केन्द्रीय गठबन्धन सिन्धुलीमा काम लाग्दैन, जनताले एमालेका उमेदवारसँग गठबन्धन गरिसकेका छन्: प्रदीप कटुवाल, प्रतिनिधीसभा सदस्य उमेदवार

तपाईको क्षेत्रमा स्थानीय निर्वाचनको स्थिति के हो ?

सिन्धुली क्षेत्र नं. १ मा तीन ओटा गाउँपालिका र एउटा नगरपालिका अनि अर्को नगरपालिकाको तीन वटा वडा पर्दछन् । तीनवटा गाउँपालिकामा दुई वटा गाउँपालिकामा हामीले बहुमतसहित जितेका छौं र कमलामाई नगरपालिकाको क्षेत्र नं. १ मा पर्ने तीन वटा वडामा पनि दुईवटा वडा हामीले जितेका छौं । दुधौली नगरपालिकामा भने यसपटक हामीले मेयर गुमाएका छौं ।

त्यसमा पनि हिजो चाँही टाउकोमा एउटालाई अरू एमालेलाई भोट दिन्थे, अर्थात टाउको काटेर भोट दिन्थे, अन्तर्घात हुन्थ्यो । तर, अहिले त्यो हुँदैन । उता (गठबन्धन) बाट पनि मलाई साथसहयोग रहन्छ किनभने काँग्रेसका उम्मेदवार परदेशी भएकाले उम्मेदवार विशेषमा सहयोग गछौं भन्नुभएको छ, काँग्रेस –माओवादीका साथीहरूले । यता एमालेमा कहीँ कतै अन्तर्घातको सम्भावनै छैन् । एमाले एकजुट भएर लागेको छ ।

सिन्धुली क्षेत्र नं. १ को खास समस्या के-के छन् ?

त्यहाँ कमला नदीको समस्या छ । कमला नदी नियन्त्रण गर्नु पर्ने भएको छ । त्यसलाई करिडोर बनाउने योजना छ । अर्को चदाँहा नदी नियन्त्रण गर्नु पर्ने छ । बाटोहरू खनिएका छन् ती धेरैजसो कच्ची नै छन्, ती सबै बाटालाई पक्की वा पिच बनाउनु पर्ने छ । १ नं. क्षेत्रको केही ठाउँमा अहिले पनि विजुली पुर्याउन सकिएको छैन । रत्नावती, फिक्कलका केही ठाउँहरूमा विजुली पुर्याउनु पर्ने छ ।

खास समस्या भनेको मानिसलाई उत्पादनमा कसरी जोडने भन्ने हामी सोचिरहेका छौं । हामीले केपी ओली सरकारले ल्याएको युवाहरूलाई रोजगारको कार्यक्रम जस्ता कार्यक्रम र उद्यम गर्न चाहनेलाई वा युवाहरू उद्यमतर्फ आकर्षित गर्न सस्तो ब्याजमा ऋण दिने जस्ता कामहरू गर्नु पर्ने छ । बाटो खोलिएका छन् ती बाटामा सधैं र सबै मौसममा गाडी हिडाउन सकिन्न । सो क्षेत्रमा पर्ने ४१ वटा वडाहरूमा ४१ सैं वटामा बाटो पुगेको छ । कतिपय पहाडका बाटा पक्की भएका छैनन् । त्यहाँ ड्रेन बनाउने पिच बनाउनु पर्ने काम बाँकी छन् ।

यो सरकारप्रति कसैको आशभरोसा छैन, आम जनता यो परमादेशी सरकारबाट निरास छन् । यो सरकारले महंगी बढायो, भ्रष्ट्रचार गर्यो, मल ल्याएन, राष्ट्रघाती नागरिकता विधेयक ल्यायो, अमेरिकन सेना ल्याउने भयो भन्ने जनतामा परेको छ । मान्छेले बुझ्याछन् । स्थानीय काँग्रेस–माओवादीका मतदाताको मन विझ्ने गरी भन्न त जरुरी छैन । उनीहरूले गरेका पनि होइनन् । माथिका शेरबहादुर, प्रचण्डललगायत यो गठबन्धनले जनताको मन दुखाएको छ ।

प्रदीप कटुवालाई नै भोट दिनु पर्ने चाँही किन ?

प्रदीप कटुवाल विकासको भारी जति बोकाए पनि बोक्न सक्ने, पार्टीको भारी जति बोकाए पनि बोक्न सक्ने, पार्टीमा कहिले पनि तलवितल नगरीकन निरन्तर काममा लागेको मान्छे र फेरि विकास गर्न सक्ने सामथ्र्य राखेको मान्छे हो । हरेक क्षेत्रमा मेरो सहभागिता छ बाटा, विजुली, स्कूल, कलेज, स्वास्थ्य, सञ्चार सुरक्षालगायत सबै कुरामा मेरो सहभागिता रहँदै आएको छ । मलाई त अझ विकासे मान्छे भन्छन् क्या त्यहाँ ।

म सबैलाई उत्पादनमा लाग भन्ने मान्छे हो । किबी रोप, जुनार रोप, आलु रोपौं सामुहिक खेती गरौं, अहिले हामी त्यहाँ सामुहिक खेतीको अभ्यासमा पनि छौं । अनि कागती खेती उत्पादनमा पशुपालन, बाख्रा पालन, भैंसी पालन, गाई पालन, बंगुर पालन, कुखुरा पालन यी सबै कुरा उत्पादनमा नै जोडने खालका कामहरू त्यहाँ भइरहेको छ र त्यसलाई अझ बढावा दिनलाई मेरो आवश्यकता महसुश गरिएको छ ।

युवाहरू जो विदेश गइरहेका छन्, त्यसलाई रोक्नु पर्छ र स्थानीय ठाउँमै रोजगारी दिनु पर्छ भन्ने मान्छे हुँ म । त्यसको लागि लागिपरेको मान्छे पनि हुँ म । त्यसकारणले सिन्धुली क्षेत्रनं .१ का जनताले मलाई रुचाउँछन् भोट दिन्छन् र दिनु पनि पर्छ भन्ने मेरो आग्रह पनि हो ।