
सिन्धुली/सिन्धुली क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्य उमेदवार मनोजजंग थापाले जननायक स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको फोटोमा माल्यार्पणगरी जन्मथलो दुम्जाबाट चुनावी अभियान प्रारंभ गर्नुभएको छ । आइतवार बिहान विपीको जन्मथलो दुम्जामा पुगेर एमालेका उमेदवार थापाले औपचारिक रुपमा नेता कार्यकर्ताको उपस्थितिका बीच सुनकोशी गाउँपालकामा चुनावी अभियान प्रारंभ गर्नुभएको हो ।
स्वर्गीय कोइरालाको फोटोमा माल्र्यापणगरी प्रारंभ गरिएको चुनावी कार्यक्रमलाई सम्वोधनगर्दे एमालेका तर्फबाट उमेदवार बन्नुभएका थापाले
नेपालको लोकतान्त्रिक आन्दोलनमा विपीले गर्नुभएको योगदानको स्मरणगर्दै अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतगरी बलियो बनाउन आफु निरन्तर लागिरहने बताउनुभयो ।
उहाँले विपीले देखाउनुभएको लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शबाट आफु अत्यन्त प्रभावित भएको र त्यसलाई अनुशरण गरिरहने प्रण गर्नुभयो । उहाँले देखाएको बाटोबाटै नेपालमा निरंकुश शासन व्यवस्थाको अन्त्य भएको बताउँदै सिन्धुली जिल्लाकै बौद्धिक उमेदवारसमेत मानिनुभएका थापाले इतिहासलाई विर्सने नभई सम्मान गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । थापाले नेपालको निरंकुशता बिरोधी आन्दोलनमा सहादत प्राप्त गर्ने महान शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
सुनकोशी गाउँपालिकामा रहनुभएका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले आउँदो निर्वाचनमा विपीको आदर्श मूल्य र मान्यतालाई कहिल्यै भुल्न नसक्ने बताउँदै उहाँको जन्मथालोलाई संग्राहालयका रुपमा बिकास गर्न आफुले भूमिका निर्वाह गर्ने उद्घोष गर्नुभयो । धरणीधर कोइराला, गणेशमान सिंह, विपी कोइराला बरिष्ठ साहित्यकारहरु लेखनाथ पौडेल, बालकृष्ण सम आदिले सुरु गरेको उक्त विद्यालयलाई आफुले नमूना विद्यालय बनाउन लागिपर्ने बताउनु भयो । उहाँहरुले निकै ठूलो मेहनत र परिश्रम गरेर निरंकुश शासन सत्ताका बेला स्थापना गरेको विद्यालयलाई स्थानीय सरकारले चासो दिएन, उहाँहरुको योगदानलाई भुले । त्यसैले अब उहाँहरुको योगदानको उच्च मूल्यांकन हामीहरुले गर्नेछौं, इन्जिनियरसमेत रहनुभएका उमेदवार थापाले भन्नुभयो ।
प्रतिनिधीसभा सदस्यतर्फकी समानुपातिक उमेदवार उमा कोइराला, रणकुमारी बलम्पाकी प्रदेशसभा सदस्य उमेदवार बिनोद खड्का, एमाले नेताहरु कमल दाहाल, रमेश कार्की, शान्तिमान कार्की, रामकृष्ण श्रेष्ठ, बद्री दाहाललगायतका नेताहरुले विपीको फोटोमा माल्यार्पण गर्नुभएको थियो ।
सुनकोशी गाउँपालिकाका विभिन्न वडाहरुमा एमालेले निर्वाचन केन्द्रीत कार्यक्रमलाई अगाडि बढाएको सुनकोशी पालिका कमिटीका अध्यक्ष अशोक गिरीले जानकारी दिनुभयो ।




