक्ष रुपमा अग्रपंक्तिमा खटिएका २८ जनाको स्वास्थ्यकर्मीको क्वारेन्टाइनमा रहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिइन्। यसक्रममा उनीहरुको शुक्रबार स्वाब नमूना परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको उनले बताइन्।
यसक्रममा उदयपुरबाट पहिलोचरणमा ल्याइएका १३ जना संक्रमितको समेत शुक्रबार रोजापछि स्वाब संकलन गरिएको र रिपोर्टको पर्खाइमा केन्द्र रहेको छ।
डा. मिश्रा भने सुरक्षित रुपमा आफ्नै निवासमा क्वारेन्टाइनको समय विताउँदै अन्य कामकाजमा व्यस्त रहेकी छिन्। पहिलोचरणमा संक्रमितसँग उपचारमा खटिएका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएपनि सबैजना गएको १५ दिनदेखि होटलकै कोठाभित्र क्वारेन्टाइनमा रहेकाछन्।
उनीहरुको अवस्था सामान्य रहेपनि सुरक्षाका लागि होटलबाहिर घरसम्म पनि नगएको डा. दिपक सिग्देलले जानकारी दिए। यसक्रममा २४ घण्टाको एक सिफ्टमा ४ जना चिकित्सक रहने र दुइजना सिनियर चिकिस्तक भने २४ घण्टा नै खटिएकाछन्।